पशुपति मेरो राष्ट्रको सिटिजन हो
तिमीले कोरोनामा थुनेको
थुनामा परेको छ अझै दिन मैले हेरेको
किरातेश्वर पढिरहेछ यस बेला
नेपालको इतिहास
र बुद्ध भनिरहेछ लेख्न अर्को इतिहास
मविरुद्ध उभिएको छ
मेरै कलम
झुट बोलेर प्रतिष्ठा आर्जन गर्ने
तिम्रो विरुद्ध म नउभिएकोमा
सत्यवादीलाई बोलाउन
सही गर्दैछु यो कलमले
कविताको बडापत्रमा
म तिमीले बनाएको गरिब हुँ
मैले भात खान बाबुले जोडेको जग्गा
उभिएको छु यस बेला बेचेर
मेरा बाबाले बनाएर मलाई देखाएको नक्सा
देशको थियो
त्यसको तस्बिर खोइ?
अँध्यारोबाट डुबेर निस्कँदैछ मेरो आँखा
चेतावनी दिने सन्त निस्केझैं
महाकुम्भबाट
बुद्धको र मेरो देशमा
भ्रष्टाचारीको प्रवेश
यो कस्तो तहल्का
तेत्तीसकोटि देवताको घरमा
पशुपति देखेर कुन बेला नाच्छ
सडकको बालक
आमा देखेर हाँस्छ
कहिलेसम्म उभिन्छ धरोहरा
भ्रष्टाचारीका लागि
प्रमाण बोकेर
तिमीले खाने पैसाको
सूचना रोकेको छ
पानी रोकेको छैन
तिम्रो सहरले
परेड छ आकाशमा
ग्रहहरूको
बताउँदै छ बाबा ठेगाना
महाकुम्भमा मेरो भगवान्
सत्यलाई गाली गर्ने
यस बेला पनि पछि हटेको छैन
किन पयर तिम्रो
बागद्वार बन्द भयो भने
बन्द हुनेछ बागमतीमा जल
खुल्यो भने खुला हुन्छ तिम्रो आदेशबिना
सहर
नआउन भन्छु यस बेला विश्वलाई
ऊ सपिङ सेन्टरमा छ
र तिमीलाई
म केही खान सक्दिनँ तिमीले बेचेको
अपवित्र
केही पिउन सक्दिनँ तिम्रो सहरले बेचेको
नसालु
केही कुरा किन्न सक्दिनँ
तिमीले सोकेसमा राखेको
नक्कली
देशसँग बुझेर लिएको छु मेरो मान्छे
रचना गर्न यस बेला
यो विश्वका लागि अर्को सौन्दर्य
क्रोधमा नलहराओस्
आफूलाई अन्याय गरेकोमा
गङ्गाको लहर यस बेला
बागमतीको।
प्रकाशित: २ चैत्र २०८१ ११:३५ शनिबार





