२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/संस्कृति

प्रतिगमन भोज

लघुकथा

देशमा लोकतन्त्र आयो। थोत्रा मान्यता सबै ढले। परम्परादेखि चलेका थोत्रा मान्यताहरू ढलेको वर्तमान परिप्रेक्ष्यमा थोत्रा कानून ढालेर नयाँ कानून बनाउने बहस चल्यो।

लोकतन्त्रमा निरङ्कुशतन्त्रमा जस्तो गरी कानून शासकले बनाउने होइन, लोकतन्त्रमा त कानून जनताले बनाउने हो, कानूनको मस्यौदामा जनताको सुझाव चाहिन्छ भन्दै जनभेला बोलाइयो। सुझाव लिनुदिनुअगाडि जनभेलामा सहभागीको हाजिर गराइयो।

जुन भेलामा मस्यौदाकारले कानूनको मस्यौदा पेश गर्‍याे। सहभागीहरू ध्यान दिएर मस्यौदा सुन्दै थिए। तर पूर्वतिर कुद्नुपर्ने मस्यौदा त पश्चिमतिर फर्केको पो रहेछ। मस्यौदा कानून अग्रगमनको सुनौलो रङ्गले पोतिएर उत्तरतिर उकालो चढेको हुनुपर्नेमा प्रतिगमनको कालो धब्बा पोतेर दक्षिणतिर दौडाइएको पो रहेछ।

सहभागीहरूले भने, ‘यस्तो प्रतिगामी कानूनको मस्यौदा हामी मान्दैनौं।’

मस्यौदाकारले सहभागीहरूलाई भन्यो, ‘तिमीहरू कानूनबारे केही पनि जान्दै जान्दैनौ।’

अर्को सहभागीले प्रतिवाद गर्‍याे, ‘हामीलाई साक्षीकिनारामा सही गराएर प्रतिगामी कदम चाल्न पाइँदैन।’

‘अग्रमन भए पनि प्रतिगमन भए पनि गमन त गमन नै हो नि। कानून गतिशील दस्तावेज भएकाले यसलाई स्थिर राख्नुचाहिँ हुन्न, जता गमन गराए पनि गमनचाहिँ गराइरहनुपर्छ।’

 मुखमा चपाइरहेको पान हलकै छेउतिर राखेको गमलामा पिच्च थुक्दै मस्यौदाकारले थप्यो।

अर्को एउटा युवा सहभागी बोल्यो, ‘हाम्रो कुरा नसुन्ने हो भने हामीलाई यहाँ किन बोलाको?’

‘सुनिएको त छ नि। सुनिंदैन कि भनेर हलमा साउन्ड सिस्टमको समेत व्यवस्था गरिएको छ।’ यसो भनिरहँदा मस्यौदाकारले विजयोत्सव मनाएझैँ दाँत देखायो।

त्यसछि अर्को एक अधबैंसे सहभागीले कड्किँदै भन्यो, ‘हामीलाई यहाँ मूर्ख बनाउन बोलाएको? हामी मूर्ख होइनौँ। लोकतन्त्रमा हाम्रो सहमतिविना बनाएको कानूनले वैधता प्राप्त गर्दैन।’

‘वैधताका लागि त अघि नै हाजिर गराइसकियो।’ मस्यौदाकारले आफ्नो प्रतिरक्षा गर्‍याे सहभागी जिल्ल परे।

केही सहभागी आयोजकसँग रिसाएर कार्यक्रम स्थलबाट हिँड्न खोज्दै थिए।

आयोजकले भन्यो, ‘शान्त! शान्त!! शान्त!!! दिवाभोजको व्यवस्था छ, ज्यूनार गरेर मात्र जानुहोला।’

उठिसकेका सहभागी पनि भोजको कुरा सुनेर फेरि कुर्सीमा बसे।

सहभागी भोज खाँदै थिए। एक खन्चुवा सहभागीले भन्यो, ‘धेरैजसो भोज राति खाइन्थ्यो, आज भने मध्य दिनमै भोज खाइयो।’

अर्को खन्चुवाले मासुको टुक्रा चपाउँदै थप्यो, ‘अरू भोज राति खाने हो, प्रतिगमन भोज त दिउँसै खाने हो नि।’

दुई खन्चुवाको वार्तालाप सुन्नेहरू बिच हाँस्यो चल्यो तर यो हाँसो अग्रगमनको बत्ती निभ्नु अगाडिको हाँसो थियो।

कानून बन्यो। अग्र विस्थापित भयो। प्रति स्थापित भयो। गमन निरन्तर भयो। भोज सकियो।

प्रकाशित: २८ फाल्गुन २०८१ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App