१० चैत्र २०८१ आइतबार
image/svg+xml
कला/संस्कृति

दर्शकमाझ ‘पिताम्बर’ फिल्म लिएर आउँदै छिन् निर्देशक कृषा चौलागाईं

निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन्। कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाएकी रहिछन्  तर उनले ‘एैचोपैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिइन्।

‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएँ। किनकि ‘एैचो पैचो’ पहिलो निर्देशकीय फिल्म भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो। यो फिल्म मेरो मनमा बसेको फिल्म थियो। यसलाई सबैले एप्रिसियट गरे। ‘एैचो पैचो’ रिलिज भएपछि मात्र मैले पिताम्बरका लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्टको डिजाइन गरेंं’, कृषा भन्छिन्।

कृषा ‘पिताम्बर’ लाई भरपुर एक्सन फिल्म भन्छिन्। बीचको समयमा एक्सन फिल्म कम आइरहँदा आफ्नो फिल्ममा दर्शकले केही फरक पाउने उनको बुझाइ छ। ‘एक्सन फिल्ममा खर्च र समय धेरै लाग्छ। यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैन’, कृषा भन्छिन्, ‘यो फिल्म प्रदीप खड्काका लागि पनि नयाँ हो। प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहना पिताम्बरले पूरा गरिदिनेछ। किनकि प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको रहर पिताम्बरले पूर्णता दिन्छ।’

सबैको चासोको विषय हो, कृषाले एक्सनलाई किन प्राथमिकता दिइन् त? कृषाले फिल्मको स्क्रिप्ट पूरा गर्न झण्डै डेढ वर्ष लगाइन्। ‘लामो समयदेखि फिल्महरू एउटा विशेष कुरामा मात्र केन्द्रित भइरहेका थिए। कतिपयले स्थानीय कथा देखाउनुपर्छ भन्दै हामी त्यता पनि लागिरहेका थियौं। एउटा यस्तो फिल्म बनाउनुपर्छ, जुन वियोण्ड द इमाजिन होस्। जसमा मेकर स्वतन्त्र होस्। म यस्तै फिल्म बनाउन चाहन्थें। त्यस्तो फिल्म नआएको पनि धेरै समय भइसकेको थियो। त्यस्तो फिल्मले मासलाई हलसम्म तान्न सक्छ। मासलाई हलमा तान्न सक्नु नै फिल्मकर्मीको जित हो। त्यसकारण हलमा मास ल्याउन पिताम्बर बनाएँ’, उनी भन्छिन्।

कृषा ‘पिताम्बर’लाई फरक कथाको फिल्म भन्दिनन्। तर फिल्म हेरेपछि भने दर्शकले सन्देशभन्दा पनि मजा बोकेर घर जाने उनको दाबी छ। ‘अहिले सिठी बज्ने, ताली बज्ने, हुटिङ आउने फिल्म छैन। पिताम्बर हेरेपछि दर्शकले पीडा भुलेर मजा बोकेर घर आउँछन्। पिताम्बरले दर्शकलाई मजा दिन्छ’, कृषा खुल्छिन्।

‘पिताम्बर’ पूर्ण रूपमा इन्टरटेनिङ फिल्म भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने उनी ठोकुवा गर्छिन्। ‘दर्शकले एउटा टिकटमा ३,४ जना हिरोले अभिनय गरेको फिल्म हेर्न पाउनुहुन्छ। पिताम्बरमा नेपालमै पहिलोपटक तीन क्यामराले खिचेका छौं। बाहिरबाट धेरै प्राविधिक सामान ल्याएका छौं। मेकिङका हिसाबले पनि यो फिल्म कस्तो बनेको रहेछ भन्ने दर्शकमा चासो भइरहेको छ। फिल्मले दर्शकलाई कनेक्ट नै गर्छ’ उनी भन्छिन्।

कृषाले ‘पिताम्बर’को अवधारणा दिमागमा खेलाइरहँदा उनले अभिनेता प्रदीप खड्कालाई नै सम्झिएकी रहिछन्। उनलाई अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र राम्रो काम गर्न सक्ने कलाकार चाहिएको थियो। यो तिनै गुण उनले प्रदीपमा भेटिन्।

‘हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ। त्यसकारण दर्शकको मन मुटुमा बसेको र राम्रो अभिनयका कारण चर्चामा आएका कलाकारलाई नै प्राथमिकता दियौं। कलाकारको परफर्मेन्सभन्दा पनि कोहीभन्दा कोही कम नदेखिऊन् भनेर मल्टीस्टार लियौं। तीन प्रमुख कलाकार निश्चित थिए। फिल्म बन्दै गएपछि अन्य कलाकारहरू पनि जोडिनुभयो’, कृषा भन्छिन्।
कृषाको दिमागमा सुरुमा नै प्रदीप आउनुको कारण छ। कृषा भन्छिन्, ‘प्रदीप अरूभन्दा फरक छ। उसको डेडिकेसन कतिसम्म छ भने धेरै समयसम्म पनि ऊ फिल्ममै भएर बसेको हुन्छ। मेकरले एउटा कलाकारको हेर्ने कुरा भनेको त्यही हो। परफर्मरका रूपमा प्रदीप धेरै जेन्टलमेन हो। उसको लुक्स पनि छुट्टै किसिमको छ। अलिक फ्रिली वातावरणमा राम्रो काम गर्छु भन्दा आफू अगाडिको मान्छे पनि त्यति नै फ्रेण्डली हुनु जरुरी छ। यो सबै कुराले प्रदीप उपयुक्त थियो।’

कृषाले प्रदीपका लागि एक्सन कोचको व्यवस्था गराएकी रहिछन्। ‘एक्सन फिल्म भन्नेबित्तिकै सिक्स प्याक भन्ने हुन्छ। तर तपाईं हाम्रो घरमा कसैलाई केही पर्‍याे भने सिक्स प्याक छैन भन्दैमा बदला नलिने त हुँदैन नि। हाम्रो रगत नतातिने त हुँदैन नि। एउटा भुइँमान्छेलाई केही समस्या परे त्यसलाई कसरी व्यक्त गर्छ भन्ने हो। मैले प्रदीपलाई एक्सनका लागि सिक्स प्याक बनाउनु पर्दैन तर तिमीले फाइटमा आफूलाई एग्रेसिभ बनाउन फाइट तालिम लिनुपर्छ भनेर ट्रेनर राखेको थिएँ’, उनी भन्छिन्।

संसारमा ‘ह्युमन इमोसन’को कथाले कहीँ न कहीँ छुने भएकाले ‘पिताम्बर’मा पनि ह्युमन इमोसनकै कथा प्रस्तुत गरिएको कृषा स्वीकार्छिन्। यो फिल्म तराईमा छायांकन गरिएको छ। कृषा ह्युमन इमोसनको कथा देखाउन लोकेसनले खासै फरक नपार्ने बताउँछिन्।

 ‘तराई भौगोलिक हिसाबले सहज छ। फिल्मका लागि चाहिने समानहरू भारतबाट ल्याएका छौं। बोर्डर नजिक काम गर्दा सहज हुन्छ भनेर नै तराई रोजेको हो’, कृषा भन्छिन्।
कृषाको मनपर्ने जनरा नै एक्सन हो। एक्सन फिल्मको जस्तो जोश र जाँगर अनि क्यानभास अन्य फिल्ममा कमै मात्र पाइने भएकाले पनि एक्सनप्रति कृषाको झुकाव रहेछ।
कृषाको अनुभवमा ‘पिताम्बर’ उनका लागि फिल्म नभई ‘तपस्या’ हो। टिजर र गीतबाट प्राप्त प्रतिक्रियाले पुलकित कृषा अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा छिन्। ‘दर्शकले ट्रेलर हेरेपछि यो फिल्म हेर्छु भन्ने निर्णय लिनुहुन्छ भन्नेमा म ढुक्क छु’, उनी भन्छिन्।


उनले सुटिङको समयमा प्रमुख तीन पात्रलाई एकै ठाउँमा राख्नु, सपोर्टिङ क्यारेक्टर, भिलेनलाई एकै समयमा एउटै फ्रेममा राख्नु सर्वाधिक गाह्रो बनेको बताइन्। ‘फिल्मको सबै एक्सन सिक्वेन्समा म आफैं उपस्थित थिएँ। कलाकारको समय मिलाउनु एकदमै गाह्रो भयो। मैले यति डिग्रीको किक हान्नुपर्छ, मेरो पात्रले हुन्छ भन्दैमा धेरै हान्न पाउँदैन भन्ने कुरा थियो’, उनले भनिन्।

प्रकाशित: २८ फाल्गुन २०८१ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App