‘बुद्धवाद’ संसारलाई शान्तिको मार्गमा डोर्याउने कुशल सिर्जना हो। यस विषयमा कलम चलाउनु सामान्य होइन। यतिबेला विश्व प्रविधिगत युद्धमा होमिएको छ। केही देश र भूभागबाहेक विकसित अधिकांश मुलुक मानव द्वन्द्वबाट भौतिक र प्रविधिको द्वन्द्वमा होमिएका छन्।
विश्व एउटा यस्तो उर्वर थलो हो, जहाँ मान्छेजस्तै थरीथरी जीवजन्तु पनि छन्। प्रकृतिको अनुपम बगैंचा छ। जहाँ रुचि, क्षमता र भावका अनेकौं आयामहरू पनि बर्गेल्ती भेटिन्छन्। दर्शन, विचार र सिद्धान्तका पहाड खडा भए, एकअर्काको पहाडका उचाइका निम्ति आफू होचो हुन सिकिनसकेका हामीले आफूले आफैंलाई अग्लो पहाड देखिरहेका छौं।
बुद्ध दर्शनबारे लखेक वसन्त महर्जनले एक समय एउटा लेखमा उल्लेख गरेका छन्– ‘बौद्ध धर्मदर्शनको आधारभूत पक्ष ‘दुःख सत्य’ हो। संसार दुःखमय छ भन्ने मान्यतामा आधारित बौद्ध दर्शनले हामी केही गर्न सक्दैनौं, सबै कुरा पूर्वनिर्धारित वा कुनै परमसत्ताको इच्छामा निर्भर हो भनेर चुप बस्ने प्रवृत्तिको खण्डन वा विरोध गर्छ।’
गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक आफ्नो जन्मस्थल लुम्बिनीको भ्रमण गरेको चर्चा धेरै ठाउँ उल्लेख गरेको पाइन्छ। ज्ञानोदयपछि संसारलाई धर्मको मार्ग देखाउँदै हिँडेका बुद्ध आफ्ना अनुयायीहरूसहित लुम्बिनी पुगेका थिए। प्राग्इतिहासअनुसार बुद्धले आफ्नो जन्मस्थलको स्मरण गर्दै लुम्बिनी प्रवेश गर्दा त्यहाँका स्थानीय जनता एवं पुराना परिचितहरू भावुक बने।
विशेषगरी लुम्बिनीमा रहेका उहाँका नातेदार र बाल्यकालका चिनजानका व्यक्तिहरूले बुद्धलाई सम्मानपूर्वक स्वागत गरेको प्राग्इतिहास छ। यो ऐतिहासिक क्षणमा बुद्धले लुम्बिनीको पवित्र भूमिमा ध्यान गर्दै जन्मभूमिप्रति सम्मान व्यक्त गर्नुभएको थियो। उहाँले उपस्थित जनसमुदायलाई धर्मको उपदेश दिँदै जीवन, दुःख, र मुक्तिको मार्गबारे प्रवचन दिनुभएको थियो।
बुद्धका यस्ता उपदेशले लुम्बिनी क्षेत्रका मानिसलाई गहिरो प्रेरणा दिएको थियो भन्ने भनाइ त्यहाँ पुगेपछि सुन्न पाइन्छ। बुद्धको आगमनले लुम्बिनीलाई थप पवित्र एवं ऐतिहासिक स्थान बनायो। पछि, सम्राट अशोकले बुद्धको जन्मस्थलको चिनारी दिन यहाँ अशोक स्तम्भ निर्माण गराएका थिए। बुद्धको पहिलो लुम्बिनी आगमनको प्रसङ्गले आज पनि ऐतिहासिक महत्त्व बोकेको छ, जसले बुद्ध धर्मका अनुयायीहरूलाई लुम्बिनी यात्रामा आउन प्रेरित गरिरहेको छ।
बुद्धबारे पछिल्लो पटक नेपाली साहित्य बजारमा ‘अर्हत्’ उपन्यास आयो। साहित्यकार शैलेन्द्र अधिकारीले लेखेको त्यो उपन्यासमा पनि बुद्ध दर्शन, बुद्धवादबारे व्याख्या गर्ने कोसिस गरिएको छ। फेरि पनि लेखक वसन्त महर्जनलाई पछ्याउने हो भने त्यो उपन्यासमा उल्लिखित केही विषयवस्तुमा समानता भेटिएको आभास हुन्छ। ‘सम्मासम्बुद्ध भनेको सम्यक्सम्बुद्ध हो। अर्हत् हुने क्षमता राखेर पनि अन्य प्राणीप्रति करुणा राखी उनीहरूको कल्याणार्थ ‘बोधिसत्व’ मार्गतिर लाग्ने र प्रत्येक जन्म अरूका लागि समर्पित हुनु बोधिसत्व मार्ग हो।
बोधिसत्वको कामलाई ‘बोधिचर्या’ भनिन्छ। यो अत्यन्तै कठिन कार्य हो तर महाकरुणाको भाव जगाउने हो भने यो सम्भव भएको बौद्ध दृष्टान्त छ। यो मार्गबाट पुण्यलाभ गर्दै अन्नतः सम्यक् सम्बुद्ध हुने अनेकौं बुद्धमा एक लुम्बिनी वनमा माता मायादेवीको कोखबाट जन्मेको गौतम बुद्ध पनि हुन्’, महर्जनले आफ्नो लेखमा उल्लेख गरेका छन्।
यता उपन्यासकार अधिकारीले ‘अर्हत्’मा बिरामी, बुढाबुढीलाई देखेर सिद्धार्थको मनमा वैराग्य आएकाले उनले घर छोडे भन्ने मान्यताको सन्देश दिन खोजेको देखिन्छ। यसरी हेर्ने हो भने हामी जन्मदेखि मृत्युसम्म निरन्तर श्वास फेरिरहन्छौं। शिशुदेखि जवान हुँदै बुढो हुँदाका जुनसुकै परिस्थितिमा पनि श्वासप्रश्वासको प्रक्रिया चलिरहन्छ।
यसक्रममा जीवनका अनेकन् घुम्ती र मोड छिचोल्दै जाँदा जवान हुने, परिपक्व हुने, बिरामी हुने र बुढो हुने नियमित प्रक्रिया हुन्। बुद्धले पनि यही क्रममा जीवनका सबै आयम पूरा गरे।
जीवनको पर्याय, आफू र शरीरबिचको सेतु शान्ति हो भन्ने सम्झनपर्ने बुद्ध वाणीभित्र अर्हत् अविच्छिन्न जगत्सँग जोडिने प्रयासमा देखिन्छ। खासगरी बुद्धकालीन समाजमा गृहत्यागको प्रसङ्गलाई महत्त्व दिएको पाइन्छ।
उपन्यासको सुरुवात नै त्यहींबाट भएको छ। प्राचीन समयमा एउटा राजाको छोराले सुखसयल छाडेर शान्तिका लागि किन तपस्या गरे होलान् भन्ने प्रश्नको जवाफ अहिले पनि पाइएको छैन। उपन्यासको कथा त्यता मोडिएको छैन। शरीरबाट प्राण हट्नेबित्तिकै शरीर मृत हुन्छ। प्राणकै कारण मन चल्छ, भावनाहरू चल्छन्। इच्छाहरू जाग्छन्, इन्द्रियहरू दौडिन थाल्छन्। जीवनमा गतिविधिको प्रादुर्भाव हुन्छ। शरीर सुतेको भए पनि प्राण सञ्चारको कारणले चेतना अनेक आयाम र तरंगमा दौडिरहेको हुन्छ।
प्राचीनकालबाटै बुद्धका विषयमा अनेकौं ग्रन्थ लेखिएका छन्। लुम्बिनीमा जन्मेका बुद्धले संसारको ठुलो हिस्सालाई आफ्नो शान्ति र करुणाको अमृतले भिजाएका छन्। त्यसलाई विषय बनाएर साहित्यिक रूप दिने परम्परा पनि लामो छ। भिक्षु आनन्द सूत्रधारका रूपमा उदाएकाले बुद्धले आफ्नो कथा आफैंले भनेका हुनसक्छन् भन्ने सत्य हो कि तथ्य हो, कहीं खुल्दैन। अर्हत्मा एउटा पक्षचाहिँ राम्रोसँग उद्घाटित भएको छ।
बुद्धको जन्म, शिक्षा, विवाह, तपस्या, ज्ञानप्राप्ति, ज्ञानको उपदेश, यश कुमार, पटाचारा, अंगुलीमाल आदिलाई भिक्षुसंघमा प्रवेश, कपिलवस्तु आगमन, राहुल, प्रजावती आदिलाई प्रवज्या, जेतवन, आम्रवन आदिको दानग्रहण, देवदत्त, जैन आदिको विद्रोह तथा षड्यन्त्र, बुद्धको महापरिनिर्वाणलगायतका घटनाहरू समेटिएका छन्। जुन कुरालाई राम्रोसँग पढ्न पाइँदैन। भलै औपन्यासिक पात्रका रूपमा किन नहोस् जन्ममृत्यु शाश्वत हो भन्ने पक्षले मानवतावादलाई बढी नै जोडतोड गरिएको छ।
बुद्ध संघमा, धर्म विस्तारको क्रममा महिलाहरू सहभागी गराउने कि नगराउने, गराउने भए कसरी गराउने भन्ने विषयमा संशयमा थिए कि। बुद्ध सुरुसुरुमा त महिलालाई भिक्षु संघमा समावेश गराउन चाहन्थे वा चाहँदैनथे? महिलाहरू दुःखमा छन् भन्ने महसुस थियो कि थिएन? आफ्ना शिष्य र आफ्ना परिवारजनले नै संघमा आबद्ध हुन देखाएको उत्सुकताले पनि उनी महिलाहरूलाई ससर्त संघमा राख्न तयार भएका हुन् होइनन् ? यस्ता प्रश्न आजपर्यन्त अनुत्तरित नै छन्।
बुद्ध ज्ञान मात्र होइन, दर्शन हो। यसका अनेकन् आयम छन्। परम्परामा स्थापित भएका मान्यता तथा ग्रन्थ छन्। ऐतिहासिक तथा समाजशास्त्रीय मान्यता पनि दर्शनमा पाइन्छ। प्राचीन अन्वेषकहरूका धारणाहरू सार्वजनिक भएका छन्। बुद्धबारे परम्परागत हिसाबले जेजस्ता तथ्य, धारणा र किंवदन्ती प्रचलनमा छन्।
विषयवस्तुका हिसाबले सोह्र वर्षमा विवाह भएका बुद्ध अट्ठाइस वर्षको उमेरसम्म शान्तिको खोजीमा लागे कि अन्य कारणले कतै अलमलिए भन्नेबारे कुनै ग्रस्थले नबोलेको स्वयं बुद्धमार्गीहरू पनि बताउने गरेका छन्। धार्मिक ग्रन्थ र अध्येताले बाहिर सार्वजनिक गरेअनुसार अट्ठाइस वा उनन्तीस वर्षको उमेरमा गृहत्याग गरेका छन्। त्यसबिचमा उनी के गर्थे? अध्येता मात्र होइन, पछिल्लो पटक प्रकाशित भएको अर्हत् पनि मौन छ।
भारतवर्षीय समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक जीवनलाई नेपालीहरूको अहिलेको जीवनसँग कतिपय कुरा मेल खान्छन्। कतिपय सांस्कृतिक सामाजिक चिन्तनहरू उस्तै उस्तै छन्।
सामाजिक आदर्श, मूल्य–मान्यता र धारणाहरूसमेत मिल्न सक्छन्। पूरातन समयम र अहिलेको तुलना गर्ने हो भने उस्तै छ। प्रविधि, विचार र सुसंस्कृत समाज निर्माण हुँदै जाँदा केही मान्यताहरू बदलिएका हुनसक्छन् तर बुद्धकालीन समयलाई ध्यान दिँदा विचारमा परिष्कृत भएको हुनसक्छ। रहनसहन र धारणाहरू मिल्न सक्छन्। नियम र अनुशासनलाई पनि धार्मिक रूपमा बाधिएको छ। उस्तै देखिने भएकाले मानिसहरूको व्यवहारमा परिवर्तन भएको पाइँदैन। त्यसकारण हाम्रा कतिपय ग्रन्थमा भारत वर्षको उल्लेख गरिएको छ। बुद्धकालीन समयमा पनि यही भारत वर्षको चर्चा रोकिएको थिएन भन्ने आजपर्यन्त पनि हामीले महसुस गर्दै आएका छौं। वैदिक सभ्यताको रापताप थियो भन्ने तथ्यलाई कतिपय सन्दर्भहरूले पुष्टि गर्दै ल्याएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८१ ०८:४५ शनिबार





