१) मुक्तक
ठेस लाग्दै हिंड्नुपर्छ जिन्दगीको बाटो
घरिघरि बल्झिदिन्छ साविकको खाटो
सपनाका लक्ष्य पुर्छ सुक्खा पहिरोले
यसैले त दुखिरहन्छ मनको भित्री पाटो।
२) मुक्तक
बैँस छँदा कसम, वाचा गर्नेहरू धेरै हुन्छन्
प्रशंसामा फूलबुट्टा भर्नेहरू धेरै हुन्छन्
समयले शरीरलाई जब खुम्च्याउँदै लान्छ
त्यो बेलामा छेउछाउ पर्न डर्नेहरू धेरै हुन्छन्।
३) मुक्तक
सबै एकैनासे लाग्छन् छाया दिने बोटहरू
मेरा हितैषीमा छैनन् कमजोरी वा खोटहरू
कुनै एउटा रोज्ने कुरो मेरा लागि कठिन हुन्छ
अन्तरमनमा दिगो भई बस्छन् प्रिय लेखोटहरू।
४) मुक्तक
एक दिन मात्रै सूर्य कतै लुके भने कस्तो होला!
चन्द्रमाले ज्योति छर्न चुके भने कस्तो होला!
प्रिय मान्छे सम्पर्कमा नभैदिंदा त्यस्तै हुन्छ,
आशङ्का र दुःखले मनमा ढुके भने कस्तो होला!
५) मुक्तक
हितैषी जस्तो भएर पछिबाट किन उपहास गर्नू!
कुरा एकातिर काम अर्कातिर गर्नेको के आश गर्नू!
जतिसुकै समाजसेवी हुँ भन्ने प्रचारप्रसार गरे पनि,
माछोमाछो भ्यागुतो पार्न जान्नेको के विश्वास गर्नू!
६) मुक्तक
सानोसानो बेहोसीले चक्र उल्टो घुम्न सक्छ
पाउनै लागेको सफलताको चुली नझुम्न सक्छ
वरपर, तलमाथि सबैतिर सावधानी अपनाउनू
नत्र कायम रहेको विश्वास पनि कतै गुम्न सक्छ।
७) मुक्तक
समयलाई के दोष दिनु रु मान्छेको मनै बेइमान छ
स्वार्थीहरूकै मात्रै लोलोपोतो र पहिचान छ
जता मल्खु उतै ढल्कु गर्नेहरू नै उन्नत हुन्छन्
जोजो चाकडीमा लाग्छन् तिनकै जयगान छ।
८) मुक्तक
तारीफ गर्छन्,खोट खोज्छन् छानीछानी महिलाको
टाढैबाट पनि गर्छन् चियो,गर्छन् निगरानी महिलाको
कैयौं हुँदा रहेछन् त्यस्ता, आफ्नो आङको भैंसी नदेख्ने
सोची हेर्नोस् त कस्तो जोखिमको छ जिन्दगानी महिलाको!
९) मुक्तक
सूर्योदय र साँझ गोधूलि उस्तैउस्तै लाग्छ
मलाई हिउँ र हिम्चुुली उस्तैउस्तै लाग्छ
अचेल के भएको हो,आफ्नै पारा बुझ्न छोडें
आफ्नै खोकी र बाडुुली उस्तैउस्तै लाग्छ।
१०) मुक्तक
समयले महिलामाथि किन अत्याचार गर्छ!
कतिञ्जेल हत्या,हिंसा,बलात्कारका खबर छर्छ!
आशा, विश्वास सबै मर्यो,अब पर्खिएर हुन्न,
महिलाहरू स्वयं अब क्रूर चट्याङ बन्नुपर्छ।
शर्मिला कार्की
प्रकाशित: २२ फाल्गुन २०८१ ११:१९ बिहीबार




