चौतारीमा देब्रे खुट्टाको सहारा बैशाखी अड्याई टुसुक्क बसेर स्वतन्त्रदास मिलनमानसँग खुसी साट्न गफिन लाग्यो, ‘आहा क्या स्वतन्त्रता! जता गए पनि कसैले छेकबार नगर्ने, जहिल्यै जे बोले पनि हुने, जसलाई पायो उसलाई मनलाग्दी गाली गरे नि बात नलाग्ने, इलम गरे नि हुने नगरे नि हुने! क्या गजब छ हगि हाम्रो देशमा!’
‘हामीले थाह पाउँदा रातिको तोप पड्केपछि घर बाहिर निस्कन पाइँदैनथ्यो। शासक र तिनका आठपहरियालाई मन नपर्ने कुरा बोल्दा जिब्रो थुतिन्थ्यो। जतासुकै शोषण, असमानता, विभेद र छुवाछुत थियो। यी सबै इतिहास भए।’
मिलनले कुरा नसक्दै स्वतन्त्रदासले फुलेर काँस भएका आफ्नो कपाल मुसार्दै सोध्यो, ‘कसरी यस्तो परिवर्तन भयो? भन त।’
‘हाम्रो बलिदानले यो सबै सम्भव भएको हो। कसैको कृपाले होइन।’ मिलनले आन्दोलनमा गोली लागेर गुमाएको आफ्नो दाहिने हातको ठुटो हल्लाउँदै सगर्व जवाफ दियो।
‘के तिमीले खुट्टा काट्नुपर्ने गरी यातना खाएको बिर्स्यौ?’
ती दुवैको छाती गर्वले फुल्यो।
त्यति नै बेला शहर जान हिंडेका केही युवाको लस्कर देखियो। स्वतन्त्र र मिलनले एकै स्वरमा सोधे, ‘यी देशका कर्णधारहरू कता हिंडेका हौ?’
‘के गर्नु हजुरबुबा, तपाईंहरूको स्वतन्त्रताले हामीलाई रोजगारी दिन सकेन। हामी त लाग्यौं खाडीतिर।’
अघि लाग्ने केटाले जवाफ गर्याे।
‘तपाईंहरूको जस्तो पहुँच भएको भए तपाईंका छोराछोरी जस्तै हामी पनि युरोप र अमेरिका पुग्थ्यौं होला। हामी त गरिप पर्याैं।’
‘जे भने नि भएकै छ। क्षमतालाई आत्मसन्तुष्टिका लागि पहुँचको पर्दा हालिएको छ। कतै नजाउ। देशमै केही गर। पौरख देखाउ भनेको मानेनन्। के गरम त बाबू हो।’
स्वतन्त्र र मिलनको यो कुरा सुन्नुपर्ने तन्नेरीहरू धेरै पर पुगिसकेका थिए।
- सीताराम नेपाल
प्रकाशित: २१ फाल्गुन २०८१ १०:२४ बुधबार