३ चैत्र २०८१ आइतबार
image/svg+xml १:३३ पूर्वाह्न
कला/संस्कृति

व्याकरणमणिको गुमनाम महाप्रस्थान

व्यक्तित्व

संसारमा धेरै कम मानिस हुन्छन्, जसले आफू परमधाम हुँदा चर्चा हुँदै नहोस्, सकेसम्म आफन्तले पनि चाल नपाऊन्, अर्थात् शान्त मृत्यु होस् भन्ने चाहन्छन्। गत सोमबार साँझ यस्तै मृत्युको सामना गरे भाषासाधक चूडामणि गौतमले। मृत्युपश्चात् घर–परिवार र केही आफन्तले मात्र उनको भौतिक शरीरलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पु¥याए र अन्तिम श्रद्धाञ्जली दिए। उनी यस धरतीमा नरहेको सन्देश  सयौं शुभचिन्तकले सामाजिक सञ्जालमार्फत पाए। सामाजिक सञ्जालमार्फत थाहा पाएका शुभचिन्तक पशुपतिस्थित आर्यघाट पुग्दा गौतम धुवाँको साथ लिएर पृथ्वीलोकबाट बिदा भइसकेका थिए।

धेरै लेखक जीवित हुँदा चर्चित भए पनि मृत्युपश्चात् गुमनाम हुन्छन्। उनीहरूको योगदानका विषयमा समाज, राज्यले समेत बेवास्था गरिरहेको हुन्छ। अझ भनौं, राज्यको तहमा बसेका र राज्यसँग पहुँच राख्नेहरूको नजरमा साहित्यिक व्यक्ति, व्यक्तित्व र पात्रको मृत्यु गुमनाम हुन्छ। साहित्यिक जगत्मा उनीहरूको योगदानबारे चर्चा नहुने हो भने यस्ता व्यक्तित्वलाई राज्य, समाज दुवैले भुल्नेछन्। अंग्रेजी र नेपाली दुवै व्याकरणमा सिद्धहस्त एवं बृहत्तर नेपाली शब्दकोश प्रकाशन गरेर प्रज्ञा प्रतिष्ठानलाई समेत चुनौती थपिदिएका साधक गौतमको सोमबार भएको निधनमा अन्तिम श्रद्धाञ्जली दिन नपाएकोमा साहित्यकारहरूलाई ठुलो विस्मात छ।

पछिल्लो पटक गौतम साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेसँग नजिकको सम्बन्धमा थिए। कहिले दिनहुँ त कहिले हप्तामा एक पटक कुराकानी हुने गथ्र्यो। तर दुई सातादेखि रोचक घिमिरेसँग पनि कुराकानी हुन पाएको थिएन। ‘खासगरी ६ महिनाअघि सिंगापुरबाट आएपछि उहाँसँगको कुराकानी पातलो हुँदै गएको थियो। दुई हप्तादेखि म सम्पर्कमा थिइनँ,’ घिमिरेले विगत सम्झँदै भने।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कारण कसैसँग सम्पर्क भएको थिएन। गौतमलाई अस्पताल भर्ना गरिएको विषय बाहिरी दुनियाबाट टाढा राखिएको थियो। नेपाली दुनियामा नजिक भएका चूडामणि बिरामी भएको जानकारी दिइरहनुपर्छ भन्ने छैन। यो पारिवारिक विषय हो।

अन्तिम संस्कार गर्ने अधिकार पनि परिवारमै निहित छ। तर कैयौं विद्यार्थी, नेपाली वर्णविन्यासका अभियन्ता र त्यससँग जोडिएका मानिसले उनको शरीर छोएर श्रद्धाञ्जली दिने अधिकार राख्थे। चूडामणि गौतम परिवारका सदस्य मात्र थिएनन्, भाषा तथा व्याकरणका अभिभावक पनि थिए। उनको निधन गुमनाम बनाउनु आवश्यक थिएन। विद्युतीय शवगृहमा हतारमा छिराउनुपर्ने बाध्यता थिएन। किनकि उनी सबैका ‘ग्रामर’ गुरु थिए, कुनै एक व्यक्ति, परिवार, समुदाय वा समाजका मात्र थिएनन्।

२०३७ सालमा ‘हायर लेभल इङ्लिस ग्रामर, कम्पोजिसन एन्ड प्रनाउन्सिएसन’ पुस्तक प्रकाशन गरे। करिब २०६० को दशकसम्म उनको ग्रामरलाई नपछ्याउने विद्यार्थी निकै कम छन्। निजी क्षेत्रबाट बेगन्ती स्कुल सञ्चालनमा आएपछि मात्रै उनका पुस्तक पछ्याउने क्रममा कमी आयो। करिब २५ वर्ष गाउँसहर सबैतिर उनका पुस्तक निरन्तर पढिए। उनको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेक्रममा अधिकांशले ‘ग्रामर गुरु’ नामले सम्बोधन गरे। त्यसले पनि पुष्टि हुन्छ कि उनले आफ्नो जीवनकालमा धेरै शिष्य उत्पादन गरेका रहेछन्।

उनको निधनपछि छोरा नीतिरमण गौतमले ‘दुःखद् खबर ! हाम्रा अभिभावक चूडामणि गौतमको काठमाडौंमा अकल्पनीय निधन, भावपूर्ण श्रद्धाञ्जली ! जय बन्धु !,’ सामाजिक सञ्जालमा पोस्ट भएको यति सूचनाले काठमाडौंमा रहेका साहित्यकारहरूले सोधखोज गरेका थिए। सामाजिक सञ्जालमा राखेको पोस्टअनुसार नीतिरमण झापामा आशौच बारिरहेका छन् भने काठमाडौंमा पनि उनको परिवारले आशौच बारिरहेका छन्। क्रियाकर्म कहाँ गर्ने, कसरी गर्ने भन्ने विषय गौतम परिवारको निजी हो। उनलाई नजिकबाट जान्ने, बुझ्ने लेखक–साहित्यकारहरू छन्। नातेदारहरू साहित्यकार, लेखक र प्राध्यापन पेसामा छन्। साहित्यिक पत्रकार रोचक घिमिरे पनि टाढाबाट नातेदार नै हुन्।

तेह्रथुमका दिग्गज साहित्यकारहरू पनि गौतमका नजिक थिए। उनको निधनको खबर थाहा पाएका विजय सुब्बाले सामाजिक सञ्जालमा आफू जान नसकेको उल्लेख गरेका छन्। ‘नेपालका प्रसिद्ध वैयाकरण तेह्रथुम निवासी (हाल डिल्लीबजार, काठमाडौं) चूडामणि गौतम दाइको निधनको खबर र उहाँको दाहसंस्कार पशुपति आर्यघाटमा भइरहेको जानकारी भर्खर पाएँ डा. हेमनाथ पौडेलजीको फेसबुकबाट। मलाई समय छँदै फोन गरिएको भए पनि जानसक्ने थिइनँ किनभने आठ दिनदेखि भाइरल ज्वरोले मेरो परिवारै ग्रस्त छ।

मलाई असाध्य निकटतासाथ नेपाली भाषा र व्याकरणबारे घण्टौं शिक्षा दिनुहुने र पछिल्लो व्याकरण तयार गर्दा केही लिम्बू शब्दबारे मेरो सहयोग पनि लिनुभएका विद्वान् दाजु चूडामणि गौतम दाइप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्छु,’ उनले भनेका छन्।

त्यसैगरी डा. हेमनाथ पौडेलले ‘लेखक चूडामणि गौतमको आज चार बजे दुःखद् निधन भएको छ। उहाँको अहिले आर्यघाटमा अन्त्येष्टि भइरहेको छ। आदरणीय गौतमज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना !,’ यो सन्देश प्रवाह गरेको देखिन्छ।

यसरी धेरैभन्दा धेरै साहित्यकारले सामाजिक सञ्जालबाट निधनको खबर पाउँदा नै शवलाई आर्यघाट पु¥याएर हिन्दु संस्कारअनुसार विद्युतीय शवदाहगृहमा हालिसकिएको थियो। जसले अन्तिम श्रद्धाञ्जली दिनबाट केही आफन्तबाहेक अन्य शुभचिन्तक सामाजिक सञ्जालमा सीमित रहे। त्यसका पछाडि व्यक्तिगत र पारिवारिक कारण रहेको साहित्यिक पत्रकार रोचक घिमिरेको अनुमान रहे पनि यहाँ उल्लेख गर्न सक्ने अवस्था छैन। यसबारे ‘बाफ्रे जिन्दगानी, जमे हिउँ पग्ले पानी’ भन्ने पुस्तकमा पारिवारिक सवालको निरूपण चूडामणि आफैंले गरेको पाइन्छ।

भाषा आन्दोलनमा

चूडामणि गौतम ‘नेपाली भाषा बचाऔं अभियान, २०७२’का अभियन्ता थिए। नेपाली भाषा आधुनिकीकरण र मानकीकरणको प्रक्रियामा रहेको भन्दै केही विद्वान्ले हिज्जेलाई गिजोल्न थाले। नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै पत्रकारद्वय टपेन्द्र कार्की र स्वागत नेपालले २०७३ साल भदौ २४ गते शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेपछि भाषा आन्दोलन पूर्ण रूपमा कानुनी लडाइँमा पुगेको थियो। सरकारी निर्णयबमोजिम पछिल्लो समय चलाइएको वर्णविन्यास खारेज गरी यसअघि प्रचलनमा रहेकै वर्णविन्यास कायम गराउन माग गरिएको थियो।

कानुनी लडाइँका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, शिक्षा सचिव, पाठ्यक्रम विकास केन्द्र, प्राध्यापक हेमाङ्गराज अधिकारी, तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा, त्रिभुवन विश्वविद्यालय, त्रिवि उपकुलपतिलगायतलाई विपक्षी बनाइएको थियो। २०६७ सालमा शिक्षा मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले आफ्नो पुरानो ‘सम्पादन प्रकाशन शैली’मा परिमार्जन गर्ने निर्णय गरेपछि भाषा विवाद सतहमा आयो। त्यसअघि गीता राणा, कान्ता भट्टराई र अनुराधा थापाले संसद्मा भाषा विदेशीको इसारामा बिगारिएकाले सच्याउन माग गरेका थिए। उनीहरूले अमेरिकी विवादित संस्थाको पैसाको भरमा भाषा मार्ने खेल भएकाले तत्काल सम्बन्धित निकायले सदनलाई जानकारी गराउन माग गरेका थिए। २०६७ जेठदेखि २०६९ साउन २२ गतेभित्र वर्णविन्यास परिवर्तनका प्रक्रिया पूरा गरेको शिक्षा मन्त्रालयले २०७० देखि लागु गर्न सुरु ग¥यो। विद्यालय शिक्षाका विभिन्न तहमा क्रमशः लागु गर्ने नीतिअनुसार यो वर्णविन्यास लागु भयो।

२०७३ सालको साउनमै ‘भाषा बचाउ आन्दोलन’का संयोजक गाउँले बलदेव अर्थात् बलदेव अधिकारीले अख्तियारमा उजुरी गरेका थिए। साउन ६ गते भाषाका नाममा प्राध्यापकले सरकारी रकम दुरूपयोग गरेको दाबी गर्दै भ्रष्टाचारमा अनुसन्धान गरी कारबाही हुनुपर्ने माग उजुरीमा गरिएको थियो।

व्यक्तिगत फाइदाका लागि प्राध्यापक हेमाङ्गराज अधिकारीलगायतले सरकारी शब्दकोश बिगारेको आरोप उनले लगाएका थिए। अधिकारीकै नेतृत्वमा आन्दोलनसमेत भएको थियो। तर त्यो आन्दोलनलाई तत्कालीन प्रज्ञा प्रतिष्ठानमा पदासीन विद्वान्हरूले बलमिच्याइँ गरेपछि कार्की र नेपालले कानुनी लडाइँको बाटो रोजेका थिए। जसको फैसला २०८१ असार ९ गते आइसकेको छ। रिटमा माग गरेबमोजिम फैसला आएका कारण पुरानै वर्णविन्यास कायम हुने आदेश भएको छ, अर्थात् २०६९ साउन २२ को निर्णय बदर भएको छ।

यही आन्दोलनका क्रममा भएका विभिन्न शालीन कार्यक्रममा चूडामणि गौतमसँग देखभेट गर्ने अवसर जुरेको थियो। बाल्यकालमा उनकै ग्रामर पढेको भए पनि त्यसयता भेट्ने अवसर कहिल्यै जुरेन। सन्दर्भ पनि मिलेन तर जब भाषा आन्दोलनलाई कानुनी लडाइँमा हामीले जोड्यौं, त्यसयताका धेरै कार्यक्रममा दर्शकदीर्घाबाट उनका अभिव्यक्ति सुन्ने मौका मिल्यो। भाषा आन्दोलन स्पष्ट दुई धारमा विभाजित थियो र छ।

आफूलाई प्रगतिवादी लेखक चिन्तक भन्नेहरूले आधुनिकीकरण मानकीकरणमा नयाँ विकसित रूप भएको व्याख्या गरिरहेका छन्। हामीले भाषा नयाँ लुगा लगाएजस्तो आधुनिकीकरण र मानकीकरण हुँदैन, समाजले स्विकार्दै गएपछि आफै आधुनिक र मानक हुन्छ भन्न थाल्यौं। यो विषयलाई प्रगतिवादी लेखकहरू अस्वीकार गर्दैनन् तर उनीहरू प्रगतिरूपी रटान छाड्दैनन्। यसर्थ यो दुई धारमध्ये चूडामणि गौतमले २०७३ सालको अन्तिमतिर ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ प्रकाशित गरे। उनले त्यही क्रममा संविधानलाई समेत जोडेर अभिव्यक्ति दिएको पाइन्छ। ‘विकृत पारेको हिज्जे हाम्रो संविधानले स्विकारेको भए भाषागत रूपमा संविधानको मर्ममाथि ठुलो आघात पर्ने थियो। यही बुझेर हुनुपर्छ, संविधानसभाका सभासद् र संविधान निर्माणमा सक्रिय समितिहरूले प्रज्ञा प्रतिष्ठानले लादेको विकृत हिज्जेलाई संविधानमा स्थान दिएनछन्। नत्र, भाषागत रूपमा हाम्रो संविधान देशभर आक्रोश, विवाद र विरोधको विषय बन्ने थियो।

प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘नेपाली बृहत् शब्दकोश’को वर्णविन्यास आज जसरी देशभर आक्रोशको विषय बनेको छ, त्रिविकै नेपाली विभागले पनि जसरी खुलेर त्यसको सार्वजनिक आलोचना र विरोध गर्दै त्यसलाई अमान्य ठहर गरिरहेको छ, प्रज्ञा प्रतिष्ठानको विकृतिपूर्ण वर्णविन्यास संविधानले स्विकारेको भए यो पनि त्यसै गरी भाषागत आक्रोश, विरोध र अमान्यताको भुमरीमा परेर चरम विवादग्रस्त बन्ने थियो भन्ने स्पष्टै छ।

प्रज्ञा प्रतिष्ठानको वर्णविन्यास स्वीकार नगरी शुद्ध र सर्वस्वीकार्य वर्णविन्यास प्रयोग गरेर हाम्रो संविधान त्यो विवाद र अस्वीकार्यताबाट जोगिएको मात्र छैन, नेपालभित्र र बाहिरका समेत नेपालीको मन जित्न सफल भएको छ। यसका लागि भाषाप्रेमी हामी सबैले संविधानसभा र त्यसमा रहेका सभासद्लाई जति धन्यवाद दिए पनि कम हुन्छ।

यति मात्र होइन, बालमैत्री, महिलामैत्री, वातावरणमैत्री, व्यक्तिमैत्री, पर्यावरणमैत्री जस्तो अशुद्ध भाषा यस संविधानमा छैन। ‘मैत्री’ शब्द संज्ञा वा नाम हो र यसको अर्थ ‘मित्रता’ हो। माथिका शब्द–समूहहरूमा भन्न खोजिएको चाहिँ ‘मित्रतापूर्ण’ हो र यो शब्द ‘मित्रता’बाट बनेको विशेषण हो। भन्ने नै हो भने त यो शब्द अंग्रेजीमा ‘फ्रेन्ड्ली’को अनुवाद हो। त्यसलाई ‘मित्रतापूर्ण’ त भन्न सकिएला तर ‘मित्रता’ भन्न पटक्कै मिल्दैन। तर, हाम्रा नेपालीका प्राडाहरू ‘विद्यार्थीमैत्री, प्रविधिमैत्री’जस्ता अशुद्ध शब्द (नामलाई विशेषणजस्तो ठानेर) चलाइरहेका छन्,’ उनले भनेका थिए। यसको अर्थ के भने उनी प्रज्ञा प्रतिष्ठानले जारी गरेको नेपाली शब्दकोशप्रति असन्तुष्ट थिए।

त्यतिबेला भाषा आन्दोलनमा लागेकाहरूप्रति प्रज्ञा प्रतिष्ठानमा रहेका प्राज्ञहरू अहिले पनि सकारात्मक बन्न सकेका छैनन्। परिणामतः उनको निधनपछि प्रज्ञा प्रतिष्ठानले खोजी गर्न चाहेन, कुनै शब्द खर्च गर्न चाहेन। भित्रभित्र उनकै कृति पढेर हुर्केकाहरूले पनि औपचारिकता मात्र निभाए। भाषा आन्दोलनका एक यात्री शरच्चन्द्र वस्ती उनको निधनपछि साहित्यिक एवं प्राज्ञिक क्षेत्रले गरेको बेवास्थामा कुनै शब्द खर्चनु नै बेकार रहेको बताउँछन्। ‘उहाँको निधनमा सरकारी निकायले किन उदासीनता देखाएको हो हामी बताउन सक्ने अवस्थामा छैनौं,’ वस्तीले भने।

गौतमले करिब ८७ हजार शब्द, ६ सय १२ उखान र सात सय २४ टुक्का समेटिएको ‘बृहत्तर नेपाली शब्दकोश’ प्रकाशित गरेका छन्।  भाषा र वर्णविन्यासको बहसमा मात्रै सक्रिय देखिएका गौतमले यो शब्दकोश पनि ११ वर्ष लगाएर तयार पारेका थिए।  गौतमले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले तयार पार्ने शब्दकोश २५ वर्ष लाग्ने अनुमान गरेको थिएँ तर ११ वर्षमा लेखिसकेको छु।’ गौतमको यो शब्दकोश प्रकाशन भएपछि कुनै एक सार्वजनिक कार्यक्रममा  भाषासाधक शरच्चन्द्र वस्तीले ‘व्यक्तिगत पहलमा गरिएको दुस्साहसी काम’ भनेका थिए।

२०७३ सालमा चूडामणि गौतमको नयाँ पुस्तक ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ विमोचनमा उपस्थित भएका अधिकांश भाषासाधकले नेपाली भाषालाई पटक पटक बिगार्ने काम भएको बताएपछि उनले बोल्नेक्रममा आफू यो अभियानका लागेर भाषालाई सच्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए। त्यतिबेला पुस्तक विमोचन गर्दै शब्दकोशकार वसन्तकुमार शम्र्मा नेपालले भनेका थिए, ‘भाषाको विवाद पटक पटक आइरहेको छ। यस विषयमा बोल्दाबोल्दै बुढो भएँ। अब यही विषयमा बोल्दाबोल्दै मर्छुजस्तो लाग्छ।’

उनले आफन्तलाई राखेर प्रज्ञा प्रतिष्ठान चलाउँदै सरकारले भाषा बिगार्ने काम गरेको आरोप लगाएका थिए। भाषासाधक मुकुन्दशरण उपाध्यायले २०३४ सालबाटै परिवर्तनका नाममा भाषामा विकृति देखिन थालेको बताएका थिए। ‘आगन्तुक श’ लाई पातलो ‘स’मा परिणत गर्ने काम २०३४ सालबाटै भयो।  कुनै समिति वा सभाले मोटो ‘श’ लाई पातलो र दीर्घलाई ह्रस्व बनाउने र यसलाई लागु गर्ने काम गरिनुहुन्न भन्दै मैले तीन दशकदेखि विरोध गर्दै आएँ,’ उनले थपे, ‘शब्दकोशमा शुद्धता पहिल्याउन लाग्नुपर्छ। जसका लागि पूर्वजहरूले धेरै कुरा भन्नुभएको छ। त्यसमा पूर्वजले भनेका कुरालाई नै सही मान्नुपर्छ।’

त्यही क्रममा गौतमले भनेका थिए– ‘यो पुस्तकलाई म भाषा विवादको चौथो धक्का भन्न चाहन्छु। नेपाली भाषा डुब्दाको पीडा साटासाट गर्न हामी यहाँ उपस्थति भएका छौं। मैले सात ग्रामदेखि दुई किलोसम्मका गरेर अहिलेसम्म ९३ पुस्तक ल्याएँ। नेपाली, अंग्रेजी, व्याकरण र शब्दकोश लेखेको छु। भाषा विवादसम्बन्धी यो चौथो पुस्तक हो। विवादबारे अब लेख्न नपरोस् भन्ने लाग्छ।’

यसो भनिरहँदा वर्णविन्यासलाई आधुनिकीकरणको मेसिनमा राख्ने प्रज्ञा प्रतिष्ठानमा रहेका तत्कालीन विद्वान्हरूलाई ठुलै धक्का लागेको थियो। यही धक्काको पराकम्पले गौतमको निधनलाई सामान्यीकरण गर्ने मुख्य माध्यम बनाइएको त होइन? यो प्रश्न नेपाली साहित्यमा जहिले पनि उठ्ने छ।

भाषाका अथक साधक चूडामणि गौतमप्रति हार्दिक श्रद्धाञ्जली!

प्रकाशित: १७ फाल्गुन २०८१ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App