२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला

सफलताको साँचो ‘अनुशासन’

बालकथा

सन्दीप एक सानो गाउँको एउटा चञ्चले केटो थियो। ऊ धेरै चलाख थियो, तर ऊ कुनै पनि नियम मान्न चाहँदैनथ्यो। स्कूल जान ढिलो गर्नु, गृहकार्य नगर्नु, बिनाकारण खेल्दा साथीहरूलाई दुःख दिनु-यी सब उसका बानीहरू थिए।

एक दिन स्कूलमा सरले भन्नुभयो, ‘अनुशासनबिना कोही पनि सफल हुन सक्दैन।’

सन्दीपलाई यस कुराले खासै प्रभाव पारेन। ऊ अझै पनि आफ्नो जिद्दी स्वभावमै थियो।

त्यसै दिन स्कूलमा दौड प्रतियोगिता थियो। सन्दीपलाई दौडिन मन पर्थ्यो। तर ऊ कहिल्यै नियमित अभ्यास गर्दैनथ्यो। दौड सुरु भयो, ऊ निकै तेज अघि बढ्यो, तर छिट्टै नै थाक्यो। उसका साथीहरू, जो दिन दिनै अभ्यास गर्थे, सजिलै जिते।

सन्दीपलाई असाध्य दुःख लाग्यो। उसले आफ्ना साथीहरूलाई सोध्यो, ‘तिमीहरू कसरी यति राम्रो दौड्यौ?’

साथीहरूले हाँस्दै भने, ‘हामीले नियमअनुसार अभ्यास गर्छौं, अनुशासन पालना गर्छौं। त्यसैले हामी बलिया छौं।’

त्यस दिन सन्दीपले बुझ्यो-अनुशासन भनेको सफलताको साँचो हो। त्यसपछि ऊ बेलैमा स्कूल जान थाल्यो, गृहकार्य समयमै गर्न थाल्यो र दौडको अभ्यास पनि नियमित गर्न थाल्यो।

केही महिनापछि पुनः दौड प्रतियोगिता भयो। यसपालि सन्दीपले अनुशासनको पाठ सिकिसकेको थियो। ऊ तयारीसहित दौडमा सहभागी भयो र पहिलो स्थान हासिल गर्‍याे।

त्यसपछि गाउँका सबै बच्चाले सन्दीपबाट सिके-अनुशासन अपनाएमा सफलता पाउन सकिन्छ।

प्रकाशित: १२ फाल्गुन २०८१ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App