‘वर्तमान कविता समूह’ ले प्रणय दिवसको अवसरमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण तथा विशेष कविता वाचन कार्यक्रम आयोजना गरेकाे छ।
कार्यक्रममा एघार कवि विधान आचार्य, भीष्म उप्रेती, टङ्क उप्रेती, रमी प्रिया, सुमन थापा संगम, दिलकुमारी डङ्गोल, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, सन्जय सुमन, विश्व सिग्देल, र ईश्वर थोकरको संयुक्त रूपमा प्रेम कवितासङ्ग्रह अङ्ग्रेजी अनुवादसहित ‘प्रेमको आदिम गीत’ लाेकार्पण भएकाे छ।
यस संग्रहका कविताहरूले प्रेमका विभिन्न आयामहरू- आकांक्षा, आवेग, स्मृति, विछोड, र भावनात्मक गहिराइ प्रस्तुत गरेका छन्। केही कवितामा प्रेमको गहन भावलाई व्यक्त गर्न प्रकृतिलाई रूपकका रूपमा प्रयोग गरिएको छ, जहाँ नदी, महासागर, र ऋतुलाई प्रेमका अभिव्यक्तिको रूपमा चित्रण गरिएको छ।
केही कविताले भने दार्शनिक दृष्टिकोण प्रस्तुत गर्दै प्रेमलाई अस्तित्व, समय, र मानव भावनासँग जोडेर व्याख्या गरेका छन्। विविध कवि स्वरहरूले प्रेमको मिलन र विछोड कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्।
कार्यक्रममा लाेकार्पित कृतिका कविहरूसँगै रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेम्कुल, नानीबाबा अधिकारी, गोविन्द नेपाल, श्रीओम श्रेष्ठ रोदन लगायतका कविले प्रणय कविता वाचन गरेका थिए।

ग्रीनलिफ फुड, पुतलीसडकमा भएकाे कार्यक्रमको सञ्चालन राधिका अधिकारीले गरेकी थिइन्। कार्यक्रममा वर्तमान कविता समूहका सदस्य तथा शव्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले वर्तमान कविता समूहको संक्षिप्त परिचय दिंदै स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
त्यसैगरी सङ्ग्रहका कवि तथा अनुवादक चन्द्रबहादुर लामाले नेपाली अङ्ग्रेजीमा कविता अनुवाद गर्दा कविताको सांस्कृतिक मौलिकता, भावनात्मक गहिराइ र साहित्यिक सौन्दर्य जोगाउन सामना गर्नुपरेको चुनौतिबारे बताए।
आयोजक समूहका सदस्य कवि विश्व सिग्देलले वर्तमान कविता समूहले कविताको उन्नयनमा पाइला चाल्दै आएको र आउँदाे दिनमा पनि यो जारी रहने बताए। साथै, समूहले नेपाली कवितालाई अङ्ग्रेजीमा गरिएको अनुवादले नेपाली कवितालाई विश्वसामु पुर्याउने र यसले नेपाली साहित्यलाई अझ समृद्ध बनाउने कुरा पनि बताए।
प्रकाशित: ३ फाल्गुन २०८१ १०:२९ शनिबार