२६ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

माओवादीले गणतन्त्र ल्यायो, समृद्धिका लागि नयाँ समाजवादी शक्ति चाहिन्छ: डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी पार्टी आफूले स्थापना गरेको बताउँदै यसले गणतन्त्र स्थापनासम्मको एउटा अध्याय पूरा गरेको उल्लेख गरेका छन्।

तर, विकास र समृद्धिका लागि माओवादी विचार अपर्याप्त भएको भन्दै उनले लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद आवश्यक रहेको धारणा राखे।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै डा. भट्टराईले भने, “माओवादी पार्टी मेरो संस्था हो। यसले ठूलो विद्रोह गरेर संविधानसभामार्फत गणतन्त्रसम्म पुर्‍यायो। त्यो एउटा अध्याय पूरा भयो। लोकतन्त्रको लडाइँका लागि माओवादी सही थियो र हामीले त्यो लक्ष्य हासिल गर्‍यौं, जसमा गर्व छ।”

उनले विकास र समृद्धिका लागि भने नयाँ दृष्टिकोण आवश्यक रहेको बताए। “माओवादी विचार र भाष्यले अब पुग्दैन। बजार, राज्य र समुदायबीच उचित सन्तुलन कायम गरी साधन-स्रोतको उपयोग गरेर देशलाई समृद्ध बनाउने लोकतान्त्रिक समाजवादी शक्ति चाहिन्छ,” उनले भने।

परम्परागत कम्युनिस्ट विचारले मात्र देशको विकास सम्भव नहुने भन्दै उनले नयाँ समाजवादी शक्तिको खाँचो औंल्याए।

डा. भट्टराईले माओवादी आन्दोलनको ऐतिहासिक योगदानको सम्मान गर्दै अबको यात्रा समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २० चैत्र २०८१ २०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App