चर्चित उखान छ–‘नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्।’ यसको सरल अर्थ असल कर्मबाट ख्याति कमाउन नसके बदनामै भएर पनि चर्चामा आउनुपर्छ भन्ने हो। यो उखानलाई अक्सर असल मान्छेले राम्रो रूपमा लिन्नन्। तर, विश्वभरका माफिया र अपराधीका लागि यो उखानले दिने आशय प्रिय हुन्छ। उनीहरूका लागि बदनामी कमाएर चर्चा कमाउन फाइदाको विषय बन्छ।
विश्वभरका राजनीतिकर्मीका लागि पनि यो उखान बारम्बार चरितार्थ गर्नु सामान्य नै बन्ने गरेको छ। यही मेलोमा कतिपय कलाकारले पनि आफूलाई चोखो राखेका छैनन्। कलाकारितामा ‘नवीन र अत्याधुनिक अभ्यास गर्छु’ भन्ने अक्सर कलाकार राम्रो कामबाट ख्याति नकमाए नराम्रो कामबाटै चर्चामा आउन प्रयास गर्ने गरेका प्रशस्त उदाहरण छन्।
यही मेसोमा पछिल्लो समय आफूलाई लोक कलाकार दावा गर्ने नेपालका केही कलाकार मिसिएका छन्। जसले लोक सङ्गीत, लोककला र परम्पराको सामान्य इमानको त ख्याल राखेका छैनन् नै, कला क्षेत्रबाट समाजको हुर्मत लिएका छन्।
.......
लोकगीत ! आफैमा अर्थ बोकेको शब्द हो। नेपाली परम्परा र मौलिकता बोकेका लोक सङ्गीत हाम्रा मौलिक सम्पत्ति र अमूल्य निधि हुन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर लोकगीत–सङ्गीत र दोहोरी ‘आमा गीत–सङ्गीत’का रूपमा परिचित गर्छिन्। ‘लोक गीत–सङ्गीत देशको संस्कृति हो, सम्पत्ति हो,’ अध्यक्ष थापामगर भन्छिन्, ‘आमाजस्तै यी कुरा सम्माननीय छन्।’

मान्यता यही हो, तर अहिले लोक कलाकार भन्ने केही पात्रबाट फरक व्यवहार देखिन थालेका छन्। लोकगीत परम्परादेखि आएका मौलिक संस्कृति भएकाले सोहीअनुरूप राखेर ससम्मान आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने वर्तमान पुस्ताको दायित्व हुन्छ। तर अचेल त्यो दायित्व पूरा गर्न त परको कुरा लोकगीतका नाममा लिइएको हुर्मतले नयाँ पुस्तालाई खराब तथ्य हस्तान्तरण हुने अवस्था सिर्जना भइरहेको छ।
हुँदा हुँदा अचेल त लोक कलाकार भन्नेहरूले लाजै त्यागेका छन्। लोकगीतका नामले आएका गीतमा एकदमै हलुका र द्वि अर्थी(अश्लील अर्थ लाग्न सक्ने) शब्द प्रयोग हुने गरेका छन्। म्युजिक भिडिओको त झन् के कुरा, बचेखुचेको लाज पनि निमिट्यान्न पार्ने दृश्य राखिएका छन्। भिडिओ यति ‘भल्गर’ छन् कि तिनले लाजशरमका सबै हद पार गरेका छन्।
लोकगीत कि ‘लाज गीत’?
शान्ता रानी परियार १३ सय गीत आफूले गाइसकेको दाबी गर्छिन्। यद्यपि अहिले बल्ल चर्चामा छिन्। शान्ता रानीले गाएको ‘म त ढलेँ ढलेँ’ भन्ने गीत अहिले चर्चित र विवादित छ। युट्युब, स्पोटीफाई, टिकटकसहितका अडिओ प्लेटफर्ममा उक्त गीतले ५ करोड न्युज कमाइसकेको छ। गीतको टिमले ‘सक्सेस सेलिब्रेसन’ समेत मनाइसकेको छ।

गीत जति चर्चामा छ, त्यति नै आलोचनामा पनि छ। आलोचनाको कारण गीतमा समेटिएको ‘द्वि अर्थी’ वाक्यहरू हुन्। ‘आमालाई पल्लारे साइँलोले...’ यहाँ आमाजस्तो पवित्र शब्दलाई जोडेर भन्न खोजिएको कुरा अस्पष्ट छ, आशय अश्लीलतासँग प्रस्ट जोडिन्छ। ‘म त ढलेँ ढलेँ ...’ भनेपछि वाक्य अघि बढ्दैन। त्यसपछि दृश्य बोल्छ र गीतको सारको व्याख्या भिडिओले गर्छ। दृश्य भल्गर छ। गीतको सुरुवात घरपालुवा पन्छीबाट अश्लीलता देखाउने दृश्यबाट हुन्छ। भिडिओमा कुखुराको भाले र पोथीलाई देखाइएको छ। ढल्नुको अर्थ शब्दबाट होइन दृश्यबाट खुलाइएको छ।
यस्तो गीतको चौतर्फी आलोचना भइरहँदा मनाइएको ‘सक्सेस सेलिब्रेसन’मा स्वयं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर पुगिन्। केक पनि काटेर शुभकामना समेत दिइन्। त्यसपछि आलोचनाको परिधिमा रिता पनि तानिएकी छन्। मौलिक लोककलाको प्रवर्द्धन गर्नुपर्ने र मौलिकता नाघेर विकृति सिर्जना गराउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने संस्थाको जिम्मेवारीमा पुगेकी रिताको यस्तो गैह्र जिम्मेवार पूर्ण कदम सर्वथा आलोच्य छ। समाजले पनि आलोचना गरिरहेकै छ।
आलोचना अरूले त गरिरहेका छन् नै, आलोचकको भिडमा ज्योति मगर पनि रिताविरुद्ध उभिएकी छन्। ज्योति मगरले २६ पुसमा फेसबुकमा रितामाथि गम्भीर प्रश्न खडा गरिन्। अन्य गीतमा टिप्पणी गर्ने रितामाथि ज्योति अश्लील गीतको सक्सेस पार्टीमा गएकामा नैतिक प्रश्न उठाएकी छन्।

यता रिता भने उक्त गीतमा अश्लीलता नभएको दाबी गर्छिन्। ‘आमाले छोरीलाई गाली गर्न त पायो नि। राम्रोसँग हिँड, राम्रोसँग बोल, राम्रो लुगा लगाएर बस भन्न त पाइयो नि। आमाले छोरीलाई संस्कार सिकाउन त पाइयो’, भन्दै उनले गीतको बचाउ गरिन्। तर भिडिओका दृश्यमा भने आलोच्य पक्ष रहेको उनको स्वीकारोक्ति छ। ‘भिडिओ बनाउँदा निर्देशकको थोरै चतुर्याइँ गरेको देखिन्छ। कलात्मक तरिकाले प्रस्तुत गर्नुपर्ने हो त्यो भल्गारीटिमा अलिकति गएको हो कि भन्ने बुझिन्छ,’ नागरिकसँगको कुराकानीमा उनले भनिन्। यसैले सक्सेस पार्टीमा गएर आफूले थप सुझाव पनि दिएको उनी बताउँछिन्।

पछिल्लो समय नचलेका कलाकार मात्र होइन, चलेकै कलाकार पनि गैह्र जिम्मेवार भएर गीतमा अश्लीलताको सहारा लिन थालेका छन्।
‘बोल माया’, ‘गलबन्दी’, ‘रुकुम मैकोट’, ‘राधा पियारी’ जस्ता चर्चित र लोकप्रिय गीतकी गायिका शान्ति श्री परियार त्यो सूचीमा पर्छिन्। ‘रुकुम मैकोट’ ले ६ महिनाभन्दा कम समयमै बिहीबार मात्रै १० करोड भ्युज पाउने गीत बनेको छ।
उनै शान्ति श्रीले ‘अरेली काँडैले मलाई च्वास्सै’ र ‘बिस्तराले पोल्यो’ जस्ता हलुका र द्वि अर्थी शब्द प्रयोग गर्दै गीतलाई कमाउने माध्यम बनाइन्। ‘बिस्तराले पोल्यो’ गीतको भिडिओ विवादित बनेपछि उनले विज्ञप्ति निकालेर माफी मागेकी थिइन्।


लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनले विज्ञप्तिमा ‘आगामी दिनमा शब्द सङ्गीत छनोट गरेर मात्र गाउने वाचा गर्दछु’ भनेर लेखेकी थिइन्।

तर, अहिले उनले आफ्नै बाचा बिर्सेर ‘सेतै दूध सेतै चौलानी, मायाले मागेको त्यहीँ त होला नि’ भन्ने अर्को द्वि अर्थी गीत सार्वजनिक गरेकी छन्।

यही सूचीमा ‘स्याउ ल्याइदिऊँ कि केरा’, ‘सानु तिम्लाई गरेको गर्यै छु’, ‘सिरानी टाङमुनि’, ‘सिरक तानातान’, ‘ढाडे बिरालो’ जस्ता गीत पनि छन्। दोहोरी साँझ नामक भट्टीहरूमा पैसा झार्न रक्सी पिलाउँदै अश्लील गीतहरूको प्रतिस्पर्धा नै गराइन्छ। त्यहीँका उत्पादित कलाकारले गाउने गीतहरू यही प्रकृतिका छाडा हुने गरेका छन्।
परिवारसँग हेर्नै नमिल्ने लोकगीत?
लोकगीत–सङ्गीत लोक समाजका उपज हुन्। अर्थात् सदिऔँदेखि नेपाली समाजले मौलिक मनोरञ्जनका माध्यमका रूपमा यी गीत–सङ्गीत प्रचलनमा ल्याएका हुन्। सिङ्गो परिवार र समाज सँगै बसेर गीत–सङ्गीतबाट मनोरञ्जन लिँदै आएको इतिहास जीवन्त छ।
तर, अहिलेका गीत न परिवारका सदस्यसँग बसेर सुन्न मिल्छन्, न ती गीतका भिडिओ हेर्न सकिने किसिमका छन्। समूहमा बसेर मोबाइल चलाउँदा फ्याट्ट यी गीत बजे हतार हतार मोबाइलको आवाज सानो बनाउनुपर्ने हविगत छ।
अहिले डिजिटल युग पनि हो, हात हातमा हुने मोबाइलमा फेसबुकका रिलदेखि, इन्स्टाग्राम सम्म, टिकटकदेखि युट्युबसम्म चल्छन्। यही यस्ता गीतको पहुँच पनि छ। जसले परिवारसँग बसेर यी सामाजिक सञ्जाल चलाउँदा होस पुर्याउनुपर्ने अवस्था छ।
यस्ता द्वि अर्थी गीत ससाना बालबालिकासम्मको पहुँचमा हुनु हो। जसलाई यी गीतले लोकलयमा अश्लीलता सिकाइरहेका छ, बुझाइरहेको छ। भविष्यमा उसको बाल मस्तिष्कमा लोकगीत भनेकै अश्लील हुन्छ भन्ने पर्न सक्ने खतरा हुन्छ। त्यसले हाम्रो मौलिकता समाप्त हुने खतरा देखिएको छ।
अर्को तथ्य यस्ता गीत सामाजिक सञ्जालमा ‘भाइरल’ हुनकै लागि बनाइएका हुन्। समाजमा बढ्दै गएको यौन स्वच्छन्दताले यस्ता गीतलाई भाइरल हुन मद्दत गरिरहेको छ। सामाजिक सञ्जालमा ‘भाइरल’को भोकमा रहेको अर्को भिडले यी गीतमा टिकटकदेखि फेसबुकका रिल बनाउन भरपुर प्रयोग गरिरहेको छ। जसमा महिलादेखि पुरुष कोही पछि परेका छैनन्। जसले कलाकारहरूलाई पनि छाडा गीत निकाल्न प्रेरित गरिरहेको छ।
चिन्ताको विषय भने यस्ता गीतको शैली लोकलयमा हुनु र लोकगीत–सङ्गीतको बर्को लगाइनु हो। यस्तै, यस्ता द्वि अर्थी गीत ससाना बालबालिकासम्मको पहुँचमा हुनु हो। जसलाई यी गीतले लोकलयमा अश्लीलता सिकाइरहेका छ, बुझाइरहेको छ। भविष्यमा उसको बाल मस्तिष्कमा लोकगीत भनेकै अश्लील हुन्छ भन्ने पर्न सक्ने खतरा हुन्छ। त्यसले हाम्रो मौलिकता समाप्त हुने खतरा देखिएको छ।
अश्लीलता कमाउने सहज धन्धा!
पछिल्लो समय कलाकारहरूले अश्लीलतालाई चर्चामा आउने र त्यसैबाट कमाउने माध्यम नै बनाएका छन्। आयस्रोतका हिसाबले कलाकारको दोस्रो ठुलो आर्जनको क्षेत्र स्टेज कार्यक्रम, मेला महोत्सवहरू बनेका छन्। यस्तै, यस्ता स्टेज कार्यक्रम विदेशदेखि नेपाल सम्म भइरहन्छन्।
यस्ता स्टेजमा पनि अहिले अश्लीलता बढी बिक्री हुन थालेको छ। सांस्कृतिक महोत्सवमै छाडा गीत र नाचले बढी स्थान र महत्व पाउन थालेका छन्। अश्लील शब्द र भल्गर दृश्यकै गीतमा चर्चा कमाएकी विवादित छविकी गायिका ज्योति मगर अहिले सबैभन्दा बढी स्टेज पाउँछन् पनि। उनी स्टेजमै पनि छोटा पहिरनले दर्शक तान्ने धन्धा चलाइरहेकी छन्।

एकातिर यस्तै उटपट्याङ गीत र दृश्यमा सजिलै चर्चा कमाउने र त्यसैबाट सामाजिक सञ्जालमा भाइरल हुनेदेखि स्टेजसम्म माग बढी हुने भएपछि ज्योतिकै सिको गर्दै नयाँ पुराना कलाकार त्यही बाटो समातिरहेका छन्।
यो कुरा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता पनि स्विकार्छिन्। ‘अहिले कलाकार नाङ्गिएर हुन्छ कि, बाङ्गिएर हुन्छ। कि द्वि अर्थी गीत गाएर हुन्छ। चर्चामा आउन चाहन्छन्। मिडियाको नजरमा पर्न चाहन्छन्। चर्चामा आएपछि नै हो कमाई हुने,’ उनी भन्छिन्, ‘अरू कुनै बाटो नभए यसो गर्नसम्म भ्याइरहेका छन्।’
विज्ञ के भन्छन् ?
वरिष्ठ कवि एवं सर्जक श्रवण मुकारुङ अभिव्यक्ति स्वतन्त्रताका नाममा ‘न्युज’का लागि कलाकारले आफ्नो अस्तित्व बेच्न नहुने बताउँछन्। ‘अभिव्यक्ति स्वतन्त्रताको पक्षधर म पनि हुँ। कतिपय गीत त्यसैका सुन्दर उपहार पनि छन्,’ उनी भन्छन्, ‘तर, केही कलाकारले भ्युजकै लागि आफ्नो अस्तित्व बचेका छन्, आफ्नो संस्कृति बेचेका छन्, आफ्नोपन बेचेका छन्। समग्रमा आफ्नो आत्मा बेचेको छ भन्दा फरक पर्दैन।’

सस्तो मनोरञ्जनका लागि निर्माण गरिने सिर्जनाले दर्शकको अवमूल्यन गरेको र कला क्षेत्रको मर्यादामा हानी पुर्याएको अर्थमा लिनुपर्ने उनी बताउँछन्। ‘स्वतन्त्रता उपभोग गर्ने मान्छे नैतिकवान् हुनुपर्छ। स्वतन्त्रता भनेको अराजकता होइन, विसङ्गति होइन’, मुकारुङ भन्छन् । यस्ता विषयमा राज्य र सम्बन्धित सङ्घसंस्थाले नियमन गर्नुपर्ने पनि मुकारुङको राय छ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर प्रतिष्ठानमा विवादित गीतबारे उजुरी दिने व्यवस्था रहेको बताउँछिन्। उजुरीकै आधारमा कतिपय गीतलाई कारबाही समेत गरेको उनको भनाई छ। उनका अनुसार पछिल्लो समय कुनै उजुरी परेका छैनन्।
रिताको बुझाइमा यस्ता विकृतिको निवारण प्रतिष्ठानको मात्र बसमा छैन। ‘दोहोरी प्रतिष्ठानले केही पनि गर्न सक्दैन। गर्ने भनेको राज्यले हो, पुलिसले हो। हामीले आग्रह मात्रै गर्ने हो’, उनी भन्छिन्, ‘दोहोरी प्रतिष्ठान एक सामाजिक संस्था हो। पहिला कलाकार नैतिकवान् हुनु पर्यो, संस्कारी हुनुपर्यो। कलाकार छाडा भएको खण्डमा हामीले केही गर्न सक्दैनौँ।’
प्रकाशित: २ फाल्गुन २०८१ १७:५९ शुक्रबार