८ माघ २०८२ बिहीबार
image/svg+xml
कला

‘सम्झौता गरे जेल पनि स्नेही बन्छ’

स्रष्टा-संवाद

तारा राई माओवादी विद्रोहमा प्रत्यक्ष सहभागी बनेकी र आफ्नो लेखनमा उक्त विद्रोहका नखुलेका पाटा खुलाउने लेखक हुन्। उनी विद्रोहकै क्रममा पक्राउ परिन् र झन्डै एक वर्ष जेलजीवन बिताइन्। माओवादी विद्रोह र जेल जीवनमा भोगेका यथार्थलाई समेटेर ‘छापामार युवतीको डायरी’ कृति लेखिन्। यो कृतिको पन्ध्रौं संस्करण आइसकेको छ। बेलायतबाट यस कृतिको अंग्रेजी संस्करण ‘गुरिल्ला गर्ल’समेत प्रकाशित भएको छ। राईको दोस्रो उपन्यास ‘आफ्नोपन’ भर्खरै प्रकाशित भएको छ।

लेखक तारा राईसँग साहित्य साहित्यसन्दर्भमा नागरिककर्मी दिलीप ढकालले गरेको संवादः

१. तपाईंको भर्खरै प्रकाशित पुस्तक ‘आफ्नोपन’भित्र के छ?

प्रकाशति ‘आफ्नोपन’मा केही संघर्ष, दुःख, स्नेह, प्रेम, सद्भाव र स्वाभिमान छ।

२. ‘छापामार युवतीको डायरी’ले तपाईंलाई ‘गुरिल्ला गर्ल’को परिचय स्थापित गरेको थियो। ‘आफ्नोपन’ले थप्ने पहिचान के हो?

‘छापामार युवतीको डायरी’ले दिएको परिचयमा ‘आफ्नोपन’ले एउटा इँटा थप्नेछ। अनि थोरै भए पनि लेखकको थप पहिचान दिलाउने छ भन्ने लागेको छ।

३. ‘आफ्नोपन’मा स्थानगत मुख्य परिवेश कारागारलाई बनाइएको छ। एउटा छापामारका लागि कारागार आफ्नो घरजस्तै आत्मीय कसरी बन्यो?

मान्छेले जे जस्तो परिस्थिति भए पनि स्नेह, प्रेमको साइनो निभाउन सक्नुपर्छ। आफूले आफैंलाई जस्तो परिस्थिति छ, त्यस्तै रूपमा परविर्तन गर्न सकियो भने, आफ्ना वरिपरि भएका आत्मीयतालाई अँगाल्न सकियो भने अर्थात् सम्झौता गर्न सकियो भने जहाँ पनि आत्मीयता र स्नेह भेटिन्छ।

४. तपाईंका दुवै कृतिमा सशस्त्र द्वन्द्वका आफ्नै भोगाइलाई विषयसन्दर्भ बनाउनुभएको छ। अहिले त उक्त द्वन्द्वले तार्किक निष्कर्ष पायो भन्ने भाष्य निर्माण गरिएको छ। उक्त विद्रोहले परिकल्पना गरेअनुरूप देश अगाडि बढेको छ त?

सशस्त्र द्वन्द्वले केही परिवर्तन त अवश्य ल्याएको छ तर जति हुनुपर्ने हो, त्यति भएको छैन। त्यसमा पनि जति काम भए, केहीका लागि मात्रै भए। हामी आम जनताका लागि त्यो हुँदै भएन। विद्रोहले परिकल्पना गरेको देश, समाज छुट्टै थियो, निष्कर्षमा आउँदा परिकल्पनाअनुरूपको देश, समाज बनेन। परिवर्तन त भयो तर उक्त परिवर्तनको स्वाद सबै नेपालीको भागमा परेन।

५. छापामार भएर सशस्त्र युद्धमा होमिँदाका लेख्न बाँकी अनुभव केकस्ता छन्?

लेख्न बाँकी विषय त धेरै छन् तर ठ्याक्कै लेख्न सकिरहेको छैन र पनि त्यस बेलाका  हामीजस्ता  महिला कार्यकर्ताबारे लेख्न मन छ। कतिपय अवस्थामा महिला भएकै कारण चारित्रिक हिसाबमा अझै पनि समाजका एक तप्काले औंला उठाउने गर्छन्। तत्कालीन युद्धकालीन अवस्थामा पार्टीभित्र महिलालाई गरिने सद्भाव र स्नेहको कथा लेख्न मन छ।

६. पुस्तक प्रकाशन गर्दा केकस्ता सहजता÷असहजता भोग्नुपर्छ लेखकलाई?

मेरा दुवै किताब ‘छापामार युवतीको डायरी’ र ‘आफ्नोपन’ प्रकाशनका क्रममा सबैतिरबाट सद्भाव र सहयोग पाएको कारण मलाई कुनै पनि किसिमको असहजता महसुस भएको छैन। त्यसका लागि रत्न पुस्तक भण्डार र साझा प्रकाशन  प्रति आभारी छु।

७. नेपालमा लेखेरै जीवन निर्वाह गर्न सकिन्छ? साहित्य लेखनलाई पेसा बनाउने कि परिचयको माध्यम मात्र?

पाठकको रुचि बुझेर निष्पक्ष तरिकाले लेख्न सकियो भने जीवन जिउन सहज पक्कै हुनेछ तर लेखेरै जीवन निर्वाह गर्न सकिन्छ जस्तो त अहिले मलाई चाहिँ लाग्दैन। तर साहित्य लेखनले मलाई परिचय दिएको छ। कतिपय स्थानमा त्यही परिचयले जीवन जिउन धेरै सहज बनाएको छ।

. राजधानीबाहिर बसेर लेख्न सहज नै रहे पनि प्रकाशनमा जटिलता छ भन्ने चर्चा चलिरहन्छ। साहित्य लेख्न अनि प्रकाशन गर्न राजधानीबाहिर र भित्र रहनुमा केही अन्तर छ कि छैन?  

हामी सोच्छौं राजधानी भनेको राजधानी नै हो। हुन पनि सबै थोक छ राजधानीमा। अहिले पनि ससाना काम गर्न समेत हामी राजधानीमै ठोकिनुपर्छ। यो त साहित्यमा पनि लागु भएको छ। राजधानीबाहिर पनि राम्रा प्रकाशन गृहहरू छन् अहिले तर हाम्रो मानसिकतामा राजधानी नै बसिदिन्छ सधैंभरि। समयले साथ दिए मेरो अर्को पुस्तक सायद राजधानीबाहिरबाट प्रकाशित हुनेछ। हाम्रो राजधानी भन्ने मानसिकताबाट मुक्त हुन जरुरी छ।

९. लेखनका लागि अरू सर्जकका कृति कत्तिको पढ्नुपर्छ? पछिल्लो समय पढेको पुस्तक कुन हो?

म लेख्नलाई भनेर अरू सर्जकका पुस्तक कहिल्यै पनि पढ्दिनँ। मैले केही लेख्नु छ भने केही समय चुपचाप बस्ने हो। म लेख्नुअघि कुनै पुस्तक, लेख पढ्दिनँ । मेरो लेखनको स्वाद मेरै कलमको, शब्दको होस् भन्ने चाहन्छु। जति लेखे पनि आफ्नै शैलीमा लेखूँ जस्तो लाग्छ।

मैले पछिल्लोपटक देवी क्षेत्री दुलालको ‘चिफ कर्णेल गजराज सिंह थापा’ पढेँ र अहिले ईश्वर पोखरेलको  ‘आमा, सपना र ताराहरू’ पढ्दैछु।

१०.अहिले के लेख्दै हुनुहुन्छ? नयाँ लेखकलाई साहित्य लेखनमा सहज होस् भन्ने हेतुले केही सुझाव दिनुहुन्छ कि।

अहिले म कथाहरू लेख्दैछु। नयाँ लेखकहरूलाई मनले लेख्नुस्, हृदयको मसीले लेख्नुस्, बिस्तारै शब्दहरूले आफ्नो स्थान आफैं बनाउँदै जान्छन् भन्न चाहन्छु।

प्रकाशित: २६ माघ २०८१ १३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App