१) भाषण
आफ्नै गाउँका नेता मन्त्री भएपछि हर्के खुबै खुसी भयो। गाउँमा आमसभा हुँदै छ भन्ने खबर पाएपछि ऊ घरबाट कार्यक्रम स्थलतिर निस्किन खोज्यो। उसकी श्रीमतीले रोक्दै भनी, 'मन्त्रीलाई हाम्रो ठाउँको बाटो किन पिच नगरेको भनी प्रश्न गर्नु ल।'
ऊ उत्साहित भयो। ऊ हस् भनेर हिँड्यो। कार्यक्रमस्थल पुग्दा उसले निकै चहलपहल देख्यो। उसको भेट गाउँका अर्का नेता धनेसँग भयो। ठुलै कार्यकर्ता भनेर चिनिने धने मगरको रवाफ छुट्टै थियो।
हर्केले मन्त्रीसामु राख्नुपर्ने प्रश्न धनेसामु राख्यो र चउरमा गई गमक्क फुलेर बस्यो। केहीछिनमा माननीय मन्त्रीज्यूको आगमन भयो। भाषण सुरु भयो। मन्त्रीको अरू कुरा हर्कले बुझेन र बुझ्न पनि चाहेन। मन्त्रीले भाषणमा बाटो पिच गर्ने कुरा गरे। हर्केले कान थापी मन्त्रीको कुरा सुन्यो।
मन्त्रीले भने, 'यो बाटो चार वर्षअघि नै पिच हुन्थ्यो। तर - यहाँका गर्भवती महिला तथा गाउँका मानिसका लागि पिच नगरेको हो।
२) बाटो
पिच नभएको कारण यहाँका महिलाले बाटैमा बच्चा जन्माउने गरेका छन्। यसरी बाटामा बच्चा जन्मँदा अस्पताल पुर्याउनु पर्दैन। यहाँका मानिसको हस्पिटलको खर्च पनि बचिरहेको छ।'
सबैले ताली बजाए। हर्केले पनि जोडजोडले ताली बजायो। कार्यक्रम सकिएपछि हर्के घर फर्कियो।
उसकी श्रीमतीले सोधी,'मन्त्रीले के भने त?"
उसले बिस्तारमा सबै कुरा सुनायो। उसको कुरा सुनेपछि उसकी श्रीमतीले रिसाउँदै भनी, 'थुइक्क! मेरो लोग्ने! मेरो अप्रेसन गरेर फर्कंदा टाँका छिनेर फेरि सदरमुकाम गएको बिर्सियौ होइन?"
खुसी आगो फुक्दै चमेलीले लोग्नेलाई सुनाइन्, 'चामल, नुन, मसला अब एक महिनालाई पुग्ने भयो। अर्को महिना क्यार्ने हो नि?"
अगेनाको छेउमा बसेर तमाखुको सर्को तान्दै लोग्नेले भन्यो, 'तँ चिन्ता नगर्। भुराका पेट पाल्न दैवले बाटो लाम्चन्। चुनाव त एउटा नेताले जितिहाल्छ। त्यसपछि देखा जायगा।"
मसक्क मस्किँदै चमेलीले भनी, 'सबै दलका नेतासँग पैसा लिएर चामलसामल जोडियो। साँच्चै भोटचाहिँ कसलाई दिने हो? पाँच वर्षअघि दुइटा मात्र दल थिए। घर धान्नै गाह्रो थियो। धन्न प्रभु। यसपालि पाँचओटा दल हुनाले एक महिनाको रासन पुऱ्याउन सक्यौं।"
'ठुला कुरा नअर्। भात पस्की।', चमेलीको लोग्नेले हुक्का पन्छाउदै भन्यो।
भात खाएपछि छोराले आमालाई सोध्यो, 'आमा! भोट दिने भनेको पैसा दिने मान्छेको घरमा काम गर्न जाने हो?
चमेलीले झोक्किँदै भनी, 'तेरो बाउलाई सोध।'
बाबुले भन्यो, 'काम गर्न जाने हैन। तिमार्को स्कुलाँ गर कागजाँ छाप लाउने हो।'
सानी छोरीले भनी, 'बा। सधैं कागजौँ छाप लाउन जानु है। तपाइँले छाप लाए, हाम्ले चामलको भात र बङ्गुरको मासु खान पाउँछौं।"
३) विश्वकप
'बाको अक्सिजन सिद्धिएछ। नजिकै पाइन्छ। जाऊ, सिलिन्डर भरेर ल्याऊ।', आमाले छोरालाई अह्नाइन्।
'अहिले औषधी खुवाएर सुताउनू न। अहिले मेरो समर्थकको फुटबल खेल छ। सिद्धिएपछि ल्याउँला नि ", उसले आमासँग आग्रह गयो। लामो श्वास तानेर आमा बाहिरिन्।
खेल सकिएपछि ऊ सिलिन्डर लिन बाबुको कोठामा जाँदै थियो। आमा रोएको आवाज उसले सुन्यो। ऊ हत्तारहत्तार बाबुको कोठामा पस्यो। मानिस रोएको सुनेर आएका सबै छिमेकी र गुठियार मलामी भइसकेका थिए। आमाको कोलाहलले घरको वातावरण रुवाबासीमा परिवर्तन भयो। ऊ पनि डाँको छाडेर रुँदै जसोतसो आफूलाई सम्हालेर घाटमा पुग्यो।
घाटमा पुगेपछि उसको निराश अनुहार देखेर काकाले भन्नुभयो, 'हेर् बाबु। यो संसार यस्तै हो। जन्मेपछि सबैले जानु नै पर्छ। अब पिर गरेर हुँदैन। घरपरिवार सम्हाल्नुपर्छ। बा थल्लिएका पनि धेरै भएको थियो। हामी छौं नि, तेरा बापछिका बा!'
'हो, काका! बा बिरामी थिए। गए, केही भएन। तर मेस्सीको पेनाल्टी मिस हुँदा अर्जेन्टिनाले विश्वकप हार्नुपर्यो। म आफ्नै समर्थकको हार कसरी सहन गर्न सक्छु र?"
भतिजको कुरा सुनेर काका रिसले अनियन्त्रित भए। उनले सबैका सामु भतिजलाई एक चडकन दिए। काकाले दिएको चडकनको रन्को उसका गाला र मन दुवैमा पन्यो। उसले आँखाबाट तुरुक्क आँसु झार्याे।
४) मर्चा
बलराम लामा समथर फाँट घुमेर घर फर्के। उखरमाउलो गर्मी भएकाले उनले खुइऽऽय सास फेरे अनि पिँढीमा थ्याच्च बसे। घरमा पालेको बिरालो घाइते भएर उनकै अगाडि आएर लड्यो।
उनले सोचे, 'सायद कुकुरले झम्ट्यो होला।'
उता भान्साबाट रमिला फतफताउँदै बाहिर निस्किन् र भनिन्, 'अलिकति पनि बाँकी नराखी त्यत्रो मर्चा सखाप पारेछ। घरमा बिरालो पालेर के गर्नु? व्यर्थ खानको मात्र काल भयो।"
मर्चा बेचेर घरको गुजारा चलाउने उनीहरूले तनाव महसुस गरे। उनीहरू गन्थन गर्दै थिए। जोईको नजर ढलेको बिरालामाथि पर्यो।
उनी नजिक गएर कराइन्, 'यो पड्केलाई के भएछ? मुसा मार्ला भनेको त यहाँ पो ढल्किएर सुतेछ।'
जोई कराइरहेकी थिइन्। पोइ भने मुसुमुसु हाँस्दै थिए। आफूले रिसाएर कराउँदा लोग्ने हाँसिरहेको देखी उनले सोधिन्, 'किन हाँस्यौ हँ?"
उसले भन्यो, 'मर्चा लागेपछि मान्छेले मान्छेलाई त गन्दैन। अब मुसाले खाएपछि बिरालो बाँकी रहन्छ त?
५) जवानी
उनले आफ्नो लामो समय राजनीतिमै सङ्घर्ष गरेर बिताइन्। उनले राजनीतिमा नेता बन्नका लागि सर्वस्व सुम्पिन्। उनले जति समय दिए पनि पद हात पारेकी थिइनन्। पालो नआउँदा उनी निराश भइन्। उनले हिम्मत हारेकी थिइनन्। उनले आफ्नो पालो कुरिरहिन्। चुनाव आयो। टिकट पाउनका लागि सबैले जसो उनले दौडधुप गरिन्। उनको टिकट पाउने सम्भावना कमजोर हुँदै गयो। एकदिन उनी छोरीलाई साथमा लिएर नेताको घर पुगिन्। लामो सल्लाह भयो। गुनासो भयो। गरेका कामको मूल्याङ्कन भयो।
अन्तिममा नेताले भने, 'यसपटक तपाइँलाई टिकट दिन सकिँदैन।'
उनले रुवाइको स्वरमा भनिन्, 'मैले यत्रा वर्ष ओछ्यान बनेको बिर्सनुभयो?"
'मैले पनि तिमी जस्ती अयोग्यलाई यहाँसम्म लेराएको बिर्सियौ?", नेताले भने।
उनले अड्डी लिइन्, 'यसपालि मलाई जसरी पनि टिकट चाहिन्छ। अन्तिममा उनले छोरीलाई भनिन्, 'हिँड छोरी।'
नेताले छोरीतिर आँखा बढाए।
उनले सोधे, 'यी तिम्री को हुन्? यिनी कति वर्षकी भइन्?'
'मेरी छोरी हुन्। अठार वर्ष पूरा भइन्।" नेताले थुक निल्दै भने, 'त्यसोभए ल ठिक छ। यसपालि तिमीले टिकट पाउँछ्यौ। चुनावको तयारी गर।
-रामराजा के.सी. ( कथाकार केसीकाे लघुकथासंग्रह 'कुहिराेभित्र'मा संगृहीत)
प्रकाशित: २१ माघ २०८१ १३:३७ सोमबार