टेबलको घण्टी बजेपछि कार्यालय सहयोगी ढोकामा देखापरे। उसलाई दुई कप चिया ल्याउन लगाइयो।
‘नयाँ प्रोजेक्टको काम कस्तो भैरहेको छ सर।’ उहाँले सिनियर इन्जिनियरलाई सोध्नुभयो।
‘म भोलि रिपोर्ट बुझाउँछु। मेहनत गरिएको छ। राम्रो बन्छ सर प्रोजेक्ट। त्यो क्षेत्रमा कायापलट नै ल्याउँछ सम्पन्न भए पछि।’ सिनियर इन्जिनियरले भन्नुभयो।
‘त्यसैले त तपाईं जस्तो मेहनती र विद्वानलाई जिम्मा लगाएको हो यो प्रोजेक्टमा।’ उहाँले भन्नुभयो।
‘स्पेसिफिकेसन र कस्ट इस्टिमेट्मा मेहनत गरिएन भने पछि डामाडोल हुन्छ। त्यसैले धेरै अध्ययन गरिएको छ’ भन्दै सिनियर इन्जिनियरले कार्यालय सहयोगीले ल्याइदिएको चियाको कप हातमा लिनुभयो।
उहाँले आफ्नो टेबलको घर्रा खोलेर करिव पन्ध्र बीस पेजको सानो रिपोर्ट सिनियर इन्जिनियरतर्फ बढाउदै भन्नुभयो, ‘स्पेसिफिकेसन र कस्ट इस्ट्मेटमा यो पनि एडजस्ट गर्नुपर्ने भयो।’
उहाँले दिएको कागज सरसर्ती हेरेपछि सिनियर इन्जिनियरलाई वर्तमान परियोजनासँग कुनै सम्बन्ध नभएको जस्तो लाग्यो। परियोजनको लागत बढ्ने र परियोजनाले लक्ष्य गरेको वर्गभन्दा अन्यलाई फाइदा हुने देखे पछि इन्जिनियरले भन्नुभयो, ‘करिव अन्तिम चरणमा पुगिसक्यो। कसरी गर्नु सर?’
‘जसरी भए पनि मिलाउनुपर्यो बरु रिपोर्ट दुईचार दिन ढिलो होस्।’ उहाँले हल्का दबाब दिनुभयो।
‘कहाँबाट आयो सर यो रिपोर्ट?’अनुमान भए पनि प्रश्न सोधियो।
चियाको अन्तिम घुट्को पिए पछि उहाँले भन्नुभयो," मन्त्रीज्यूले दिनुभएको।’
प्रकाशित: २० माघ २०८१ १३:३३ आइतबार





