"तँ?" हिंड्दा हिंड्दै उसको जिज्ञासा खस्यो।
"म!" गर्वका साथ चोर औंलाले नाकको चुच्चो छुँदै बोलें।
"होइनस्! त्यो त तेरो नाक हो।" उसको प्रतिक्रिया ओकलियो।
"यी!" मैले छातीमा दाहिने हातको लपेटो बजारेँ।
"होइन-होइन! त्यो त तेरो छाती हो" ऊ बोल्यो।
मैले दुवै हातले टाउको समाएँ र म भएको संकेत गरें।
"त्यो त तेरो टाउको पो त" उ पुनः उत्तर भयो।
मैले टाउकोदेखि पैतालासम्म हातले छोएँ र उसको अनुहारमा नियालें।
"त्यो त तेरो शरीर हो" उसको बाजा सुमधुर आवाजमा बजिहाल्यो।
म सागरको भुमरीमा फसेको लौरो जस्तो भएँ तापनि निष्कर्ष निकालेको जस्तो हँसिलो भएर भनें, "आत्मा! मेरो आत्मा"
ऊ पड्किहाल्यो, "त्यो पनि तेरो आत्मा हो। तेरो शरीरको स्नायुतन्त्रको केन्द्रका रूपमा रहेको मस्तिष्कबाट प्रस्फुरित भएको ऊर्जा हो। तँ होइनस्!"
मैले मलाई चिनेको रहेनछु। अनि उसैसँग सोधें, "तैले नै भन, म को हुँ?"
"तँ? सँगै जन्मेको र सँगै मर्ने तेरो शरीर र तेरो आत्माको संयुक्त नाम होस्।"
प्रकाशित: १७ माघ २०८१ १४:०४ बिहीबार