२० पुस २०८२ आइतबार
image/svg+xml
कला

पोखरामा ७ वटा व्याण्डले एकैपटक प्रस्तुति दिने

ब्यान्डहरूको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा साङ्गीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यही माघ २६ गते शनिवार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल ७ वटा ब्यान्डहरूले प्रस्तुति दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुति रहनेछ ।

ब्यान्डहरूको राजधानी पोखराको विरासत फर्काउने गरी कार्यक्रम गर्न लागिएको आयोजक पोखरा साङ्गीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले बताए । कुनै बेला पोखरा ब्यान्डहरूको राजधानी थियो । ९० को दशकमा पोखराका ब्यान्डहरूले देश, विदेशमा आफ्नो कला र सङ्गीतमार्फत ध्यान तानेको थियो,उनले भने,‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरी एक पटक जुरमुराउने बेला आएको अनुभूति भएपछि त्यही विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौँ ।’ उनले सङ्गीतमार्फत विश्वको ध्यान फेरी एक पटक पोखरामा तान्न कार्यक्रम कोशेढुंगा साबित हुने उनको विश्वास छ ।

सुसुप्त अवस्थामा रहेका पुराना साङ्गीतिक ब्यान्डहरूको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई सङ्गीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिए पनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, सङ्गीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई सङ्गीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नु पनि कार्यक्रमको उद्देश्य हो ।’

कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनिल थापाले बताए । उनले भने,‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्नो सन्ततिलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ ।’

कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन भएर तयारी सुरु भइसकेको कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: १३ माघ २०८१ १७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App