राणाकालको दुरावस्थामा मधेसको दुर्गम गाउँमा जन्मिएको बालक उचित शिक्षादीक्षाबाट वञ्चित हुन्छ। र पनि सक्दो स्वअध्ययन गर्छ। किशोर अवस्था पार नलाग्दै उसको आँखाको ज्योति धमिलिन थाल्छ। धामीझाँक्रीदेखि ज्योतिषीसम्म, आयुर्वेदका वैद्य–कविराजदेखि त्यतिबेलाका नामुद चिकित्सकसम्म धाउँदा पनि गुमेको आँखाको ज्योति फर्कन्न। उमेरले २० नलाग्दै आँखालाई अन्धकारले लपेट्छ।
त्यसपछि ती युवकको बाँकी जीवन के भयो होला? उसले आफूलाई सम्हाल्न सक्यो कि सकेन होला? उसको जीवनलाई परिवार र समाजले कसरी लियो होला? एउटा अशिक्षित युवा, त्यसमा पनि नेत्रहीन ! कत्तिको बोझिलो भयो होला उसको जीवन?
झट्ट, पहिलो अनुमानमा आउने उत्तर पक्कै पनि निकै कठिन छ। उनको जीवन बन्द आँखाजस्तै अन्धकारमय नै गुज्रियो होला भन्ने कल्पनामा आउँछ। परिवार र समाजसँग पनि दयाभावबाहेक ऊसँग सम्झनलायक अथवा प्रेरणा लिनलायक त्यतिधेरै स्मृति नभएकै होलान् भन्ने लाग्छ। यस्तै कथासहित अपवाद बनेर अमर जीवन बिताएका एक पात्र हुन्, स्व. सदानन्द झा।
सदानन्द झा एक भुइँमान्छे हुन्, कुनै विशिष्ट व्यक्ति होइनन्। तर, उनले जुन समाज, परिवेश, अवस्थाबाट आफ्नो जीवन गुजारे, मिहीन ढंगले हेर्दा त्यो विशिष्ट छ। युवा उमेरमा दृष्टि गुमाउँदा पनि उनी जीवन हारेनन्, बरु परिवार र समाजका दृष्टि बने, स्वप्नद्रष्टा बने र एक उज्यालो भविष्यतर्फ डोरिइरहे।
तीनै दृष्टिविहीन सदानन्द झाले उज्यालो जीवनतर्फ डो¥याएका एक पात्र इन्जिनियर सुनीलकुमार झा पनि हुन्। सुनील सदानन्दका भाइका छोरा हुन्। उनी सिस्को सर्टिफाइड नेटवर्किङ इन्जिनियर हुन्। जो विश्वकै कठिन परीक्षा मानिने सिस्को सर्टिफाइड इन्टरनेटवर्क एक्सपर्टको प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली हुन्। हाल अमेरिका मेरिल्यान्डमा आइटी विशेषज्ञका रूपमा कार्यरत छन्।
सुनीलले आफ्नो सफलताको श्रेय उनै दृष्टिविहीन ठुलोबुबा सदानन्दलाई मानेका छन्। उनकै स्मृतिमा सुनीलद्वारा लिखित ‘देशको पीडा, विदेशको पीर’ पुस्तक हालै प्रकाशित भएको छ।
जीवनको भयानक दलदलबाट उठेर सदानन्द परिवारको बोझ होइन, प्रेरक बने। समाजको नायक बने। सुनीलकुमारले किताबमा उल्लेख गरेअनुसार आफूलाई सुदृढ बनाउने क्रममा रेडियो सुनेरै बढी शिक्षा लिएका थिए।
किताबअनुसार २००५÷६ सालतिर गाउँकै एक जमिनदारको घरमा रेडियो रहेछ। ती जमिनदारका छोरासँगको संगतकै कारण सदानन्द दिनहुँ रेडियो सुन्न उनको घरमा गइरहन्थे। त्यही रेडियो सुनेर देशविदेशका खबरबारे जानकारी लिने, धर्म दर्शन, समाज र राजनीतिबारे ज्ञान लिने काम गरे। रेडियोबाटै रामायण, महाभारतबारे शिक्षा लिए।
रेडियोबाट पाएको शिक्षाले सदानन्दमा जीवन दर्शन, ज्ञान, विद्या र चेतनाको विकास भइसकेको थियो। उनी त्यसपछि एक कवि, कुशल वक्ता, नीतिज्ञ र गुरुका रूपमा गाउँघरमा स्थापित भइसकेका थिए। उनी मौखिक रूपमै कविता रचना गर्न सक्थे, उनका कविता संग्रह पनि प्रकाशन भएका छन्। उनका कैयौं फुटकर कविता पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। सदानन्दले जीवनभर करिब तीन हजार कविता कोरेको विषय पनि पुस्तकमा छ। चेतनाको विकास भइसकेपछि दृष्टिविहीन सदानन्दले परिवारलाई सही बाटोमा डो¥याउन थालेको प्रसंग पनि सुनीलकुमारले लेखेका छन्।
सुनीलका अनुसार सदानन्द रामभक्त थिए। उनलाई रामायण कण्ठस्थ थियो। रामायण, महाभारतजस्ता धर्मशास्त्र र दर्शनबारे उनी लामो प्रवचन दिनसक्थे। विभिन्न किसिमका दन्त्यकथा, साहित्य र अनुभवमा जीवनको अर्थ खोजेर विश्लेषण गर्नसक्थे। त्यसबाट मानवले लिनुपर्ने शिक्षा र नैतिक आदर्शबारे परिवार र समाजलाई सिकाइरहन्थे। एक दृष्टिविहीन व्यक्ति आफ्नो परिवारको नायक र जग रहेको सुनीलकुमारले उल्लेख गरेका छन्।
७९ वर्षको उमेरमा २०६६ माघ १९ मा सदानन्दको निधन भयो। झन्डै ६ दशक दृष्टिविहीन अन्धकारमा बिताएका सदानन्दले कहिल्यै आफ्नो जीवन बाँचेनन्, न कसैको बोझ बनेर बाँचे। बरु अर्काको जीवनमा उज्यालो दिने काममा तल्लीन रहेको कुरा सुनीलको किताबभरि उल्लेख छ।
‘खोला तर्ने, लौरो बिर्सने’ नेपाली समाजमा चर्चित उखान हो। यो उखानले भनेजस्तै आफू सफल भएपछि त्यो सफलताका सारथीहरू बिर्सने प्रवृत्ति नेपाली समाजको विडम्बना पनि हो। ‘देशको पीडा, विदेशको पीर’ कृतिमा इन्जिनियर सुनीलले भने त्यो उखानलाई बलियोसँग खण्डन गरेका छन्। उनले यो किताबमा आंशिक रूपमा आफ्नो जीवन संघर्ष र सफलताका पाटाहरू केलाएका छन्। जसमा अधिकांश पाटामा ठुलोबुबा सदानन्दको प्रेरणालाई छचल्काएका छन्। आधारभूत शिक्षादेखि, नैतिक शिक्षा, विद्यालय डो¥याउनेदेखि इन्जिनियरिङ पढाउनेसम्मका निर्णयमा सदानन्दकै भूमिका उनले उल्लेख गरेका छन्।
सीताभूमिमा जन्मिएका सुनीलको किताबभर रामायण पनि भेटिन्छ। जुन उनकै कविचेत भएका ठुलाबुबा सदानन्दको प्रेरणाका अंश पनि हुन्। उनले हरेक खण्डमा रामायणकै श्लोक राखेर सुरु गरेका छन्। किताबमा रामायणबाहेक महाभारतजस्ता धर्मशास्त्रदेखि मिथिला संस्कृतिका अनेकौं कथाको उपस्थिति पनि भेटिन्छ। जसमा गोनु झाका कथा र ती कथाले दिने सन्देश पनि छुटेका छैनन्।
एक सफल व्यक्ति हुनका लागि के के चाहिन्छ ? परिवारको साथ, नैतिक शिक्षा, प्रेरणादायी पात्र, सही मार्गमा डो¥याउने अभिभावक, समाजको सहयोग र आफ्नो प्रचुर संघर्ष। यिनै कुराको संयोजनबाट आफू सफल आइटी एक्सपर्ट बनेको कुरा सुनीलले यो किताबमा भन्न खोजेका छन्।
विज्ञानको मात्रै पछि दौडिरहेको पुस्ताका लागि पनि महŒवपूर्ण खुराक यो किताबमा दिएका छन्। स्वयं आधुनिक विज्ञानको खोजमा दौडिरहेको एक इन्जिनियरले आफ्नो जीवन संघर्ष र सिकाइमा रामायण, महाभारत कथाको अर्थले दिने सहयोग, जीवनमा धर्मको भूमिका, ईश्वरको देन र मेहनतबाट कसरी सफल हुन सकिन्छ ? भन्ने उदाहरण पनि दिएका छन्।
प्रकाशित: ५ माघ २०८१ १०:१२ शनिबार