५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

मैदानभित्र पुष्पकमल दाहालले प्रवेश नपाएपछि...

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको बाहिरबाट निरीक्षण गरेका छन्। 

विराटनगर महानगरपालिका–१९ स्थित क्रिकेट मैदानको दाहालले निरीक्षण गर्ने कार्यक्रम शुक्रबार (हिजो) तय भए पनि क्रिकेट मैदानभित्र प्रवेश गर्ने मूल ढोकामा लगाइएको चाबी नखोलेपछि बाहिरबाटै निरीक्षण गरेर फर्किए। उनले मैदानको बाहिरबाटै अवलोकन गरेका छन्। पूर्वप्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रममा सम्बन्धित र सरोकारवालाले बेवास्ता गरेका कारण मैदान प्रवेश नगरी दाहालले ढोका बाहिरबाट निरीक्षण गर्नु परेको थियो।  

दाहाल मैदान पुग्नुअघि नै माओवादीका स्थानीय नेताहरू फूलमालासहित पुगे पनि उनीहरूले मूल ढोकामा लगाइएको चाबी कोसँग छ भन्ने यकीन गरेनन्। माओवादीका स्थानीय नेताले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग फोन सम्पर्क गर्दा मैदान रुग्न बसेको एक वृद्धसँग चाबी छ भनेका थिए। तर, उनीहरूले ति वृद्धसँग कुरा गर्दा चाबी क्रिकेटवालाहरूले लग्ने गरेको र आफूलाई नदिएको बताएपछि उनीहरू थप दबाबमा परेका थिए।  

पूर्वप्रधानमन्त्री मैदान आइपुग्ने समय भइसक्दासमेत चाबी कोसँग छ भन्ने यकीन नभएपछि केही माओवादी नेताहरूले चाबी फोड्ने कुरा गरे पनि केहीले 'अरूले लगाएको चाबी फोड्न हुँदैन। यो चाबी फोडेर अध्यक्ष कमरेडलाई भित्र लगियो भने पत्रकारहरूले फेरि समाचार बनाउने र अध्यक्षमाथि प्रश्न उठ्न सक्ने भएकाले बाहिरबाटै नै निरीक्षण र अवलोकन गराउनु पर्छ' भने।  

क्रिकेट मैदानको मूल ढोकामा लगाइएको चाबी केहीले फोड्ने र केहीले नफोड्ने कुरा भइरहँदा बिहान १० बजेको समयमा पूर्वप्रधानमन्त्री दाहाल मैदान पुगेका थिए। उनी पुग्दै गर्दा एक जनाले चाबीमा ढुंगा प्रहार गर्दै गर्दा एक जना माओवादी स्थानीय नेताले 'भइहाल्यो अध्यक्षज्यू आइपुग्नु भयो, अब चाबी नफोड्यौं' भनेपछि रोकियो।  

यसपछि क्रिकेट मैदानको मूल ढोकाको चाबी नखुलेपछि पूर्वप्रधानमन्त्री दाहालले मैदान बाहिरबाट निरीक्षण र अवलोकन गरेर फर्के।  

मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबु साद कुरिसीले पूर्वप्रधानमन्त्री दाहाल मैदानको निरीक्षण गर्न आउने कार्यक्रमबारे आफूलगायत क्रिकेट संघ वा अन्य क्रिकेटका व्यक्तिलाई जानकारी नभएको बताए। उनले भने, 'पूर्वप्रधानमन्त्री मैदानमा आउने थाहा पाएको भए हामीहरू सबै जना बिहानै मैदान पुगेर चाबी खोल्ने मात्रै नभई हाम्रो समस्या प्रत्यक्ष रूपमा राख्न पाउने थियौं।' 

'क्रिकेट संघका लागि यो जस्तो राम्रो अवसर कहाँ हुन्थ्यो। पूर्वप्रधानमन्त्री दाहालसँग प्रत्यक्ष संवाद गर्ने र हामीले भोगी रहेका समस्या सुनाउन पाउने,' अध्यक्ष बाबुले भने, ‘क्रिकेट संघका केन्द्रीय अध्यक्षसहितको टोली शुक्रबार मोरङको विभिन्न स्थानमा रहेका क्रिकेट मैदानको अवलोकन गर्दै सुनसरी हुँदै शुक्रबार बेलुका झापा आइपुगेका छौं। मैदानको चाबी घरमै छाडेको थिए। पूर्वप्रधानमन्त्री आउने थाहा पाएको भए चाबी लिएर बिहान आफू नआइपुगे पनि संघका पदाधिकारी आउने थिए।’

क्रिकेट क्युरेटर शिरिष उपाध्यायले मैदान प्रवेशको मूल ढोकाको चाबी पहिले क्युरेटरको हैसियतले आफूसँग हुने गरेको जानकारी दिए। तर, पछिल्लो समय क्रिकेट संघका पदाधिकारीले आफूसँग चाबी लगेको बताए। 'मैदानको चाबी मसँग हुनुपर्ने हो, तर क्रिकेट पदाधिकारीले चाबी लगेपछि खेल हुने समयमा मात्रै मैदान व्यवस्थापन गर्ने गरेको छ,' उपाध्यायले भने।

क्रिकेट रंगशाला पूर्वप्रधानमन्त्री दाहाल प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवअन्तर्गत बहुवर्षीय योजनामा राखेर बजेटसमेत विनियोजन गरेका थिए। पूर्वप्रधानमन्त्री दाहालले मैदान बाहिरबाट निरीक्षण गरेपछि उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग रंगशालाका विषयमा जानकारी लिएको र डिपिआरलगायतका काम सम्पन्न भएको बताए। उनले चाँडै रंगशाला बन्नेसमेत बताए।

प्रकाशित: ५ माघ २०८१ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App