५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

८४ को निर्वाचनमा रास्वपाले कम्तीमा १५० सिट जित्छ: परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आगामी २०८४ सालको निर्वाचनमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन्।

शनिबार चाँगुनारायण नगर समिति वडा नं-५ को प्रथम ऐतिहासिक वडा अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित परियारले रास्वपालाई जनताले आशा र भरोसा राखेको पार्टीको रूपमा चित्रण गरे। साथै, उनले समावेशी र समतामूलक समाज निर्माणमा रास्वपाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

परियारले मुलुकमा समावेशिताको अभावका कारण नै प्रगतिशील समाज निर्माणमा अवरोध भइरहेको बताउँदै रास्वपाको विचार र सिद्धान्त जनताले स्वीकारेमा अन्य कुनै पनि दल ठूलो पार्टी बन्न नसक्ने दाबी गरे।

अधिवेशनले राजु भण्डारी क्षेत्रीको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको छ। समितिमा ज्योति लामिछाने उपाध्यक्ष, निपेश भण्डारी सचिव, र ज्ञानकिशोर केसी, सुजिता भण्डारी (बुढाथोकी), तारा कम्मर, पूजा भण्डारी, रामप्रसाद हाकजु र सरोज नेपाली सदस्यका रूपमा निर्वाचित भएका छन्।

यस्तै, चाँगुनारायण वडा नं-४ मा पनि वडा अधिवेशन सम्पन्न भएको छ। यस वडामा केशव खनालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ। समितिमा कृष्ण मगर उपाध्यक्ष, नवराज न्यौपाने सचिव र गोविन्द तामाङ, भुवन बजागाईं, रत्नलाल भडेल, गंगा केसी, लक्ष्मी देवकोटा खनाल र जुना खनाल सदस्य रहेका छन्।

पार्टीको सदस्यताको आधारमा चाँगुनारायण नगरपालिका वडा नं-५ रास्वपाको सबैभन्दा बलियो आधार रहेको वडा मानिएको छ। नगर सभापति रोशन थापा पनि यही वडाका बासिन्दा हुन्।

थापाले विकृति, विसङ्गति र बेथितिको विरोधमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् भने नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रशिक्षक पनि हुन्।

प्रकाशित: ५ माघ २०८१ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App