७ माघ २०८१ सोमबार
image/svg+xml
कला

‘तुइन जिन्दगी’ मा अभिव्यक्त नारी स्वर

पुस्तक

रेणुका सोलु नेपाली साहित्यको क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा आफ्नो पहिचान बनाएकी सशक्त नारी स्रष्टा हुन्। नेपाली साहित्यको उत्तरवर्ती चरणमा देखापरेकी सोलुका भीरमह (२०७३), चिराक (२०७५), आदि उपन्यास, अस्तित्वको खोजी (२०७०) कथासङ्ग्रह, सङ्घर्षका पाइला (२०७६), अवसरको सगरमाथा (२०६९) आदि गजलसङ्ग्रह र उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्रमा नीतिचेतना (२०७०) समालोचनाकृति–लगायत थुप्रै फुटकर लेखरचना, समीक्षाहरू विभिन्न पत्रपत्रिका र अनलाइन साहित्यिक पत्रिकामा प्रकाशन भएका छन्।

यिनका कृतिहरूको अध्ययन गर्दा समाजको यथार्थ चित्रण गर्नुका साथै सामाजिक, आर्थिक, राजनीतिक, लैङ्गिक, पहिचानका स्वर, अस्तित्ववादी चिन्तन, समानता र विभेदको अन्त्य, परम्परागत मूल्यमान्यताको विरोध, नारी अस्तित्वको खोजी, धर्म, समाज, संस्कृति, मनोविज्ञान, ग्रामीण एवं सहरिया परिवेश, नारीका आँसु, पीडा, व्यथा, वेदना, सङ्घर्ष र त्यागको चित्र प्रस्तुत गरेको पााइन्छ। यसका अतिरिक्त सामन्तवादी सोच, पितृसत्ता, विद्रोहका स्वर, नारीवादी चिन्तन, मानवीय मूल्यहीनता, प्रकृति, भूगोललाई प्रस्तुत गर्न सक्नु निबन्धकार सोलुको विशेषता रहेको छ।

एक मात्र संस्मरणात्मक निबन्धसङ्ग्रह तुइन जिन्दगी (२०८१)मा सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक, पारिवारिक अवस्थाको चित्रण गर्नुका साथै निबन्धकारले समाजबाट भोग्नुपरेका उपेक्षित भाव, सङ्घर्ष, बाध्यता, विवशता, विद्रोहात्मक सचेतना, नारीअस्तित्व, समानता, अस्तित्ववादी चिन्तन, लैङ्गिकता, नारी संवेदना, मनोविज्ञान, शरीर राजनीति, पहिचानका स्वर, धार्मिक विश्वास, नेपालीपन, सामाजिक एवम् सांस्कृतिक एकता, राष्ट्र, राष्ट्रियता, मातृप्रेम, पितृप्रेम, मानवतावादी चिन्तन, सहरिया एवम् ग्रामीण परिवेश, कानुनी शासन, वर्गीय विभेद, दर्शन, नारीउत्पीडनका पक्षमा वकालत गरेको पाइन्छ।

२. संरचनात्मक आयाम

रेणुका सोलुकृत तुइन जिन्दगी संस्मरणात्मक निबन्धसङ्ग्रहभित्र जम्मा १८ ओटा निबन्ध रहेका छन्। मध्यम आयामको प्रस्तुत कृतिजम्मा १६० पृष्ठमा आबद्ध रहेको छ। प्रस्तुत सङ्ग्रहभित्र लाहुरे भएर फर्कंदा, कुमारीको भुँडी, एउटी युवतीको जोखिमपूर्ण यात्रा, बुबा हुनुहुन्छ! बुबा हुनु हुन्न !!, प्राण नै सबथोक, सती जाने सौभाग्यहरू, भुँडीको मर्म, म छोरी हुँ, छोरी!, विवाहको भय, के छोरी के बुहारी!, रजोनिवृत्तिको असर, वैवाहिक बलत्कार, सम्बन्धका तीन आयाम, शोकमग्न यात्री, टिस्टा अब हाम्रो आमाघर, म नारीवादी, सम्बन्धको सौन्दर्य र शङ्काको आगो आदि संस्रणात्मक निबन्धहरू समेटिएका छन्।

यस सङ्ग्रहका शीर्षकहरू विविध आयामका रहेका छन्। यहाँ लामो आयामका ६ ओटा, मध्यम आयामका ५ ओटा र छोटा आयामका ७ ओटा संस्मरणात्मक निबन्धहरू रहेका छन्। यहाँ कुनै १६ पृष्ठसम्मका लामा छन् भने कुनै १०, १२ पृष्ठका त  कुनै ५,६ पृष्ठका छोटा रहेका छन् । यस सङ्ग्रहका निबन्धमध्ये ‘एउटी युवतीको जोखिमपूर्ण यात्रा’, ‘प्राण नै सबथोक’, ‘विवाहको भय’जस्ता निबन्ध उच्च कलात्मक मूल्यका रहेका छन् भने कुमारीको भुँडी लगायतका निबन्ध मध्यम खालका रहेका छन्।

३. बहुआयामिक चिन्तनका कसीमा ‘तुइन जिन्दगी’

तुइन जिन्दगी निबन्धकार रेणुका सोलुको संस्मरणात्मक निबन्धसङ्ग्रह भए पनि आत्मकथाका रूपमा आएको छ। आत्मसंस्मरण भए पनि प्रस्तुत कृतिभित्र बहुआयामिक चिन्तन प्रकट भएका छन्। यहाँ अस्तित्ववादी चिन्तन, लैङ्गिकता, पहिचान र विद्रोहका स्वर, नारी उत्पीडन, नारीवादी चिन्तन, शरीर राजनीति, समानता, मनोविज्ञानलगायतका पक्ष सशक्त रूपमा उजागर गरिएको छ। यहाँ यिनै मान्यताका आधारमा प्रस्तुत कृतिको सारसङ्क्षेपमा चर्चा गरिएको छ:

३.१ नारीवादी दृष्टिकोण

महिलाका सम्बन्धमा व्यक्त गरिने विचार, दर्शन, र राजनीतिक दृष्टिकोणलाई नारीवादी भनिएको पाइन्छ। नारीवादले वास्तवमा व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वले महिला र पुरुषका बीचमा गरेको भेदभावको तिक्त प्रभावका विरुद्ध छेडिएको आन्दोलनको नाम नै नारीवाद हो, जसले सामाजिक परिवर्तनको अभियन्ताका रूपमा आफूलाई सक्रिय बनाउँदै ल्याएको छ (त्रिपाठी, २०७६, पृ. २१०–२११)।

व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वमा नै महिला र पुरुषका बीचको विभेदका विरुद्ध सामाजिक परिवर्तनका पक्षमा सक्रिय आन्दोलन नै नारीवाद हो र यसले महिलालाई विषयको केन्द्रमा राख्दछ भन्ने मान्यता यहाँ अथ्र्याइएको छ। नारी र पुरुषका बीचमा विभेदको अवस्था सिर्जना गर्ने मूल कारक पितृसत्ता नै हो भन्ने नारीवादको ठम्याइ रहेको छ (अर्याल, २०७६, पृ. ४५)। यहाँ महिला र पुरुषका बीचको असन्तुलित शक्तिसम्बन्ध निर्माण हुनुमा पितृसत्ताकै प्रभुत्वको उपज हो र लैङ्गिक विभेदको मूल जरो, जग र शक्ति भएको कुरा बताइएको छ।

यसले सामाजिक, सांस्कृतिक, धार्मिक, पारिवारिक, कानुनी, पेसागत आर्थिक क्षेत्रमा देखिएका विभेद र उत्पीडनका विरुद्धमा समान अधिकार र अवसरका पक्षमा जागृत चेतनामा केन्द्रित रहेको छ । यहाँ यिनै मान्यताका आधारमा रेणुका सोलुको तुइन जिन्दगीमा कसरी चित्रण गरिएको छ भन्ने कुराको विश्लेषण गरिएको छ।

प्रस्तुत तुइन जिन्दगीमा निबन्धकारका जीवनभोगाइका अनुभव र अनुभूतिको सूक्ष्म चित्रण गरिएको छ। यस क्रममा पितृसत्तात्मक समाजमा निबन्धकारले छोरी भएकै कारण व्यक्ति, समाजमा भोग्नुपरेका अनेक विभेद एवम् उत्पीडनको चित्रण गरेकी छन्। उनले समाजमा महिला र पुरुषका बीचमा रहेको विभेदपूर्ण स्थितिका विरुद्धमा छोरी अर्थात् महिलाले पनि सामजिक संरचनामा समान नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्दै त्यसको अन्त्य र समान व्यवहारका पक्षमा विद्रोह छेडेकी छन्:

...छोरी पनि त लाहुरे हुन सक्दा रहेछन्! कमाउन अनि रमाउन सक्दा रहेछन्। फेरि किन छोरा नै  खोज्छ मान्छे? छोरीको अस्तित्वको बोध कहिले गर्छन्? किन छोरीलाई पढाउनु हुँदैन, लगानी खेर जान्छ  भन्छन्? छोरीमाथिको आस्था र विश्वास, आड र भरोसा कहिले गर्छन् ?इत्यादि सोचिरहेँ मैले। ( पृ. २५)

प्रस्तुत निबन्धांशमा नारीवादी मान्यता ल्याउँदै पितृसत्तात्मक समाजमा नारी र पुरुषका बीचको विभेदलाई देखाइएको छ। यस अंशमा समाजमा छोरी पनि छोरासरह लाहुरे बन्न सक्छन् भन्ने चिन्तन प्रस्तुत गरिएको छ। यहाँ निबन्धकारले छोरीले पनि छोरासरह कमाउन र रमाउन सक्छन् भन्ने उदाहरणीय पात्र बनेकी छन्।

समाजमा महिला वा छोरीले पुरुष वा छोरासरह समान अवसर पाए उदाहरणीय कार्य गर्न सक्छन् भन्ने निबन्धकारका दृष्टिकोण यहाँ अभिव्यक्त भएको छ। प्रस्तुत उद्धरणमा पितृसत्तात्मक समाजले छोरासरह छोरीको अस्तित्व कहिले स्वीकार गर्छ भनी प्रश्न गरेकी छन्। यस उदाहरणमा पितृसत्तात्मक समाजमा छोरीलाई पढाउनु भनेको लगानी खेर जानु ठान्ने गरेको बताउँदै नारी वा छोरीलाई निरीह प्राणीका रूपमा हेर्नेगरेको धारणा निबन्धकारका वैचारिक चिन्तनका रूपमा आएका छन्।

प्रस्तुत उद्धृतांशमा पितृसत्तात्मक समाजमा नारी वा छोरीमाथि आस्था, विश्वास, आड र भरोसाको अवस्थालाई कहिले स्वीकार गर्छन् भन्ने कुराको चिन्तन आफूले गरिरहेको निबन्धकारले बताउँदै पितृसत्ताका विरुद्ध सङ्घर्ष गर्न अभिप्रेरित गरेकी छन्। यसैगरी यस कुराको पुष्टि तलको संस्मरणांशले गरेको छ:

सत्ताको आधारस्तम्भ भनेको पूँजी रहेछ। सत्तामा पुग्न महिलाले पनि पूँजी आर्जन गर्नुपर्ने रहेछ। महिलाले हरेक श्रमलाई पूँजीमा रूपान्तरण गर्न दबाब सिर्जना गर्नुपर्ने रहेछ। यी सबै गर्न सक्ने साहस बटुल्न शिक्षाको आर्जन र संसारको अवलोकन अपरिहार्य रहेछ। सिन्दुर, पोते,टीका, चुराको घेराभित्र नै सुरक्षित छौँ, संरचित छौँ भनेर अल्झिरहनु भनेको एउटा मन्द तर सशक्त विषभित्र पौडी खेलिरहनु रहेछ। ( पृ. ७३)

प्रस्तुत संस्मरणात्मक अंशमा नारीवादी मान्यता ल्याइएको छ। यस क्रममा नारीमाथि विभेद, दमन र शोषणको नीतिलाई देखाइएको छ। यहाँ पितृसत्ता र पूँजीवादका सन्दर्भ ल्याउँदै लैङ्गिक शक्तिको मनोवैज्ञानिक रूप नै अर्थमा आधारित वर्ग–शक्तिका रूपमा निबन्धकारले चित्रण गरेकी छन्।

पूँजीवादले समाजनिर्माणको संरचनालाई आधारस्तम्भ मानेको हुँदा समयसँगै सत्ताको आधारस्तम्भ पूँजी हो भन्ने कुरा आज आएर निबन्धकारले बुझ्न थालेको चिन्तन यहाँ प्रस्तुत गरिएको छ। यस अंशमा पितृसत्तात्मक समाजको वर्गीय विभेदका विरुद्धमा पुरुषसरह महिलाले पनि सत्तामा पुग्न पूँजी आर्जन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

निबन्धकारले पूँजी नै विभेदको आधार भएको बताउँदै आर्थिक संरचनाले सधैँभरि पितृसत्तालाई बलियो बनाउने काम गरेको हुँदा महिलाले हरेक श्रमलाई पूँजीमा रूपान्तरण गर्न पितृसत्तात्मक समाजमा दबाब सिर्जना गर्नुपर्ने धारणा यहाँ अभिव्यक्त भएको छ।

यस उद्धृतांशमा यी सबैको आधारस्तम्भ शिक्षा र संसारको अवलोकन गर्नुपर्ने चिन्तन प्रस्तुत भएको छ। यस उदाहरणमा पितृसत्तावादी संस्कार र संस्कृतिका नाममा महिलामाथि हुने शोषण दमनको निबन्धकारले विरोध गर्दै नारीहरू आर्थिक हिसाबले दमनमा परेको बताउँदै महिलाले सिन्दुर, पोते, टीका, चुराले समाजमा बाँधिएको हुँदा यसमा सुरक्षित र संरक्षित छौँ भन्ने भ्रम पाल्नु पितृसत्ताले सिर्जना गरेको सशक्त विषभित्र पौडी खेल्नु भएको कुरालाई उजागर गरिएको छ। पितृसत्ताले निर्माण गरेको यस्ता विभेदकारी पर्खाल हटाउने मुख्य आधार नै पूँजी हो भन्ने कुरालाई यहाँ सङ्केत गरिएको छ। यसैगरी यस कुराको पुष्टि तलका निबन्धांशले गरेको छ:

परिवारभन्दा बाहिर गएर अधिकार कहाँ खोज्न मिल्ला र? अदालतले दिने न्याय निष्पक्ष कहाँछ र? छोरीको वशंज सोध्न खोज्दा म दाजुको नजरमा नारीवादी भएँ । हुन त नारीले नै नारीवादको ठेक्का लिएका हुन्छन् र! उनै दाजुलाई पुरुष बनाउने पनि त नारी नै हुन्। जङ्गली युगदेखि ढुङ्गे युग हुँदै झगडालु पुरुषलाई माया र सहभावको अंगालोमा बेरेर सामाजिक बनाउने नारी नै हुन्। पुरुषहरूको अस्तित्वरक्षा गर्ने पनि नारी। नारी स्वयम् रक्षार्थ रहँदा नारीवादी ? (पृ. १४०)

प्रस्तुत संस्मरणात्मक अंशमा नारीसम्बन्धी चिन्तन प्रस्तुत गरिएको छ। यस उद्धृतांशमा सामाजिक–सांस्कृतिक मूल्यद्वारा महिलामाथि हुने विभेदको यथार्थलाई परिवारभन्दा बाहिर खोज्न नसकिने धारणा प्रकट भएको छ। यस उदाहरणमा धर्म–संस्कृतिका नाममा पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीहरूलाई अधिकारबाट विभेद र वञ्चित गरिएकाले परिवारभन्दा बाहिर अदालतमा निष्पक्ष न्यायको अपेक्षा नभएको निबन्धकारका वैचारिक चिन्तन प्रस्तुत गरिएको छ।

निबन्धकारले छोरीको वंशज युगौँदेखि स्थापित पितृसत्ताद्वारा निर्देशित मान्यताका आधारमा महिलालाई पुरुषको अधिनस्थ बनाएको विचार प्रकट गर्दै आफूले छोरीको वंशजको बारेमा जिज्ञासा राख्दा दाजुका दृष्टिमा नारीवादी कहलिएको धारणा प्रस्तुत भएको छ। यहाँ नारीलाई नारीको अस्तित्व दिलाउने ठेक्का नारीको मात्र नभएर पुरुष वा दाजुलाई बनाउने पात्र पनि नारी नै भएकाले पुरुष नभएर पितृसत्तातर्फ निबन्धकारले सङ्केत गरेकी छन्।

दाजुलाई समाजको प्रतिनिधि पात्रका रूपमा उभ्याएर जङ्गली युगदेखि झगडालु पुरुषलाई माया र सहभावको अंगालोमा बेरेर सामाजिक बनाउने अरू कोही नभएर नारी नै भएको यहाँ उल्लेख गरिएको छ।

यस उद्धृतांशमा पुरुषहरूको अस्तित्व रक्षा गर्ने नारी नै भएको तर नारी स्वयम् आफ्नो रक्षामा जागरूक हुँदा कसरी नारीवाद कहलिन्छ भन्ने प्रश्न निबन्धकारले गरेकी छन्।

प्रस्तुत संस्मरणसङ्ग्रहमा महिलामाथिको पितृसत्तात्मक विचारधारालाई देखाइएको छ। सामन्ती समाजमा महिलामाथि सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, यौनिक आधारमा हैकम जमाउने गरेको तर त्यसमा निबन्धकारले आवाज उठाउँदा नारीवादी कहलिएको दृष्टिकोण प्रस्तुत भएको छ।

समाजमा पुरुषका हातमा सत्ता, शक्ति र अधिकार रहेको र तिनीहरूले महिलााई आफ्नो अधीनमा राख्ने गरेको कुरालाई विश्लेषण गरिएको छ । यहाँ महिलाले पनि पुरुषसरह अधिकार र अवसर पाउनुपर्छ भन्दै पितृसत्ताका विरुद्ध सङ्घर्ष गर्न निबन्धकारले अभिप्रेरित गरेकी छन् ।

३.२ अस्तित्व र पहिचानका स्वर

जैविक रूपमा नारी र पुरुषबीच भिन्नता रहे पनि समाजले सामाजिक भूमिका निर्धारण गरेर विभेदको शृङ्खला प्रारम्भ गरेको देखिन्छ। प्रारम्भमा दैनिक जीवनयापनकोसहजताका लागि समाजमा नारी र पुरुषबीच भिन्नता गरिए पनि समयक्रमसँगै पुरुषलाई शासक र महिलामाथि शासन गर्नेगरेको विचार प्रकट भएको छ।

महिलालाई आफ्नो अधीनता सकेसम्म स्वेच्छाले स्वीकार गराउनका लागि पाप–धर्म, कर्तव्य–दायित्व आदि महिलाका निमित्त मात्र लागू हुनेगरी धर्म–संस्कृति तथा सामाजिक मूल्यमान्यताहरू स्थापित गराउनुका साथै विभेदकारी दण्डविधानहरू तयार पारिए (पन्त, २०७८, पृ. ३६–३७) । यहाँ महिलाका स्वेच्छालाई अधीनमा राख्न धर्म, संस्कृति र सामाजिक मूल्यमान्यताका नाममा विभेदकारी नियम लादिएको विचार प्रकट भएको छ।

समाज परिवर्तनको साथसाथै महिलाहरूमा पनि चेतनाको उद्बोध हुन थालेपछि उनीहरू पनि आफ्नो अस्तित्वको खोजीमा जुर्मुराउन थाले ( पन्त, २०७८, पृ. ३७)। यहाँ समाजमा देखिएको रूपान्तरणसँगै महिलामा चेतनाको विकास भएकाले आफ्नो अस्तित्वको खोजी गर्न थालेको विचार अभिव्यक्त भएको छ। सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक आदि हरेक क्षेत्रमा महिलाको समान सहभागीता, स्वतन्त्रताका पक्षमा यसले बहस गरेको देखिन्छ।

 महिलाले आफू स्वतन्त्र भएर पुरुषले प्राप्त गरेका सबै अधिकारहरू पाउनुका साथै स्वतन्त्र भएर आफ्नो जीवनका निर्णय गर्न पाउनुपर्छ भन्ने मान्यतालाई नारी अस्तित्व र पहिचानको खोजी मानिएको छ (पन्त, २०७८, पृ. ३८)। यहाँ महिलाले आफ्नो जीवनका हरेक निर्णय गर्न स्वतन्त्र हुनुपर्छ र समाजमा समान हैसियत हुनुपर्दछ भन्ने मान्यता रहेको छ।

प्रस्तुत तुइन जिन्दगीमा जीवनका अनुभव र अनुभूतिलाई तथ्यसहित मार्मिक ढङ्गले पुष्टि गरिएको छ। निबन्धकारले आफ्नो समाजमा गर्नुपरेका सङ्घर्ष र सफलताका कुरालाई चित्रण गरिएको छ। एउटी छोरी भएका कारण समाजले उनलाई हेर्ने दृष्टिकोणका विरुद्ध पुरुषसमान व्यक्तित्व विकास गर्ने अवसरका लागि सशक्त आवाज उठाएकी छन्।

महिला र पुरुष अर्थात् छोरा र छोरीबीच समाजमा युगौँदेखि स्थापित पितृसत्तात्मक मूल्यमान्यताले निबन्धकारलाई पारिवारिक, सामाजिक, धार्मिक, साँंस्कृतिक, आर्थिक तथा यौनिक आदि दृष्टिले अधीनमा राख्न गरेको प्रयत्नको विरुद्ध आफ्नो अस्तित्व र पहिचानको खोजी गरेको देखिन्छ। यसको पुष्टि तलको निबन्धांशले गरेको छ:

...एउटा सोच पितृसत्तात्मक परम्परावादी सोच, जो धर्म र संस्कृतिको आधारमा महिलालाई हेर्ने दृष्टिकोण छ, जसले महिलाको पहिचान र अस्तित्वलाई स्विकार्न चाहँदैन। अर्को सोच– नयाँ पुस्ताको सोच, जो मौलाउँदै छ जो परिवर्तनबाट आएका नतिजालाई आफ्नो जीवनशैलीमा समाहित गरेर नयाँ युगको निर्माण गर्न चाहन्छ।

युगनिर्माण गर्ने दौडमा पुस्तौँदेखि आएका  कतिपय अनुभव र अनुभूतिका जडीबुटीजन्य औषधिलाई समेत नजरअन्दाज गरेर लतारेर नै हिंड्न हतारिएको देखिन्छ।... ( पृ. ८२)

प्रस्तुत निबन्धांशमा पितृसत्तात्मक मूल्यमान्यताका कारण महिलामाथि पुरुषको अधीनमा राख्ने गरे पनि महिलाको अस्तित्व र पहिचानको पक्षमा आवाज उठाइएको छ। पितृसत्तात्मक समाजले आफ्नो अधिकार खोज्ने, पहिचानका लागि अग्रसर हुने महिलाप्रति नकरात्मक दृष्टिले हेर्नेगरेको तथ्यलाई यहाँ उजागर गरिएको छ।

यस उद्धृतांशमा पितृसत्ताको परम्परागत सोच नै धर्म र संस्कृतिको आडमा महिलामाथि शङ्काको दृष्टिले हेर्ने, पुरुषको जस्तो सामाजिक हैसियत नदिने गरेको भए पनि नयाँ पुस्तामा पुरुषसरह समान हैसियतका पक्षमा आवाज उठाउने गरेको र परिवर्तनबाट आएका नतिजालाई आफ्नो जीवनशैलीमा समावेश गरी नवयुगको निर्माण गर्न चाहेको भाव व्यक्त भएको छ। यस अंशमा युगनिर्माण गर्ने नाममा पुस्तौँदेखिका अनुभव र अनुभूतिजन्य जडीबुटीप्रति बेवास्ता गरिएको बताउँदै धार्मिक–सांस्कृतिक नियममा मात्र महिलालाई मात्र बन्धनमा पारिएको वैचारिक चिन्तन प्रकट भएको छ। यसैगरी यस कुराको पुष्टि तलका संस्मरणांशले गरेको छ:

‘छोरी होइन, छोरा रहिछौ’ अरे ! छोरीले गरेको कामलाई सम्मान गर्ने हो भने जतिसुकै जटिल कर्म गरे  पनि ‘यो छोरी नै हो’ भनेर किन गर्वका साथ भन्न नसकेको? निरीह रूपबाट हेर्दा शालीन, निर्भीक  रूपबाट हेर्दा विद्रोही देखिन्छन् हो छोरीहरू?

कुनै दिन सगरमाथाको टुप्पोमा पुगेँ भने विश्वले सुन्नेगरी म चिच्याउनेछु – ‘म छोरी हुँ !! छोरी  !! आहा !!!’ (पृ. ८९)

प्रस्तुत संस्मरणांशमा अस्तित्ववादी पहिचानका स्वर प्रकट भएको छ। यहाँ पितृसत्तात्मक समाजमा छोरीलाई हेर्ने दृष्टिकोण प्रस्तुत गर्दै पितृसत्तात्मक समाजमा छोरा र छोरी अर्थात् नारी र पुरुषबीच पारिवारिक, सामाजिक, आर्थिक, यौनिक दृष्टिले भेदभाव गर्नेगरेको तथ्यलाई उजागर गरिएको छ। यस अंशमा जन्मका आधारमा छोराले शिक्षा–दीक्षा र सम्पत्तिमा अधिकार प्रदान गरे पनि छोरीलाई भने पुरुषसमान स्वतन्त्रता र अधिकारबाट वञ्चित गरिएको उल्लेख गर्दै छोरीलाई छोरीकै रूपमा नहेरिएको, स्वीकार नगरेको धारणा प्रस्तुत भएको छ।

यस उदाहरणमा छोरीले गरेका कर्मलाई सम्मान गर्ने हो भने जतिसुकै जटिल ठानिएका कर्म गरे पनि छोरी नै हो भने पितृसत्तात्मक समाजले गर्व गर्न नसकेको बताउँदै उनीहरूले पुरुषसमान व्यक्तित्व विकास गर्ने अवसर नपाएका कुरा उल्लेख गरिएको छ।

छोराले जसरी आफ्नो जीवनमा आइपर्ने निर्णायक अवस्थामा स्वनिर्णय गर्न पाउनुपर्छ भन्ने अस्तित्व र पहिचानको मान्यता प्रस्तुत गर्दै निरीह रूपमा छोरीलाई शालीन ठान्ने पितृसत्ताले निर्भीक रूपबाट विद्रोही ठान्ने गरेको कुरालाई यहाँ उजागर गरिएको छ।

यहाँ निबन्धकारले आफू हरेक पक्षमा सक्षम रहेको बताउँदै आफू छोरी नै हो र सगरमाथा शिखरमा पुगेर विश्वले सुन्नेगरी छोरी हुँ भनी चिच्याउने चाहना प्रकट गरी आफू छोरी भएकोमा गौरवबोध भएको र पितृसत्ताका विरुद्ध अस्तित्वका लागि आवाज उठाएको विचार व्यक्त भएको छ।

यसैगरी यस कुराको पुष्टि तलका संस्मरणात्मक अंशले गरेको छ: अहिलेका प्रायः छोरीहरू छोरासरह अवसर उपभोग गरेर व्यक्तित्व निर्माण गरिरहेका हुन्छन्। आफ्नो  पहिचान र अस्तित्वका बारेमा राम्रो ज्ञान राख्छन्। आफू पनि पुरुषसरह मान्छे भएर बाँच्न खोजिरहेका  हुन्छन्। आजका पति–पत्नी शिर र पाउ मिलाउने, मालिक र दास वा देवतार भक्त होइनन् हातमा हात  मिलाएर सहयात्रा गर्ने जीवनसाथी बन्न चाहन्छन्। (पृ. ११४)

प्रस्तुत संस्मरणात्मक अंशमा अस्तित्व एवम् पहिचानको मान्यता ल्याइएको छ । यस अंशमा व्यक्तिगत स्वतन्त्रताका कुरा उठाइएको छ । यस उदाहरणमा वर्तमान पुस्ताका छोरीहरू पनि छोरासरह समाज र राज्यका हरेक पक्षमा अवसरको उपभोग गरेर व्यक्तित्व निमार्ण गर्न सक्षम र अग्रसर रहेको बताउँदै लैङ्गिक भूमिकामा महिला र पुरुषबीच समानतामा आग्रह राखेको पाइन्छ।

वर्तमान समयमा समाज परिवर्तनसँगै महिलाहरूमा पनि चेतनाको उद्बोध हुन थालेकाले आफ्नो अस्तित्वको खोजीमा जागरुक हुन थालेको चिन्तन यहाँ उल्लेख गरिएको छ। प्रस्तुत उद्धृतांशमा महिलाले पुरुषसरह सामाजिक–सांस्कृतिक, आर्थिक, शैक्षिक, राजनैतिक आदि हरेक क्षेत्र वा पक्षमा पुरुषसरह स्वतन्त्र अधिकारहरू पाएर बाँच्न खोजेको अस्तित्वावादी र पहिचानका मान्यता निबन्धकारका वैचारिक दृष्टिकोण बनेर प्रस्तुत भएका छन्। यस उदाहरणमा आधुनिक समयका महिलाहरू पुरुषसँग समान अधिकारसहित सहकार्य र सहयात्रा गर्न चाहेका अस्तित्व र पहिचानका पक्षमा वकालत गरिएको छ।

नारी र पुरुषका बीचको समानताको आग्रह गर्दै नारीका व्यक्तिगत स्वतन्त्रताका पक्षमा तुइन जिन्दगीमा निबन्धकारले आवाज उठाएकी छन्। यस कृतिमा पितृसत्तात्मक सामाजिक संरचनामा पुरुषले पाएको अधिकार र स्वतन्त्रता महिला वा छोरीले पनि पाउनुपर्छ भन्ने मान्यता उजागर गरिएको छ। यहाँ सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, यौनिक आदि हरेक पक्षमा महिलाले आफ्नो अस्तित्व र पहिचानको खोजी गर्नुपर्ने धारणा प्रस्तुत गरिएको छ।

३.३ नारी उत्पीडन

नारीमाथि आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक आधारमा गरिने विभेद, शोषण, दमन र उत्पीडनका स्वरूप नै नारी उत्पीडन हो। पितृसत्तात्मक समाजमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई बुझाइएको पाइन्छ। नारीउत्पीडनका प्रमुख आधार पितृसत्ता र यसैको जगमा खडा भएका सामन्तवादी र पूँजीवादी उत्पादन व्यवस्था हुन् (शर्मा, २०७९, पृ. ३१) यहाँ पितृसत्ताद्वारा खडा भएका पूँजीवादी व्यवस्थाका कारण नारीहरूमाथि विविध प्रकारको नियन्त्रण हुनेगरेको कुरालाई बताइएको छ।

पितृसत्ता कुनै पनि समाजको पुरुषले सत्ता लिने सामाजिक प्रणाली हो र यसमा परम्परा, मूल्य र मान्यताको निर्माण नै त्यही आधारमा गरिएको हुन्छ (भट्टराई, २०७७, पृ. १२९)। यहाँ परिवार, समाज र राज्यप्रणालीका हरेक व्यवस्था र तहमा पुरुष नै सत्ता र शक्तिको केन्द्रमा रहेका हुन्छ र त्यही आधारमा मूल्य, मान्यताको निर्माण गरिएको हुन्छ भनिएको छ।

कतै पुरुष प्रभुत्वले सोझै नारीमाथि विभेद गर्ने गर्दछ भने कतै कतै पुरुष प्रभुत्वद्वारा स्थापित मूल्य, मान्यता, परम्परा, रूढि, अन्धविश्वास आदिले अप्रत्यक्ष रूपमा महिलालाई पुरुषभन्दा निम्न स्थानमा रहन, पुरुष अधीपत्यलाई मौन स्वीकार गर्न बाध्य बनाइरहेको हुन्छ (पन्त, २०७८, पृ. ३०)।

पितृसत्तात्मक समाजमा महिलामाथि शारीरिक संरचना, आर्थिक, सामाजिक–सांस्कृतिक, राजनीतिक   आधार, यौनिक पक्षमाथिको नियन्त्रणका आधारमा पितृसत्तात्मक समाजमा महिलामाथि विभेद सिर्जना गरेको छ ।यहाँ यिनै मान्यताका आधारमा तुइन जिन्दगी कृतिको विमर्श गरिएको छ:

तुइन जिन्दगी निबन्धकार सोलुको संस्मरणसङ्ग्रहमा आफू छोरी भएकै कारण समाजमा भोगेका अनुभव र अनुभूतिको शृङ्खलाबद्ध प्रस्तुति गरिएको छ । निबन्धकार हुर्के बढे समाजको यथार्थ चित्रण यहाँ गरिएको छ। पितृसत्तात्मक समाजमा छोरी वा महिलाप्रति हेरिने दृष्टिकोणको प्रतिनिधित्व गर्न दाजुका माध्यमबाट समाजका सदस्यका सोचाइ र व्यवहारबाट पुष्टि भएको छ।

पितृसत्तात्मक सामाजिक व्यवस्थाका कारण आर्थिक, सामाजिक–सांस्कृतिक, जैविक आधारमा हुने अनेक विभेदको सिकार भएको निबन्धकारले बताउँदै शिक्षा र चेतनाको अभावमा पिछडिएको सामाजिक परिवेशका कारण महिलाप्रति बढी शोषित भएको धारणा यहाँ प्रकट भएको छ।

यस कृतिमा आर्थिक अभाव र परनिर्भरताका कारण उनीहरूमाथि परिवार, आफन्त तथा समाजका पुरुष सदस्यहरूले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा शासन गर्ने गरेको हुँदा स्वतन्त्र रूपमा पुरुषसरह स्वाभिमानपूर्वक बाँच्न नपाएको कुरालाई उजागर गरिएको छ।

आमाको वेदना सुन्न सक्ने खालको थिएन। बुवा नभएपछि सौतेनी छोराछोरी उचालेर फेरि आफन्त  भनिएकाहरूले नै हाम्रो घरमा आगो लगाउनेछन्। सारा घरबार खरानी बनाइदिनेछन् भन्ने चिन्ता र  बुबाको माया उसैगरी पोखिएको थियो आमाको आँसुमा समाहित भएर। धेरै दिनदेखि यस्तै केके सोच्दै  रोएर होला, स्वर सुकिसकेजस्तो थियो आमाको।...(पृ. ४९)

प्रस्तुत संस्मरणांशमा नारीमाथि हुने सामाजिक उत्पीडनलाई देखाइएको छ । पितृसत्तात्मक सामाजिक संरचनामा नारीहरू अनेक विभेदको सिकार भएको कुरालाई आमाको वेदनाले यहाँ पुष्टि गरेको छ। यस अंशमा नारीले पुरुषसमान अधिकार, स्वतन्त्रता र विचार राख्ने अधिकार नपाएको कुरालाई निबन्धकारले आफ्नी आमाका विचारबाट प्रकट गरेकी छन्।

यसक्रममा बुवा नै समाज र परिवारको खम्बा भएकाले बुवा नभएपछि सौतेनी छोराछोरीले त्यसको फाइदा उठाएर आफन्त भनाउँदाहरूले घरबार बिगारिदिने चिन्ता प्रकट गर्नुले पितृसत्तात्मक समाजले जैविक अवस्थाको कारण नै लैङ्गिक विभेदको कारण हो भन्ने कुरालाई उजागर गरिएको छ।

यस उद्धृतांशमा आफन्त र समाजले घरबार खरानी बनाइदिने चिन्ता र बुबाप्रतिको मायामा आमाका आँसु पोखिएको भावबाट पनि पूँजीवादी अर्थव्यवस्थामा नारीमाथि हुने विभेदको प्रमुख कारण हो भन्ने भाव अभिव्यक्त भएको छ। प्रस्तुत उद्धरणमा पुरातन समाज र परनिर्भरताको अवस्थाले महिलामाथि विभेद सिर्जना गरेको कुरालाई निबन्धकारले स्पष्ट सङ्केत गरेकी छन्। यसैगरी यस कुराको पुष्टि तलको संस्रणात्मक अंशले गरेको छ:

बसको डण्डीमा झुण्डिरहेको मेरो दायाँ हातको तलबाट कसैले हात घुसारेर पुरुषार्थ देखाउन थाल्यो । म छाँगाबाटै खसेजस्तो भएँ। के सोच्दै थिएँ, के भयो! एकछिन स्तब्ध भएँ। पृथ्वी फन्न घुमेजस्तो भयो निधारभरि चिट्चिट पसिना आयो। रिसको ज्वारभाटा यसरी दन्कियो कि त्यसलाई अब कुनै माइकालालको दमकलले निभाउन सक्नेवाला थिएन। (पृ. ७१)

प्रस्तुत संस्रणात्मक अंशमा यौनिक उत्पीडनलाई देखाइएको छ । यहाँ पितृसत्तात्मक समाजमा महिलाको यौनिक पक्षको चित्रण नै निबन्धकारले बसमा भोगेका भोगाइ वा अनुभूतिका रूपमा आएका छन्। यस उदाहरणमा पुरुषले महिलाको यौनिकतामा अधिकार जमाउन संवेदनशील अंगमा हात हालेर पुरुषार्थ देखाउन खोज्दा आफू पीडित हुन बाध्य भएको कुरालाई उजागर गरिएको छ।

पुरुषका यौनजन्य अपराधका कारण महिला वा लेखिकाले भोगनुपरेका अकल्पनीय यौनजन्य अपराधका कारण घटनाले स्तब्ध हुनुका साथै पृथ्वी नै घुमेको अनुभूति भएको र पसिना छुटेको विचार यहाँ अभिव्यक्त भएको छ।

यस अंशमा निबन्धकारले महिलालाई समाजले यौनिक अधिकारप्रति पनि नकरात्मक दृष्टिकोणले हेर्ने गरेको तथ्यलाई उजागर गर्दै महिलासम्बन्धी पुरुष स्थापित मान्यताले लैङ्गिक उत्पीडन सिर्जना गरेको हुनाले त्यसका विरुद्धमा महिलाले नयाँ मूल्यको स्थापित गर्नुपर्ने धारणा प्रकट भएको छ। रिसको ज्वारभाटालाई समन गर्न नसकेको विचार यहाँ प्रकट भएको छ। यसैगरी यस कुराको पुष्टि तलका निबन्धांशले गरेको छ:

मेरो त अब डिभोर्स होलाजस्तो भइसक्यो। मलाई श्रीमानसँग शारीरिक सम्पर्क राख्न मन  फिटिक्कै लाग्दैन। श्रीमान्को मन राख्न, उनको इच्छा पूरा गरिदिन पनि कति गाह्रो हुन्छ। काम नसक्दै म सकिन्छु कि जस्तो  लाग्छ।

...बाहिर कोसँग सम्बन्ध बढेको छ र अचेलभरि मसँग मान्दिनस भनेर झगडा गर्छन्। मलाई  त आजभोलि त रात नपरे हुन्थ्यो, अफिसबाट घर फर्किनु नपरे पनि हुन्थ्योजस्तो लाग्छ। जीवनसाथी नै आजभोलि मेरो जीवनघातीजस्तो  लाग्छ। (पृ. १०७)

प्रस्तुत निबन्धांशमा शारीरिक एवम् मानसिक उत्पीडनको अवस्थालाई देखाइएको छ। यस अंशमा पितृसत्तात्मक समाजमा महिलाको शारीरिक, मानसकि एवम् यौनिक पक्षमा नियन्त्रण गरेको कुरा स्पष्ट भएको छ। एउटी नारीले श्रीमान्का कारण भोग्नुपरेका शारीरिक एवम् मानसिक यातनाका कारण डिभोर्ससम्म हुने स्थिति आएको चित्रण गर्नुले पनि पितृसत्तात्मक समाजमा महिलाको अवस्थालाई यहाँ झल्काएको छ।

यस उदाहरणमा आफूलाई शारीरिक सम्पर्क राख्न चाहना नहुँदानहुँदै पनि श्रीमान्को इच्छालाई जबर्जस्ती पूरा गर्नुपर्ने बाध्यताको उजागर गरेबाट पनि यहाँ समाजमा महिलाहरू यौनहिंसा, वैवाहिक बलत्कार आदिबाट पीडित हुनु परेको बाध्यतालाई प्रस्तुत गरिएको छ। यस उद्धृतांशमा पुरुषवर्गका कारण महिलाहरू पत्नी वा प्रेमिकाका रूपमा यौनिकतामा अधिकार जमाउने गरेको कुरालाई श्रीमान्का इच्छा पूरा गर्न गाह्रो भएको र आफू सकिन्छु कि भन्ने लागेको विचार प्रकट हुनुले पनि प्रमाणित गरेको छ।

यस संस्मरणांशमा बाहिर अरूसँग सम्बन्ध राखेको आशंका गरी अचेल आफूसँग नमानेको भनेर झगडा गरिरहने सन्दर्भले पितृसत्तात्मक सामाजिक संरचनामा सामाजिक–सांस्कृतिक परिवेशमा यौनिकताका बारेमा महिलामाथि प्रश्न उठाउने गरेको र यौन स्वतन्त्रता खोज्ने महिलालाई अनैतिक र चरित्रहीन आरोप लगाउने गरेको कुरालाई स्पष्ट सङ्केत गरिएको छ।

प्रस्तुत कृतिमा महिलामाथि हुने सामाजिक–सांस्कृतिक, यौनिक, शारीरिक एवम् मानसिक उत्पीडनका पक्षमा आवाज उठाइएको छ। यसले पितृसत्तात्मक समाजमा सामाजिक, आर्थिक, राजनीतिक आदि विभिन्न पक्षबाट महिलाले भोग्नुपरेका उत्पीडनका विरुद्धमा निबन्धकार विद्रोही बनेर देखापरेकी छन्।

यहाँ महिलामाथि हुने यौनयातना, बलत्कार, गर्भपतन, धार्मिक, सांस्कृतिक आधारमा गरिने शोषण र मानसिक यातनाका विरुद्धमा स्थापित मान्यता र त्यसको निरुपणका लागि विद्रोह गरेकी छन् । निबन्धकारले यहाँ महिलाका स्वतन्त्र अधिकार र पहिचानका लागि आफ्नो बलियो उपस्थिति देखाएकी छन्।

३.४ लैङ्गिकता

समाजमा महिला र पुरुषका बीचमा गरिने विभेदको व्यवहार लैङ्गिक विभेद हो। नारी र पुरुषको शारीरिक भूमिका तथा विशेषता नभई तिनको सामाजिक–सांस्कृतिक भूमिका र विशेषताको बोध गराउनु नै लैङ्गिकता शब्दको अर्थ हो (पाण्डे, २०७६, पृ. १५६)। यहाँ सामाजिक–सांस्कृतिक भूमिका वा विशेषताको बोध हुनु नै लैङ्गिकता हो भन्ने कुरा अथ्र्याइएको छ। शरीर र लैङ्गिकता सत्ता वा शक्तिको अभ्यासको केन्द्र हो भने विषयष्ठिता उत्पादनको आधार पनि हो (भट्टराई, २०७६, पृ. २६७) ।

यहाँ शक्ति वा सत्ताको अभ्यासको केन्द्र शरीर र लैङ्गिकता केन्द्र र विषयनिष्ठता उत्पादनको आधार भएको विचार प्रस्तुत गरिएको छ। समाज तथा सामाजिक मूल्य मान्यताले महिला वा पुरुषलाई दिने अधिकार, भूमिका, स्रोतसाधन तथा त्यसबाट निर्मित र विकसित उनीहरूको मानसिकतालाई लैङ्गिकता भनिन्छ (पन्त, २०७८, पृ. २६) । यहाँ नारी र पुरुषबीचको भूमिकामा समाज र परम्परागत सामाजिक मूल्यमान्यता हो भन्ने कुरा चित्रण गरिएको छ।

 यथार्थमा पितृसत्ता भन्नु पुरुष होइन, यो समाजव्यवस्थाको एउटा त्यस्तो विशेष किसिमको ढाँचा हो, जसले पुरुषलाई मालिक देखाएको छ र नारीलाई उसको सेवक बन्न अराएको छ (पाण्डे, २०७६, पृ. २९) । यहाँ महिला–पुरुषको व्यक्तिगत पहिचान र सामाजिक सम्बन्धको व्यवस्था गरेको कुरालाई उल्लेख गरिएको छ।

समाजमा पुरुष सक्रिय महिला निष्क्रिय, पुरुष आक्रामक महिला सहनशील, पुरुष विवेकी महिला आश्रित, पुरुष दृढ र कडा स्वभावयुक्त, पुरुष बढी कामुक महिला कम कामुक, पुरुष यान्त्रिक महिला कलात्मक, पुरुष प्रतिस्पर्धात्मक महिला समन्वयात्मक, पुरुष वर्चश्वशाली महिला अधीनस्थजस्ता भेदभावयुक्त मान्यता रहेका छन् (भट्टराई, २०७७, पृ. ६)। यहाँ समाजमा महिला र पुरुषलाई विविध विशेषताका आधारमा भिन्न दृष्टिकोणले हेर्ने गरिएको तथ्यलाई उजागर गरिएको छ। लैङ्गिक विभेदका सन्दर्भमा यहाँ तुइन जिन्दगीमा चित्रण भएको लैङ्गिक विभेदको विश्लेषण गरिएको छ।

नेपाली समाजमा पनि पितृसत्तात्मक मान्यता रहेको हुँदा त्यसको प्रतिबिम्ब सोलुको संस्मरणात्मक निबन्धसङ्ग्रह तुइन जिन्दगीमा अभिव्यक्त भएको छ। निबन्धकारले आफू जन्मे हुर्केको समाजमा देखेका भोगेका अनुभव र अनुभूतिलाई यस कृतिमा उजागर गरेकी छन्।

यस कृतिमा सामाजिक–सांस्कृतिक संरचनाअनुरुप लैङ्गिक विभेदको प्रभाव परेको कुरालाई प्रस्तुत गरेकी छन्। आफूले जीवनभोगाइका क्रममा गरेका अनेकौँ विभेदकारी नीतिनियम र पितृसत्तात्मक समाजमा पुरुष र महिलाको लैङ्गिक भूमिकाका आधारमा हेर्ने दृष्टिकोणको चित्रण निबन्धकारले यहाँ गरेकी छन्।

...मन भने हुण्डरी चलिरह्यो, छोरामान्छे देश–परदेशगर्दा परिपक्व हुने, त्यही काम छोराले गर्दा बिग्रिनहोइन यो बिगार्ने चाहिँ को हो ? छोरी आफैँ बिग्रिन्छे कि कसैले बिगार्छ ? फेरि बिगार्ने मान्छे किन बिग्रिँदैन ? कस्तो विभेद यो छोरा र छोरीमा ? (पृ. २६)

प्रस्तुत संस्मरणांशमा लैङ्गिक विभेदको मान्यता ल्याइएको छ । यसक्रममा छोरा र छोरीका बीचको विभेदलाई देखाइएको छ । प्रस्तुत उद्धरणमा पितृसत्तात्मक सोचाइ नै लिङ्गविरोधी भएको धारणा निबन्धकारले बताउँदै छोरामान्छे समाजमा सक्रिय, बलिया, विवेकी र वर्चस्वशाली ठानेकाले उसलाई जे गर्न पनि छुट दिएको विचार प्रकट गरेकी छन्।

छोरामान्छे जति झुठोमा चोपलिए पनि समाजले हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै उसले देश–परदेश घुम्दा असल र चोखो ठान्ने पितृसत्तात्मक समाजले छोरीले त्यही देश–परदेश गर्दा बिग्रिएको ठान्ने गरेबाट यसलाई बिगार्ने तत्त्व को हो भनी समाजप्रति प्रश्न उठाउनुले पनि लैङ्गकताले महिलामाथि गर्ने अन्याय तथा शोषणसम्बन्धी चिन्तन यहाँ प्रस्तुत भएको छ।

यस उद्धृतांशमा छोरी आफैँ बिग्रिन्छ कि कसैले बिगार्छ भनी त्यसको कारण र दोष पितृसत्तामा स्थापित मान्यता नै भएको बताउँदै पितृसत्ताले महिलालाई दोस्रो दर्जामा राख्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

प्रस्तुत उदाहरणमा निबन्धकारले छोरा र छोरीलाई जैविक भिन्नताका आधारमा गरिने विभेदलाई प्रष्ट पार्दै बिग्रनेभन्दा बिगार्ने मान्छे जिम्मेवार बन्नुपर्ने, बिगार्ने मान्छे बिग्रिँदैन भनी पितृसत्तात्मक समाजमा छोरा र छोरीका बीचको विभेदकारी मानसिकता हो भन्ने पुष्टि गरेकी छन्। यसैगरी यस कुराको पुष्टि तलको संस्मरणात्मक अंशले गरेको छ:

संसारको वास्तविक खुशी र वैभव सन्तान हुन्छन् । सन्तानको सानो प्रगतिमा पनि ठूलो खुशी मिल्छ । एउटै गर्भ, एउटै घर, उस्तै हुर्काइ भएका छोरा र छोरीमा भेदभावचाहिँ किन गरिन्छ ? सन्तान त दुवै हुन्। तिनीहरूले दिने खुशीको रङ्ग र पीडाको तरङ्ग पनि त उस्तै हुनुपर्ने! (पृ. ८३)

प्रस्तुत संस्मरणात्मक अंशमा लैङ्गिकताका मान्यता ल्याइएको छ र यस क्रममा समाजमा छोरा र छोरीबीचको विभेदलाई देखाइएको छ। प्रस्तुत उद्धृतांशमा पितृसत्तात्मक समाजमा संस्कृतिका नाममा छोरा र छोरीलाई हेर्ने दृष्टिकोण प्रस्तुत गर्दै सन्तान नै संसारको वास्तविक वैभव र खुसी भएकाले सानोसानो प्रगतिमा खुसी मिल्ने धारणा प्रस्तुत भएको छ।

 पितृसत्तात्मक समाजले गर्ने लैङ्गिक विभेदका कारण एउटै आमाका गर्भबाट जन्मे, हुर्केका छोरा र छोरीमा गरिने विभेदप्रति प्रश्न उठाएकी छन्। परिवार र समाजमा नारी र पुरुषप्रतिको समान हैसियत र समानस्तर पाउनुपर्छ आखिर दुवै आफ्ना सन्तान हुन्। त्यसैले तिनीहरूले दिने खुशीको रङ्ग र पीडाको तरङ्ग पनि एकै हुने तर्क निबन्धकारले यहाँ अभिव्यक्त गरेकी छन् । यसैगरी यस कुराको पुष्टि तलको निबन्धांशले गरेको छ:

छोरा हुन् कि छोरी, दुवै सन्तान बराबरी होइनन् र? दुवैले जन्मदाताप्रति जिम्मेवार वा  कर्तव्यपरायण हुनु नपर्ने, नपाउने भन्ने पनि न्यायोचित हो र? उस्तै प्रक्रियाबाट जन्मे, हुर्केका  सन्तानमा पनि किन कसैको महत्त्व कम, कसैको बढी? सृष्टिका लागि पो छोरा र छोरी लिङ्ग छुट्टाएको हो प्रकृतिले, जन्मदाताका लागि त सबै सन्तान उस्तै होइनन् र? विश्वमै सबैभन्दा उदार मानिएको हिन्दू धर्म र संस्कारभित्रै यस्तो पक्षपात? छोरा वा छोरी नभनी सन्तान भनेर उस्तै कर्मको भूमिका निर्वाह गर्दा हाम्रो संस्कारको के बिग्रन्छ? (पृ. ८८–८९)

प्रस्तुत निबन्धांशमा लैङ्गिक विभेदको मान्यता ल्याइएको छ। यहाँ प्राकृतिक लिङ्ग अर्थात् यौनिकताका आधारमा समाज स्थापित मान्यताद्वारा महिला र पुरुषलाई भिन्न रूपमा व्याख्या गर्ने गरेको बताउँदै निबन्धकारले छोरा र छोरी दुवै सन्तान बराबरी भएकोमा पितृसत्तात्मक समाजलाई नै प्रतिप्रश्न गरेकी छन्।

दुवै आफ्ना जन्मदाताप्रति जिम्मेवार, उत्तरदायी र कर्तव्यपरायण हुनु नपर्ने र नपाउने पितृसत्ताको सोचमै विभेद रहेको चिन्तन यहाँ प्रस्तुत गरेकी छन्। यस अंशमा प्रजननको अवस्था उही भए पनि पितृसत्ताले समान अवसर र भूमिका प्रदान नगरेको हुँदा कसैको महत्त्व बढी र कसैको कम भएको धारणा प्रकट भएको छ।

प्रस्तुत उद्धृतांशमा सृष्टिले जैविक आधारमा छोरा र छोरीको भिन्नता छुट्टाए पनि जन्मदाताका लागि दुवै उस्तै हुनुपर्ने होइन भनी प्रश्न गर्दै दुवैले सामाजिक दृष्टिले समान हैसियत प्राप्त नगरेको विचार प्रस्तुत भएको छ।

यस उद्धरणमा धार्मिक–सांस्कृतिक परिपाटीले निर्धारण गरेका भूमिकामा विभेद रहेको हुँदा समाजव्यवस्थाका यी परम्परित अवधारणालाई विस्थापित गरी समानताको अवधारणा स्थापित गर्न व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक रहेको कुरालाई स्पष्ट सङ्केत गरिएको छ।

पितृसत्तात्मक संरचना नै समाजमा लैङ्गिक विभेदको संस्कृति मौलाउनुको कारणको रूपमा प्रस्तुत तुइन जिन्दगीमा अथ्र्याइएको छ। पुरुषप्रधान नेपाली समाजको मानसिकताको उपज नै कथित पुरुष आदर्शको पालनाका नाममा नारीमाथि अमूक किसिमले दमन गर्नु, शोषण गर्नु नै लैङ्गिकता हो भन्ने यथार्थलाई दर्साइएको छ।

यहाँ पितृसत्तात्मक समाजमा छोरा र छोरीले परिवार र समाजमा अरू सामान्य पुरुषसरह आफ्नो जैविक विशेषताका आधारमा सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने चेतनालाई निरुपण गरिएको छ। नारीपुरुष समानताका लागि नारी सशक्तिकरणको आवश्यकता रहेको कुरालाई यहाँ औँल्याइएको छ ।

३.५ शरीर राजनीति

शरीरमाथिको शक्ति र राजनीति नै शरीर राजनीति हो। शक्तिशाली शरीरले कमजोर शरीरमाथि शोषण एवम् शासन गर्दछ (लामा, २०७६, पृ. ७५)। यसले कमजोर शरीरमाथि शोषण एवम् शासन गर्न उद्दत रहेको हुन्छ। यसले लिङ्ग, धर्म, जातिलगायत विविध पक्षका आधारमा महिला शरीरप्रतिको सिकार हुने गरेको कुरालाई प्रष्ट पारिएको छ।

सामाजिक, धार्मिक, सांस्कृतिक, पारम्परिक मूल्यमान्यता, आस्था, विश्वास एवम् संस्कारका कारण शरीरमाथिको नियन्त्रण हुनु एवम् महिलाको शरीरप्रतिको सामाजिक धारणा नै पितृसत्ताकै उपज रहेको छ। शरीर एक यस्तो विशेष स्थान या स्पेस पनि हो जहाँ शक्तिको सङ्घर्ष हुन्छ त्यसैले शरीर, राजनीतिक क्षेत्र पनि हो, जहाँ शक्तिहीन शरीरिमाथि  शक्तिशालीको हालीमुहाली चल्छ (लामा, २०७६, पृ. ९९)। शरीरमाथि हुने राजनीतिप्रतिको विरोध तथा पितृसत्तात्मक समाजमा आफ्नो अस्तित्व खोजेको कुरालाई यहाँ चित्रण गरिएको छ।

प्रस्तुत तुइन जिन्दगीनिबन्धसङ्ग्रहमा पनि समाजमा सामाजिक, राजनीतिक एवम् शारीरिक मूल्यमान्यतामाथि अस्तित्व र पहिचान, मातृत्व र आफ्नो शरीरप्रतिको अधिकारका विषयमा निकै पेचिलो पाराले निबन्धकारले उठाएकी छन्। यहाँ महिलाका शरीर र स्वतन्त्रताका विविध पाटाहरूलाई महत्त्वपूर्ण स्थान दिइएको छ। यसको पुष्टि तलको संस्मरणांशले गरेको छ:

यसरी झम्टिँदा वा कुट्दा कानुन लाग्दैन तिम्रो देशमा? किन चुपचाप सहिरह्यौँ? एक्लै हिंड्ने  किसाथीसँग हिंड्ने, तिम्रो खुशीको कुरा होइन र? तिम्रो शरीर तिम्रो अधिकार हुन्न र? तिमी तिम्रो  शरीरको सुरक्षा गर्न सक्दिनौ? के यति कमजोर हुन्छन् नेपाली महिला? मेरो देशमा भएको भए तिमीमाथि यति हातउठाएवापत उसले जेल जानुपथ्र्यो । यो कस्तो अचम्म! तिमी मान्छे हौ कि वस्तु ? (पृ. ४५)

प्रस्तुत संस्मरणांशमा शरीर राजनीति–विषयक मान्यता ल्याइएको छ। यस अंशमा महिला शरीरमाथि झम्टिने कुट्ने गर्दा तिम्रो देशमा कानुन लाग्दैन भनी विदेशीले गर्नुले पितृसत्तात्मक समाजमा महिलाहरूले आफ्नो अस्तित्व र स्वतन्त्रताको बलि चढ्न बाध्य पारिएको सन्दर्भलाई निबन्धकारले प्राष्ट पारेकी छन् ।यहाँ समाजले आफूमाथि अन्याय गरेकाले उसले प्रश्न उठाएको कुरा बताइएको छ।

प्रस्तुत उद्धरणमा कुइरेले साथीसँग हिंड्ने, तिम्रो खुशीको कुरा होइन, तिम्रो शरीरमा तिम्रो अधिकार हुन्न भन्ने प्रश्नले पितृसत्तात्मक समाजका विभेदकारी संस्कृतिका कारण महिलाका शरीरलाई वस्तुकरण गरिएको तथ्यलाई उजागर गरेको छ। कुइरेले नेपाली महिला यति कमजोर छन् त भन्दै आफ्नो देशमा महिलामाथि हात उठाएको भए जेल जानुपथ्र्यो भनी दिएको जवाफबाट पनि पितृसत्तात्मक नेपाली समाजमा महिलाप्रतिका कतिपय मान्यता जडका रूपमा स्थापित भइरहेको, महिलालाई सधैँ नै निश्चित दायरामा बस्न बाध्य पारिएकोमा समाज, सामजिक मान्यता र संस्कार नै प्रमुख कारक भएको निबन्धकारले यहाँ औँल्याएकी छन्।

प्रस्तुत उद्धृतांशमा तिमी मान्छे हौ कि वस्तु भन्नुले पनि महिलाको शरीरप्रतिको दृष्टिकोणलाई देखाइएको छ। यसक्रममा पितृसत्तात्मक समाजमा महिलालाई भोग्याका रूपमा हेर्नेगरेको दृष्टिलाई निबन्धकारले स्पष्ट सङ्केत गरेकी छन्। यसैगरी यस कुराको पुष्टि तलको संस्मरणात्मक अंशले गरेको छ:

महिलाको शरीर वा यौन पनि पुरुषकै निजी सम्पत्तिका रूपमा रूपान्तरण हुने अवधारणा  स्थापित हुँदै गयो   भन्ने इतिहास हामीले पढेका हौँ। मनन गर्दै जाँदा यो विभेदकारी संस्कारको जग कसले बसाल्यो होला  भन्ने जिज्ञासा जुर्मुराएर उम्रिन्छ । (पृ. ८०)

प्रस्तुत संस्मरणात्मक अंशमा शरीर राजनीति–विषयक मान्यता ल्याइएको छ । यहाँमहिलाका शरीरमाथिको अधिकारलाई उजागर गरिएको छ । यस अंशमा पुरुष शरीरले महिला शरीरमाथि थोपरेको उत्पीडनको चित्रण गर्दै महिलाको शरीरमात्र नभएर यौनप्रतिको दृष्टिकोण पनि पुरुषकै निजी सम्पत्तिका रूपमा रूपान्तरण हुँदै गएको अवधारणा स्थापित भएको चिन्तन प्रस्तुत भएको छ।

महिलाको यौन स्वतन्त्रतामा समेत पुरुषले दाबी गर्नेगरेको तथ्यलाई निबन्धकारले यहाँ उजागर गर्दै यो विभेदकारी संस्कारको जग पितृसत्तात्मक समाज हो कि भन्ने जिज्ञासा जुर्मुराएको चिन्तन अभिव्यक्त भएको छ। यसैगरी यस कुराको पुष्टि तलको निबन्धांशले गरेको छ:

मेरो शरीर, मेरो अधिकार भन्ने नाराले कतै सम्मान, कतै अपमानको सामना गरिरहेको छ।  स्वतन्त्रताको परिभाषा नै विवादित हुन थालेको छ। (पृ. ८०)

प्रस्तुत निबन्धांशमा शरीर राजनीतिका मान्यता ल्याइएको छ। प्रस्तुत अंशमा महिलाको शरीरप्रतिको अस्तित्व र स्वतन्त्रता आफ्नो भएको जिकिर निबन्धकारले गरेकी छन्। उनले प्राचीन आइमाईका भुँडीले अनेकौँ उतारचढाव भोग्दै आए पनि वर्तमानमा नारी स्वतन्त्रताका पक्षमा आवाज उठाउने गरेको बताउँदै हामी र हाम्रो शरीरमाथिको अधिकारलाई शक्तिसँग जोडेर हेरेकी छन्।

प्रस्तुत उद्धरणमा महिला अधिकारका बारेमा निबन्धकारले आवाज उठाउँदै नारीले कतै सम्मान, कतै अपमानको सामना गरिरहेको विचार अभिव्यक्त भएको छ । यस उद्धृतांशमा शारीरिक स्वतन्त्रताको अधिकारसँग सामन्तवादी पितृसत्तात्मक प्रवृत्तिले महिलाका स्वतन्त्रताका परिभाषामा विवाद सिर्जना हुन थालेको दृष्टिकोण प्रस्तुत भएको छ।

प्रस्तुत संस्मरणात्क निबन्धकृतिमा पितृसत्तात्मक नेपाली समाजमा महिला शरीरमाथिको शक्तिशालीको हालीमुहाली चल्दै आएको कुरालाई निबन्धकारका जीवन भोगाइका अनुभूतिका माध्यमबाट प्रकट भएको छ। यहाँ पितृसत्ताले सामाजिक, सांस्कृतिक, राजनीतिकलगायतका विभिन्न मूल्यमान्यताका आधारमा हैकम जमाएको कुरालाई देखाइएको छ । यसक्रममा महिलाले आफ्नो शोषित शरीरको पहिचान, अस्तित्व, स्वतन्त्रता र अधिकारका पक्षमा आवाज उठाउनुपर्ने चिन्तनलाई यहाँ प्रस्तुत गरिएको छ।

४. निष्कर्ष

नेपाली साहित्यको कान्छो विधा निबन्धअन्तर्गत संस्मरण पनि प्रमुख उपभेदका रूपमा नेपाली साहित्यमा फस्टाउने अवसर पाएको छ। नेपाली साहित्यको सिर्जना र समालोचनाका क्षेत्रमा स्थापित अग्रणी स्रष्टा रेणुका सोलुको तुइन जिन्दगी संस्मरणात्मक निबन्धसङ्ग्रहमा निबन्धकारका जीवनभोगाइका अनुभव र अनभूति प्रस्तुत भएको छ।

हाँ नारी चेतना, अस्तित्व र पहिचानका कुरा, नारीवादी दृष्टिकोण, नारी उत्पीडन, लैङ्गिकता र शरीर राजनीति, मानवीय संवेदना विशेषगरी नारी संवेदना, मानवता, देशप्रेम, भूगोल, प्रकृति, समाज र संस्कृति लगायतका विविध पक्षको चित्रण गरिएको छ। यहाँ सहरिया र ग्रामीण परिवेशका साम्य वैषम्य, मानवीय चेतना, नेपाली समाजको मानसिकताको यथार्थ चित्र उतारिएको छ।

प्रस्तुत कृतिमा नेपाली समाजमा पितृसत्ता र त्यसको प्रभाव, विद्रोही चेतना, मातृप्रेम, पितृप्रेम, कर्तव्यबोध, समाजको विभेदपूर्ण व्यवहार, अभिभावक गुमाउँदाको पीडा, समानता, स्वतन्त्रता, सहअस्तित्व, सहकार्य, अन्याय, शोषण, एकता, सद्भाव, आत्मविश्वास, जीवनका आरोह–अवरोह, सङ्घर्ष, साहस, धैर्य, सत्ता, शक्तिलाई समेटिएको छ।

वर्गीय विभेद, सामाजिक संरचना, धार्मिक, आध्यात्मिक चिन्तन, शिक्षा, स्वास्थ्य, अर्थ, राजनीति, कानुनी शासन, शोषकीय प्रवृत्ति, साइबर संस्कृति, नेपालको गौरवपूर्ण इतिहास, नेपालीपन, युगबोध, भौतिक वस्तुको तुच्छता र शरीरको नश्वरता, मानवीय मूल्यहीनतालाई प्रस्तुत गरिएको छ।

भाषाशैलीका कोणबाट प्रस्तुत संस्रणात्मक निबन्धसङ्ग्रहको भाषा कलात्मक, सूक्तिमय सरल वाक्य, उपमा, उत्प्रेक्षालगायतका अलङ्कार, जसरी पानी परिसकेपछि कञ्चन हुन्छ आकाश, आँसु निख्रिएपछि मन पनि त्यसरी नै कञ्चन हुन्छ आदि मिश्र वाक्य, पानी पनि आगो बन्दो रहेछ, पृथ्वी पनि काँपिरहेको आदि सुललित पद, पदावली, मानो रोपेर मुरी उब्जाउने, दशा लाग्नु जस्ता उखान टुक्का, बिहानको आगमनसँगै झ्यालबाट पसेको मिर्मिरे उज्यालोसँग मिसिएको सिरसिरे चिसो बतासजस्ता प्राकृतिक विम्ब, प्रतीकात्मक भाषाको प्रयोगले संस्मरणात्मक निबन्ध सशक्त र प्रभावपूर्ण बनेको छ।

सरल, सरस भाषाशैलीका माध्यमबाट जीवनका विविध भोगाइ, समाजको वास्तविकता, नारीका अनुभूति, मानवीय संवेदना, नारी दृष्टिकोण प्रस्तुत गरिएको र समाजको दृश्यविम्ब उतारिएकाले प्रस्तुत संस्मरणात्मक निबन्धसङ्ग्रह पठनीय र सङ्ग्रहणीय ग्रन्थ बन्न पुगेको छ।

प्रकाशित: ४ माघ २०८१ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App