११ माघ २०८१ शुक्रबार
image/svg+xml
कला

बेलायतमा नेपाली संस्कृति सहभागी टोली पुरस्कृत

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लण्डन न्यू इयर डे परेड’ मा सहभागी रोयल बरो अफ ग्रीनबीचले नेपाली मौलिक प्रस्तुतिका लागि तेस्रो पुरस्कार जितेको छ।

नयाँ वर्षको दिन लण्डनमा आयोजित परेडमा सहभागी ७५ समूहमध्ये लण्डन बरोहरुको प्रतिस्पर्धामा ग्रीनबीच बरो तेस्रो भएको मेयर जीत रानाभाटले जानकारी दिए। लण्डन ह्वाइट हलमा आयोजित एक समारोहमा लण्डन न्यू इयर परेडका निर्देशकले तेस्रो पुरस्कार स्वरुप ग्रीनबीच बरोलाई ट्रफी प्रदान गरेका हुन्।

 ग्रीनबीच बरो मेयर जीत रानाभाट, मेयरेस गौमाया गुरुङ, परेडका लागि बरोका संयोजक श्रीचन्द्र गुरुङलगायतले पुरस्कार ग्रहण गरेका हुन्। यस वर्ष परेडमा प्रस्तुतिको आधारमा लण्डनको लुइसम बरो प्रथम र सटन बरो दोस्रो भएका छन्। तेस्रो स्थान प्राप्त गरेको ग्रीनबीच बरोले पाँच हजार पाउण्ड नगद प्राप्त गरेको छ। सो रकम मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर यूके र कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्टमा खर्च गरिने जनाइएको छ।

परेडमा यस वर्ष ग्रीनबीच बरोको तर्फबाट मेयर जीत रानभाटको पहलमा स्थानीय नेपाली समुदायले नेपाली कला, संस्कृति झल्काउने मौलिक प्रस्तुति प्रदर्शनी गरेको थियो। मेयर रानाभाटले लण्डन परेडमा बरोले नेपाली कला, संस्कृतिको प्रदर्शनी गर्दै तेस्रो स्थान हासिल गरेकोमा सहभागि सम्पूर्णलाई धन्यवाद दिएका छन्।

परेडमा ग्रीनबीच बरोका तर्फबाट पासा पुचः गुथि यूकेले सुशील प्रजापतिको संयोजनमा धिमे, ढाः र खिंग बाजाका साथ गाइजात्रामा प्रस्तुत गरिने घिन्ताङ घिसी र लाखे नाच, गोविन्द सापकोटाको संयोजनमा नौमति पन्चे बाजा र साउथ इष्ट रिजनल तमुधिं लन्डनले सोरठी नाच देखाएको थियो। थकाली समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, मगर समुदायले आफ्नो कला संस्कृति देखाएका थिए। रासस

प्रकाशित: २२ पुस २०८१ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App