२ माघ २०८१ बुधबार
image/svg+xml
कला

‘कामरेड जलजला’ उपन्यास माथि चितवनमा समीक्षा

वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) माथि चितवनमा समीक्षा गरिएको छ । अखिल नेपाल बुद्धिजीवी संघ, चितवनको आयोजनामा आज ‘कामरेड जलजला’ माथि संवाद र समीक्षा भएको हो ।

कार्यक्रममा बोल्दै उपन्यास कार मोहनविक्रम सिंहले ‘कामरेड जलजला’ उपन्यास आफ्नो वास्तविक जीवनका घटना र अनुभव रहेको बताएका छन् । २३ वर्ष लगाएर लेखिएको पुस्तकमा सम्पूर्ण संसार र नेपालका विभिन्न स्थानहरूको इतिहास संस्कृति र मानव जीवनको पनि अध्ययन गर्ने प्रयत्न गरिएको उनको भनाई छ । ‘उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानको अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गरेको छ’–उनले भनेका छन् ।

काठमाण्डौं उपत्यका, नेपालको ढुंगेयुगिन सम्भाव्यता, प्राचीन बौद्ध सभ्यता, कर्णाली प्रदेशको ऐतिहासिक नदी र ताल, स्वयम्भूनाथ, पशुपतिनाथ र नेपालका ऐतिहासिक जातिहरूको समेत अध्ययन गर्न खोजिएको उनले बताए । उपन्यासमा कैयौँ वास्तविक पात्र जोडिएको भन्दै सिंहले वास्तविक पात्रहरूको चित्रणले उपन्यासलाई यथार्थ धरातलमा स्थापित गर्न मद्दत पुगेको बताए । का.जलजला प्रेम कथा रहेको भन्दै सिंहले क्रान्तिकारीका लागि प्रेमको अर्थ विषयमा उजागर गर्न खोजिएको बताए । 

टिप्पणीकार अधिवक्ता सरिता तिवारीले कामरेड जलजला किताबभित्र संसार रहेको बताइन् । ‘यस उपन्यासमा एआई छैन, त्यसबाहेक संसार छ’,– उनले भनिन् । उनले प्रेम प्रसङ्गलाई लिएर उपन्यास कार सिंहमाथि प्रश्न समेत गरिन् । उनले उपन्यासमा तीन वटा किताबका सामग्री रहेको बताइन् । उनले उपन्यासमा साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, पारिजात लगायतलाई समेटिएको बताइन् ।

समीक्षक उदय अधिकारीले यो पुस्तक लेखकको जीवनीपरक आत्मकथा भएको बताए । लेखकलाई यस किताबले पुस्तौँ पुस्तासम्म चिनाइरहने उनको भनाई छ ।

पत्रकार रमेशकुमार पौडेलले सहजीकरण गरेको कार्यक्रममा ईश्वरी भट्टराई, रमाकान्त सापकोटा, अशोक शर्मा, रविमोहन सापकोटा, युवराज पन्थी लगायतले पुस्तकको समीक्षा गरेका थिए । 

उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र दुई सय ७२ अङ्कमा विभाजन गरिएको छ । करिब पाँच लाख शब्द, रोयल साइजमा एक हजार तीन सय २० पृष्ठ र करिब पाँच सय पात्र छन् । उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानको अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ । उपन्यासले संसारका सबै महाद्वीप र महासागर, सम्पूर्ण मानव समाज र सुदूर अन्तरिक्षसम्मको परिभ्रमण गर्ने प्रयत्न गरेको छ ।

साहित्यकार सिंह नेपालको एउटा वामपन्थी नेता हुन् । सैद्धान्तिक र राजनीतिक विषयमा उनले थुप्रै पुस्तक र लेखहरू लेख्नाका साथै नाटक, कविता, समालोचना आदि विभिन्न विधामा पनि उनका कैयौँ कृति प्रकाशित छन् । ९० कटिसकेका सिंहले अझै दुई वटा पुस्तक प्रकाशनमा ल्याउने योजना बनाएको बताए । आफुले लेखेका कयौँ कृतिहरू जेलजिवनका कारण हराएको समेत उनले बताए ।

‘कामरेड जलजला’ (उपन्यास) मंसिर १५ गते काठमाण्डौंमा लोकार्पण गरिएको थियो । त्यसपछि कोहलपुर धनगढीमा कृतिमाथि समीक्षा गरिसकिएको छ । 

प्रकाशित: १८ पुस २०८१ १८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App