१) बेसारे
सामूहिक बलात्कार जस्तै छ! हैन के हो यस्तो!
अधबैंसे सुधी महिलाका मनमा प्रश्नहरू मडारिएका थिए।
बैंसले धपक्कै बलेकी एउटी सुन्दरी! उनलाई चारैतिरबाट मानिसहरूले घेरेका थिए। हल्लाखल्ला थियो।
कोही उनको मुखतिर दल्दै थिए। कोही पाखुरातिर त कसैले पेटतिर हात पुर्याएका थिए।
कसैका हातले उनको छाती मुसारिरहेका थिए। अचम्म, ती सुन्दरी भने उमङ्गले खित्खिताउँदै थिइन्।
त्यही बिचमा कसैले उनको नाभतिर त कसैले ति सुकोमल सुडौल तिघ्रातिर पनि मुसार्न भ्याए।
त्यहाँ टुप्लुक्क एकजना छिमेकी बूढी आमा आउनुभयो र सोध्नुभयो, ‘हैन यो के गरेको यस्तो!’
बूढी आमाले भन्नुभयो, ‘हाम्रा पालामा यस्तो केही हुँदैनथ्यो र पनि आजसम्म बुढाबुढीको सम्वन्धको गाँठो कसिलै छ, अहिलेका मान्छे के भएका हुन् कुन्नि!’
‘त्यही त आमा आजभोलिका श्रीमान् श्रीमतीको कुरा गरिसाध्य छैन, सधैं खटपट, अन्त लसपस, सम्बन्ध विच्छेद केके हो केके!’ अधबैँसे बोलिन्।
बूढी आमाले बोली फुत्काउनुभयो, ‘आजभोलि ढर्रा नै बढी! अहिलेका मान्छे यसरी बिहेअघि बेसार घस्दा रहेछन् र पो आजभोलि लोग्नेस्वास्नीको माया पनि बेसारे हुँदोरहेछ!’
२) अन्योल
‘यमराजको दरबारमा कसैलाई अन्याय हुँदैन। उनलाई जहाँबाट ल्याएको हो त्यहीँ लगेर छोडी देऊ!’
यमराजले आफ्ना दूतलाई कड्केर निर्देशन दिए।
महिला रूँदै बिन्तl गर्न लागिन्, ‘महाराज, मैले अघि नै भनेकी थिएँ म मरेकी छैन, मलाई नलैजाउ भनेर तर यिनले मेरो कुरै सुनेनन्।’
यमदूतले डराउँदै भने, ‘महाराज नेपाल मण्डलको प्रहरीले यिनैको नाउँ पठायो, त्यही भएर उनैलाई यहाँ ल्याएको हुँ महाराज!’
यमराजले ध्यानदृष्टिले हेरे अनि आदेश गरे, ‘जाउ यिनलाई ससम्मान फर्काउ! त्यस दुर्घटनामा अर्कै एक पुरूषको मृत्यु भएको छ, उसैलाई लिएर आउ!’
यमदुतले आज्ञापालन गरे। महिलालाई लिएर तत्कालै अन्तर्ध्यान भए।
उता प्रहरीले स्कुटर दुर्घटनामा मृत्यु हुनेको विवरण सच्याई पुरूषको नाम राखिसकेको थियो।
प्रकाशित: १८ पुस २०८१ १३:०६ बिहीबार