‘ज्योति साहित्य प्रतिष्ठान’ को २१३ औं शृङ्खला सम्पन्न भएकाे छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभा अध्यक्षता तथा विश्वकवि तथा संस्कृतिविद् प्राध्यापक तुलसी दिवसकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
शिखर कवि शैलेन्द्र साकार, कवि पुष्कर लोहनी र कवि तथा समीक्षक कृष्ण प्रधानद्वारा ‘नेपाली सरोकार’ मासिकको प्रकाशक तथा प्रधानसम्पादक रमा वलीलाई साहित्यिक पत्रकारिता सम्मान, कवि सुजाता अर्याललाई स्रष्टा सम्मान र सुनिता अधिकारीलाई प्रतिभा सम्मान अर्पिएकाे थियाे।
पुसको कठाङ्ग्रिंदो जाडोमा चिया र यमरीको स्वादमा रमाउँदै ज्योति साहित्य प्रतिष्ठानको आयोजनमा काठमाडौंको चिया सागर रेष्टुरेन्ट नयाँबानेश्वरमा सर्जकहरूको उपस्थितिमा २१३ औँ शृङ्खला भएकाे हाे।
कार्यक्रममा कवि अर्यालले १ नेपाली र २ अंग्रेजी गरी उत्कृष्ट तीन कविता सुनाइन्। उनकाे कविताले कार्यक्रमकाे राैनक बढाएकाे थियाे।
उक्त कार्यक्रम दिनेश शर्मा, राजबाबु श्रेष्ठ सागर, सुनिता अधिकारी, उमेश अवस्थी आदर्श, प्रमोद हालत खराब, सिद्धनारायण आचार्य, सरिता बजगाईं, युगल नारायण पन्त, सुनिल ढुङ्गाना, इन्दिरा चापागाईं, संध्या जोशी, रेणु घिमिरे, संगीता ठाकुर, युनिशा पोखरेल, इभाना अर्याल, सुजाता अर्याल, निर्मलरमण पराजुली, श्रीराम पाण्डे, राज रजक, ज्योति प्रकाश, राम गिरी, योगाज राजन, रश्मि रिमाल लगायतले आआफ्नो रचना सुनाएका थिए।
कवि अधिकारीकाे अनुसार विश्व कवि तुलसी दिवसले मन्तव्यको क्रममा जसरी मान्छेहरूमध्ये कोही पनि हेर्दा कसैसँग ठ्याक्कै मिलेको हुँदैन। त्यस्तै रचना पनि एक अर्काकाे नक्कल हुनु हुँदैन। फरकफरक हुनुपर्छ। कविता लेखेर मात्र हुँदैन। वाचन पनि प्रभावशाली हुनुपर्ने भाव व्यक्त गरेकाे बताइन्।
प्रकाशित: १५ पुस २०८१ १३:३८ सोमबार