३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

ककनीमा थाङ्का लेखन

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले एक महिने थाङ्का लेखन तालिम शुरू गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि ककनीमा सुरु भएको हो।

नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप प्रोत्साहन दिन थाङ्का लेखन तालिम सुरु गरिएको हो। तालिममा थाङ्का चित्रकलामा चासो राख्ने नयाँ तथा पुराना कलाकारलाई प्राचीन कलाको ज्ञान र सीप प्रदान गरिने आयोजक संस्थाले जनाइएको छ।

प्रशिक्षक छेवाङ ग्याल्चन लामाले सहभागीहरूलाई थाङ्का चित्रकलाका मौलिक शैली, रङ्ग संयोजन, प्रतीकात्मक महत्त्व, र चित्रांकन प्रक्रियाका विविध चरणहरूबारे व्यावहारिक ज्ञान प्रदान गरिने बताए।

यस्तै समितिका अध्यक्ष अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले तालिम अवधिभर प्रशिक्षार्थीहरूले चासोका साथ सिक्नेछ भन्ने विश्वास लिइएको बताए। ‘ज्ञान र सीप सिक्न अल्छी, बहाना बनाएर सिक्न सकिँदैन’, उनले भने, ‘सिक्नका लागि जहिले पनि चासोका साथ सिक्यो भने चाँडै सिक्ने र जान्नेछ।’

अध्यक्ष शेर्पाले यो अवसरलाई सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यावसायिकतामा अग्रसर हुन सकिने बताए।

यसअघि  सञ्चालित तालिमहरू सफल र सीपआर्जनमा टेवा पुर्याउन सहयोग पुगेकाले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको अध्यक्ष शेर्पाको भनाइ थियो।

कला संरक्षणको प्रयास - थाङ्का नेपाली कला र संस्कृति मात्र नभएर बौद्ध धर्मको महत्त्वपूर्ण पाटो पनि हो। यसको संरक्षणले सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास तालिम आयोजकहरूको छ। ‘यो तालिमले विशेष गरी नयाँ पुस्तालाई थाङ्काको मूल मर्म बुझ्न र यसलाई निरन्तरता दिन प्रेरित गर्नेछ,’ तालिम संयोजक लामाले बताए।

 यो तालिम थाङ्का कलामा चासो राख्नेहरूका लागि सुनौलो अवसर मानिएको छ। यसले नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

तालिममा इलाम, काभ्रेपलान्चोक, नुवाकोट, गोरखा, बारा, झापा, सिन्धुपाल्चोक लगायतका जिल्लाका झण्डै डेढ दर्जन प्रशिक्षार्थीकाे सहभागिता  छ।

कार्यक्रममा तालिमका संयोजक रामबाबु सापकोटा, सहप्रशिक्षक सोनाम साङ्मो, समितिका म्हारसाङ तामाङ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ८ पुस २०८१ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App