‘ शुभप्रभात!’ उसको मेसेज आयो।
‘हजुर शुभप्रभात!’ मैले जवाफ फर्काएँ।
‘चिया खानुभयो?’ फेरि प्रश्न आयो।
‘किन सम्झनुभयो?’ मैले सन्दर्भ कोट्याउन खोजेँ।
‘एकैछिन है!’ भनेर ऊ हरायो।
म सोच्न थालेँ, ‘साहित्यको संसारमा उसलाई चिनेको धेरै भएको छैन तैपनि हामी बीच कुरा कति मिल्छ? घण्टौं कुरा गर्छौं। एक अर्कालाई चिन्न कहिले घरपरिवारको कुरा गर्छौं त कहिले आआफ्ना सिर्जनाबारे भने चर्चा गर्छौं।’
फुत्त एउटा लघुकथा मेसेजमा आयो। मेरो तन्द्रा टुट्यो। लघुकथा पढेँ। उसैको रहेछ।
केही सुझावसहित जवाफ फर्काउँदै आग्रह गरेँ, ‘टाइप गर्ने मेरो औंलामा घाउ आएकाले अशुद्ध धेरै छ, मिलाएर बुझ्नू है!’
उसले तुरुन्तै सहानुभूति देखाएर जवाफ लेख्यो, ‘अहो, गाह्रो भयो भनेर आत्तिनु भएन। जीवनमा घाउ आउँछन्, जान्छन्। मान्छे धैर्यशील र सहनशील बन्न सक्छ नि!’
मैले अवस्था दर्साउँदै लेखेँ, ‘यो त निरंकुश शासकले विद्रोही साहित्यकारको कलम रोकेजस्तै पो भएको छ।’
प्रकाशित: ४ पुस २०८१ १२:०४ बिहीबार