‘गोरखनाथ बाबासँग कुरा गरेको थियो। मृगस्थलीको चौतारी दिनुभयो। तपाई तुरुन्तै आउनुहोला। लघुकथा वाचनको कार्यक्रममा बसौं।’ सुटसँग सुहाउँदो कोट र जुत्ता लगाएर म निस्किएको छु।
‘यही कारण तपाईलाई हामीले अध्यक्ष चुनेको। पशुपतिनाथलाई साक्षी राखेर यति धेरै उच्चस्थानबाट वाचेका हाम्रा लघुकथाहरू पक्कै संसारभरि पुग्छन्। म फौरन आएँ। सबै सष्टाज्यूहरू आइपुग्नुभयो?’
सचिवज्यूका कुराले म झस्किएँ र फोन लाउँदै स्रष्टा खोज्न बाटातिर लागेँ। दरर पानी दर्कियो।
मलाई हतार थियो, किनकि समय हुनै लागेको थियो। उताबाट फोन आयो, ‘खुला आकाशमुनि पानीले कार्यक्रम बस्न नदिने पर्यो र हामी रत्नपार्कको चौतारीमा बस्ने भयौं।’
‘स्रष्टाले समय बुझ्ने हो। समयलाई ध्यान नदिने सष्टा हुन सक्दैनन्।’ झुरुप्प भएका बिचबाट एक सचिव बोलिन्।
तीखा कानले सुनिहाल्यो। ‘आइपुगें,आइपुगें। सबैलाई नमस्कार! शंखघरको यो उद्यान! रत्नपार्क भनेको राज्यकै केन्द्रबिन्दु। देशभरिका युवायुवती, सखासाथी र वृद्धवृद्धा सबै आउने यहाँ। सबैको छहारी यो लघुकथा चौतारी।’
प्रकाशित: २९ मंसिर २०८१ १२:१६ शनिबार