१ पुस २०८१ सोमबार
image/svg+xml
कला

संवेदित पिताको ‘चिमोटिएको संवेदना’

पाठकीय दृष्टि

रचना शर्माकाे सुन्दर लघुकथा हो ‘फादर्ज डे’। यस लघुकथाले पुत्र पीडित पिताको संवेदनालाई प्रकट गर्ने उद्देश्य राखेको छ। पिताका लागि पुत्र महत्त्वपूर्ण हुने तर पुत्रका लागि श्रीमती महत्त्वपूर्ण हुने कथ्यलाई यसले प्रस्तुत गरेको छ।

पत्नीका पिता अर्थात् ससुराका लागि असल ज्वाइँ हुन सक्ने तर स्वयं आफूलाई जन्म दिने पिताका लागि कर्तव्यनिष्ठ पुत्र हुन नसक्ने छोराको कर्तव्यविमुखताबाट संवेदित पिताको चिमोटिएको संवेदनालाई यस लघुकथामा प्रस्तुत गरिएको छ।

समाजमा पिताप्रतिको पुत्रको बढ्दो बेवास्ता एकातिर छ भने अर्कातिर बाबुप्रति छोरीको निकटता बढ्दो छ। यसले गर्दा बाबुका लागि छोराभन्दा छोरी प्रिय बन्दै छ। बाबुले सन्तानेच्छाका रूपमा छोराको चाहना गर्ने आम प्रचलन छ। यो चाहना त्यतिबेला खण्डित हुन्छ जब छोराले बाबुप्रतिको कर्तव्यलाई चटक्कै बिर्सेर श्रीमतीको बाबुसँग निकटता बढाउँछ। यस्ता बेला छोरीको अभाव महसुस भएको देखाएर लघुकथा समाप्तितिर लागेको छ।

लघुकथामा मञ्चीय पात्रका रूपमा हरिश र यमुना छन्। दुवै पतिपत्नी हुन्। यिनकै केन्द्रीयतामा लघुकथा अगाडि बढेको छ। पत्नीभन्दा पतिको नायकत्व कथामा सबल छ।

पण्डित्याइँ गर्ने यी नायक कुशे औँसीका दिन छोराको बेवास्ताबाट व्यथित छन्। कुशे औँसीका दिन छोराको सम्झनामा आफू पर्न नसकेको तर आफूले पाउनुपर्ने स्थान बुहारीका बुबाले पाएकोबाट विचलित छन्।

यस्तो अवस्थामा आफूले जन्माउन नसकेको छोरीको अभाव महसुस गर्छन्। पत्नी यमुनाको स्वतन्त्र भूमिका छैन। उनको व्यक्तिगत चरित्र विकास पति हरिशको आज्ञाकारिताभित्र गुम्सिएको छ। यसैले नायिकाभन्दा पनि नायकको चरित्र विकासमा सहयोगीको भूमिकामा उनी सीमित छिन्। उनको चरित्र सहज ढङ्गले विकास हुन पाएको छैन। नेपथ्यीय पात्रका रूपमा दुई छोरा, उनीहरूकी पत्नी र ससुरा छन्।

यी केवल लघुकथाका लागि प्रयुक्त पात्र मात्र हुन् । यिनको पात्रता केवल नाम उल्लेख हुनुसम्म मात्र सीमित छ। छोराहरूको खलपात्रीय भूमिका भने लघुकथालाई अगाडि बढ्न सहायक बनेको छ।

तृतीय पुरुष शैलीमा लेखिएको हुँदा प्रस्तुत लघुकथा बाह्य दृष्टिविन्दुमा संरचित छ। लघुकथाको समसामयिकता अद्यापि जीवन्त छ। लघुकथाको गतिमयता सहज ढङ्गले अगाडि बढेको छ। यसमा कुनै किसिमको गम्भीर अवरोध देखा पर्दैन।

लघुकथामा स्थानगत परिवेश स्पष्ट छैन। यद्यपि ग्रामीण अथवा सहरोन्मुख गाउँ हुन सक्ने सम्भावना देखापर्छ। समयगत परिवेश भने स्पष्ट छ कुनै वर्षको कुशे औँसीका दिन हो। यो दिन वर्षमा एकपटक जहिल्यै आउँछ। जहिले आउँछ तहिले कर्तव्यविमुख छोराका कारण छोरीविहीन बाबुका लागि कष्टप्रद रूपमा आउँछ।

सङ्क्रमणकालीन सामाजिक र सांस्कृतिक वातावरणलाई लघुकथाले च्याप्पै अँठ्याएको छ। भाषाशैली सरल र बोध्य छ। सङ्क्रमणकालीन समयमा नेपालीसँग मिसिएर प्रयोग हुँदै आएका अङ्ग्रेजी शब्द पनि परेका छन्। शीर्षकसम्मै यसको अतिक्रमण छ। यो पनि एउटा परिवर्तनशील समयको विम्ब हो।  

प्रकाशित: २३ मंसिर २०८१ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App