बिदाइ प्रायः दुःखद नै हुन्छ। आफ्नो सन्तानलाई पढ्नका लागि विदेश पठाउँदाको बिदाइ होस् वा छोरीलाई राम्रो ज्वाइँसाथ पौंचाउँदाको बिदाइ। त्यस्तै लामो समय अध्यापन गरेका गुरुलाई विद्यालयबाट बिदाइ गर्दा होस् वा विख्यात खेलाडीले खेलजीवनबाट सन्न्यास लिँदाको क्षण। जीवनसाथीसँग औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेर छुट्टिँदाको क्षण अत्यन्त कष्टप्रद हुन्छ। आफन्तलाई इहलीलाबाट बिदा गर्दाको क्षण कति दुःखद हुन्छ भन्ने त कुरै गर्नुपरेन।
टेनिसका विश्वप्रसिद्ध खेलाडी रोजर फेडेररले टेनिस खेलेरै सबै चिज प्राप्त गरे, नाम, दाम, प्रतिष्ठा, सम्मान सबै सबै। एक पटक खेल जीवनबाट बिदा हुनु नै थियो। खेलाडीको यस्तो सफलतापछिको बिदाइको क्षण सुखद हुनुपर्ने हो किनभने उनले गर्नुपर्ने कर्म र पाउनुपर्ने परिणाममा कुनै कमि थिएन।
यस्तो बिदाइलाई पनि मनले सुखद मानेन। त्यो बिदाइको क्षणमा चिर प्रतिद्वन्द्वी राफेल नाडाल, जोकोभिचलगायत सबै डाँको छोडेर रोए। अझै फेडेररसँग कैयौंपटक फाइनल भिडेका राफेल नाडालले त भने– ‘जब फेडेरर सक्रिय टेनिसबाट अलग भए, मेरो जीवनको अभिन्न अंग पनि अलग भयो।’
यस्ता बिदाइका अन्तर्यमा सुखानुभूतिको अंश रहे पनि मनमा बिदाइको दुःख सलबलाइरहेकै हुन्छ।
यस्तै बिदाइको दुःखद अनुभूति मैले आज मात्र सँगालेको छु। १३ वर्षदेखिको आत्मीय सहयात्रीलाई कठोर मन बनाएर सदाका लागि बिदा गरेर आउँदैछु। मन गह्रुङ्गो भएको छ। यात्रा गर्न रुचाउने म, यात्रामा सधैं साथ दिने सहयात्रीको बिदाइ थियो त्यो। मैले यात्राको अनवरत साथीलाई अपमान गर्दै बिदा गरेको थिएँ।
अपमान पनि अनौठो थियो। मैले साथीलाई तैंले मलाई बोक्न सकिनस्, तँ पटक पटक बिरामी हुन थालिस्, उपचार खर्च पनि महँगिँदै गयो, तँलाई खाना धेरै चाहिन थाल्यो, कहिलेकाहीं यात्रामा आराम नगर् भन्दा पनि जबर्जस्ती आराम गर्न थालिस्, हेर्दा पनि बुढो र नराम्रो देखिन थालिस्, उकालोमा त हिँड्नै नसक्ने भइस् भन्दै कैयौंपटक गाली गरेको छु। यस्तो गाली उसले तीनचार वर्ष लगातार खायो।
मैले जति गाली गर्दा पनि जवाफ भने कहिल्यै फर्काएन। सकी नसकी मेरो आदेश सधैं मानिरह्यो। उसको पनि ज्यान न हो, जति जीर्ण हुँदै गयो, काम गर्ने ऊर्जामा पनि कमी आउने नै भयो। उसको ऊर्जा जति घट्दै गयो, मेरो अपमानको पारो झन्झन् बढ्दै गयो। सहनशील थियो सहयात्री। सहिरह्यो वर्षौंवर्ष। लामो समय अपमानको पीडा दिएर आज साथीको बिदाइ गरेर आएँ। बिदाइको क्षण ज्यादै नमिठो हुँदो रहेछ।
बिदाइ गरिसकेपछि पो मलाई लाग्दै छ– बिचरा, जीर्ण शरीर भएको इमानदार सहयात्रीलाई मैले त्यसरी काममा नलदाएको भए हुने, बिरामी हुँदा बेलैमा उपचार नगरी किन उसलाई काममै लगाइरहेँ होला, नसक्ने भएपछि गाउँको गोरुलाई जंगलमा छोडेझैं उसलाई परित्याग नै गर्ने निर्णय नगरेको भए पनि हुने।
भित्री रूपमा कमलो संयन्त्र भएको मान्छे हुँ म। यद्यपि, आज किन यति कठोर भएँ ? आफैंलाई थाहा थिएन। १३ वर्षसम्म बिना हिचकिचावट बोकेर ठाउँ ठाउँ पुर्याउने वाहनलाई तँ कमजोर भइस् भन्दै थोरै पैसामा बेचिदिने सामथ्र्य ममा कसरी आयो ? आखिर ऊ गुनैगुनले भरिएको प्रिय साथी नै थियो। समय पुगेपछि सबै चिज जीर्ण हुन्छन्। समयले लगाम लगाएपछि जीवन पनि चूर्ण हुँदै जान्छ। यो नियमित प्रक्रिया नै हो। यति धेरै वर्ष साथ दिने साथी आखिर त्यस्तो बैगुनी नै त थिएन।
समयले हो वा बाध्यताले, आज मान्छे झनै कृत्रिम र स्वार्थी बन्दै छ। मान्छे भन्नु नै स्वार्थको पर्याय हो भने पनि हुन्छ। आफ्नो स्वार्थ पूरा गर्न नसक्ने भएपछि मान्छेले प्रियजन अर्थात् प्रिय वस्तुलाई पनि हाँसीहाँसी बिदाइ गरेका धेरै उदाहरण हामीले देख्दै आएका छौं। आफ्नो स्वार्थ पूरा भएपछि वा पूरा नहुने अवस्था आएपछि आफूलाई जन्म दिने आमाको समेत अपमान गर्न मान्छे पछि पर्दैन।
श्रीमती ल्याएपछि आमाको अपमान गर्ने छोराहरूको कमि छैन यहाँ। स्वार्थ पूरा नहुने भयो भने सम्पन्न घरघडेरी भएका सन्तानहरूले वृद्ध भएका आफ्नै आमाबुबालाई वृद्धाश्रम पुर्याउन बेर लगाउँदैनन्। सामाजिक सञ्जाल यस्तै स्वार्थ प्रकाशन गर्ने भित्तो बनेको छ। आमाकै कारण प्रसिद्धि पाएका व्यक्तिहरूसमेत यस्ता भित्ता आमाकै आलोचना गर्दै रङ्ग्याएका पनि हामीले देखेकै छौं।
मलाई सम्झना छ, मेरो जन्मथलोभन्दा उत्तरतिरको डाँडोपारि घना जंगल छ। आमाहरू घरबाट हाराहारी एक घण्टा उकालो चढेर त्यही जंगलबाट घाँसदाउरा ल्याउनुहुन्छ। एक दिन घरमाथिको बाटोबाट पारि गाउँका दुईजना छिमेकीले एउटा बुढो गोरुलाई डोर्याएर उकालो चढाउँदै थिए। त्यो त्यही गोरु थियो, कहिलेकाहीं हामीहरूको खेतबारी जोत्न समेत ल्याउने गरिन्थ्यो।
‘बिचरा ! हाम्रो खेत जोत्ने गोरु त बुढो पो भइसकेछ। कहाँ लाँदै हुनुहुन्छ गोरुलाई ?’ मैले सोधेँ। उनीहरूले डाँडापारिको गाउँमा बेचेकाले उतै पुर्याउँदै छौं भन्ने जवाफ दिए। जोत्न नसक्ने बुढो गोरुलाई किन बेच्दैछन् भन्ने जिज्ञासा मेरो मनमा उब्जियो। अन्य जनावर भएको भए काटेर मासु खान्थे होलान्, तर गोरुको मासु खान नेपालमा वैधानिक मान्यता छैन। मेरो मनमा बुढो गोरुको हालत देखेर दया लागिरह्यो। गोरु आफ्ना मालिकका पछिपछि उकालो लाग्दै थियो।
विडम्बना ! उनीहरूले गोरुलाई डाँडापारि जंगलमा छोड्न लगेका रहेछन्। यो कुरा केही दिनपछि जंगलमा घाँस काट्न गएका आमाहरूले भनेपछि थाहा भयो। उमेर हुने बेलासम्म गाउँको खेत जोत्ने बुढो गोरुलाई बिचजंगलमा बाघले खाएको कुरा आमाले देख्नुभएको रहेछ। जंगलमा छोडिएको गोरुलाई झन्डै एक सातापछि बाघले खाएछ।
मान्छेको मन कति कठोर हुँदै छ भन्ने उदाहरण हो यो। मान्छेले जीवनभर दुहुन्छ, जब गाई बुढो हुन्छ अनि भिरबाट धकेलेर मार्छ। मान्छेले जीवनभर घरको सुरक्षा दिएको कुकुरलाई सुरक्षा दिन नसक्ने भएपछि टाढा सडकमा पुर्याएर छोडिदिन्छ। कतिपय देशमा भोका व्वाँसाहरूमाझ मान्छेलाई फालिदिएर मृत्युदण्ड दिइएका समाचार हामीले पढेसुनेकै छौं। ती जीवजन्तुलाई जंगलमा छोड्नु, भिरबाट धकेल्नु भनेको त्यसै प्रकृतिको मृत्युदण्ड हो। आज मान्छेको मन, स्वभाव अनि व्यवहार कठोरतर बन्दै छ।
मेरो बुढो सहयात्री मोटरसाइकललाई बिदाइ गर्दा यस्ता धेरै कुरा मनमा खेलिरहे। १३ वर्षदेखिको यो सहयात्रीलाई बिदाइ गरेर चिटिक्कको नयाँ साथीलाई घरमा भित्र्याएको थिएँ। सहयात्रीले वर्षौं लगाएको गुन सम्झेर मन भने तरङ्गित भइरह्यो।
‘होन्डा साइन बा. ४५ प ६८३८’ न्वारान गरिएको त्यो त्यस्तो सहयात्री थियो, जसले कहिल्यै साइकल पनि नचलाएको यो ज्यानलाई मोटरसाइकल सिकाएर काठमाडौंको व्यस्त सडकमा निर्धक्क कुद्ने बनाएको थियो। त्यही सहयात्रीकै कारण ‘हेलमेट टिचर’ उपाधि पाएको थिएँ।
बिहान दिउँसो गरेर गोडा चारेक कलेजका झन्डै एक दर्जन कक्षाकोठाका सेता पाटीमा काला अक्षर पोत्न भ्याएको थिएँ। मलाई ‘हेलमेट टिचर’ भन्दा भित्रैदेखि आनन्द आउँथ्यो। पत्रकारिता कर्म सकेर मध्यराततिर वासस्थान पु¥याउने निर्विकल्प साथी पनि त्यही थियो। मोटरसाइकल जति नयाँ थियो, कलेजमा दिने समय र ऊर्जा पनि नवीन नै थियो।
आखिर समय न हो, घर्किंदै गयो, मोटरसाइकल पनि पुरानो हुँदै गयो। मोटरसाइकल मात्र कहाँ हो र, मेरो मन पनि जीर्ण हुँदै रहेछ क्यारे, त्यही मोटरसाइकललाई बहाना बनाएर कतिपय समयमा काममा ढिलासुस्ती समेत गर्न थालियो। जीर्ण मोटरसाइकल नै आफ्ना कमजोरी ढाक्ने साधनसमेत बन्न थाल्यो। बिहान उठ्न ढिला भयो भने ‘चिसोमा मोटरसाइकल स्टार्ट नै भएन, मोटरसाइकल पन्चर्ड भयो, तेल लिग भएछ, तेलको लाइनमा छु, थोत्रो मोटरसाइकलले दुःख दियो’ जस्ता बहाना बनाउन सजिलो हुन थाल्यो।
म प्रायः यो सहयात्रीलाई बाहिर छोडेर ठुला ठुला पार्टीमा घण्टौंसम्म हराउँथेँ। म पेटभर मिष्ठान्न भोजन गरेर मध्यरातमा बाहिर आउँदा प्रिय सहयात्रीले कुरिरहेकै हुन्थ्यो। कहिलेकाहीं त भित्रबाट केही खानेकुरा ल्याएर वाहन साथीलाई दिऊँ कि जस्तो पनि लाग्थ्यो। यद्यपि निर्जीव तर इमानदार साथीले त्यस्ता भोजन ग्रहण गर्ने कुरा आउँदैनथ्यो। यो त मेरो मनको भावना मात्र न थियो।
एकपटक पुसको जाडोमा मेरो मोटरसाइकल काठमाडौंको धोवीखोलाछेउको सडकमा भुलवश रातभरि छोडेछु। बिहान काम विशेषले निस्कँदा मोटरसाइकल आफ्नो वासस्थानमा थिएन। मोटरसाइकल चोरी भयो भनेर मन भुटभुटियो। एकैछिनपछि हिजो मोटरसाइकल घरमा नराखी बाहिर सडकमै छोडेको सम्झना भयो। खोलाछेउमा मोटरसाइकल बसिराखेको थियो।
मनमा लाग्यो– यो शून्य डिग्रीको चिसोमा बिचरा मोटरसाइकल खोलाछेउमा बसेर कुरिराखेको छ। मोटरसाइकलको इमानदारी सम्झेर मन कुँडियो। मोटरसाइकल उमेरदार हुँदा यस्ता भावना बढी आउँथे। अझ भर्खर घरमा भित्रिएका बेला त साह्रै माया लाथ्यो यस सहयात्रीको। जब सहयात्री पुरानो हुँदै गयो, वृद्ध हुँदै गयो, मेरो मायामा पनि फिकापन थपिँदै आयो। वृद्धावस्थासँगै सहयात्रीको तन जीर्ण बन्दै थियो, यता सहयात्रीको जीर्णपन देखेर मेरो मन कठोर बन्दै थियो।
हुन त यहाँ आएपछि एक दिन जानु नै पर्छ। उमेर हुन्जेल सधैं यस्तै ऊर्जा रहिरहन्छ भन्ने मिथ्या भ्रमले छोपे पनि यथार्थ भिन्न छ। सजीव–निर्जीव सबै वस्तुको यात्रा उस्तै हो। कुनैमा क्षणिक समयका लागि प्राण भरिएको हुन्छ, कुनै निष्प्राण हुन्छन्।
आखिर फरक यत्ति हो। क्षणिक प्राणप्राप्त काय पनि एक दिन निष्प्राण बन्ने नै हो। अर्थात् जीवन्त वा निर्जीवन्त जस्तो यात्रा भए पनि आगमन भइसकेपछि बिदाइ अनिवार्य हुन्छ। यद्यपि मैले नबुझेको कुरा– जीवन्त–निर्जीवन्त समस्त चिजबिजबाटै ब्रह्माण्ड बनेको हो तर बिदाइपश्चात् यी सबै जान्छन् चाहिँ कहाँ? पृथ्वीमै, ब्रह्माण्डको कुनै अर्को कुनामा वा ब्रह्माण्डभन्दा पनि पर?
प्रकाशित: २२ मंसिर २०८१ ०६:५० शनिबार