१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

यात्राका प्रेरणादायी पलहरू

निबन्ध

यात्रा एउटा पुस्तक हो। अनेक तस्बिरको एलबम हो। अनेक समयका दस्ताबेजको कोलाज हो। अनेक सम्झनाको पोको हो। यसका प्रत्येक पाना स्मृतिले भरिएका हुन्छन्। ती सम्झना मनको मझेरीभित्र रहन्छन्। यसलाई खोल्न थालेपछि हरेक पटक यात्रा झलझली सम्झिन्छ। यात्रा भनेको दुरी नाप्ने साधन मात्र होइन। यो आत्माको रहर पूरा गर्ने एउटा यात्रा पनि हो। ती मोड, ती दृश्य र ती अनुभव सबैका भोगाइ जीवन भर ताजा भएर मनमा उर्लिरहन्छन्।

कैयौं पटक मैले पहाड र हिमाली भेगको यात्रा गरेँ। कतिपय यात्राले यादहरू सदा जीवित राख्छन्। भर्खर बिहानको घाम पहाडका काखमा अँगालो मार्दै गरेको दृश्य। हिमाललाई सुनले नुहाएको दृश्य। शीतले माटोलाई ढाकेको दृश्य।

यी सबै दृश्यमा प्रकृतिको कोमल स्पर्श झल्कन्छ। चराको चिरबिर आवाज र गाउँलेको सहज मुस्कानले मलाई आत्मीयता महसुस गराउँछ। बाटोमा भेटिएका छहरा र छाँगाहरू। ती फूल, कलकल बगिरहेका जरुवा चिसो पानी। अनि काठमाडौंको कोलाहलबाट टाढा रहेको शान्तिले मेरो मनलाई विश्राम दिइरहेको थियो।

मलाई अझै पनि सम्झना छ-एउटा सानो चियापसल, जहाँ मैले स्थानीय चियाको स्वाद चाखेँ। डढेको दुधमा पाकेको चियाको स्वादै बिर्सिनसक्नु थियो। त्यो मिठासमा मेरो जिब्रोले मुख मिठ्याइरह्यो। तृप्तिदायक त्यो स्वादले बेलाबेला घुटुघुटु थुक निलिरह्यो। यसरी त्यो गाउँले चिया र चिया पसलमा भेटिएका मान्छेले मेरो हृदयमा मिठो छाप छोडेको थियो। यात्रामा जम्काभेट भएका अनजान अनुहारहरूसँग गरेको छोटो कुराकानीले गाउँघरका धेरै जानकारी दिन्थ्यो। त्यसले मेरो जीवनलाई नयाँ दृष्टिकोण दिएको थियो।

यात्रामा प्रत्येक पाइला नयाँ कथा बनेर आउँछन्। कहिले झरनाको छेउमा बसेर आत्माको हल्कापन महसुस गरिन्छ। कहिले चट्टानी बाटोमा सङ्घर्ष गर्दै यात्रा पूरा गरिन्छ। ती क्षणहरू जीवनमा सुखद सम्झनाका रूपमा रहिरहन्छन्। यात्रा गरिसकेपछि पनि ती अनुभवले हाम्रो भित्री जीवनलाई समृद्ध बनाइराख्छन्। ती यादहरू दिमागमा मात्र होइन, हाम्रो सोच र दृष्टिकोणमा पनि घुलमिल भइहाल्छन्। हरेक यात्राले केही मिठो शिक्षा दिन्छ र जीवनलाई अझ सुन्दर बनाउँछ।

अन्ततः यात्राका मिठा यादहरू जीवनका ती क्षण हुन्, जसले हरेकचोटि हामीलाई पुराना अनुभवसँग पुनः जोडिदिन्छ। ती यात्रा फेरि गर्न नसकिएला तर ती सम्झना कहिल्यै पुराना हुँदैनन्। कहिलेकाहीं सपनामा पनि ती दृश्यहरू देखिन्छन्। र, हामी फेरि ती दिनहरूतिर फर्किन्छौं।

जीवनलाई नयाँ दृष्टिकोणबाट बुझ्न यात्रा एक उत्कृष्ट माध्यम हो। यात्राले नयाँ ठाउँ, संस्कृति र मानिसहरूसँग साक्षात्कार गराउँछ, नौलोपनको अनुभूति गराउँछ, हामी आफैंलाई पनि नजिकबाट चिन्न मद्दत गर्छ।

त्यसैले मैले गरेको प्रत्येक यात्राको याद, ती उकाली–ओराली, भन्ज्याङ, देउराली, बाटोघाटो, दृश्य र क्षणहरूले मेरो जीवनको एउटा भाग बनाएका छन्।

यात्रा एउटा गन्तव्यको कथा मात्र होइन, यो प्रक्रिया स्वयम् अनमोल अनुभव हो। हिमालहरूको काखमा हिँड्दा, हावाको स्पर्शले जीवनलाई नयाँ तरङ्ग दिन्छ। देउरालीमा बिसाएर प्रकृतिलाई नियाल्दा अर्कै आनन्द मिल्छ। प्रकृतिको विराट वैभव र ती सौन्दर्यलाई हेरिरहँदा यात्राको थकान भुलिन्छ। ती देखिएका शिखरहरू, सेता बादलसँग खेलिरहेको सूर्यको रङले भरिएको आकाश र तल बगिरहेको नदीको सङ्गीतले मनलाई शान्त बनाउँछ।

प्रत्येक गाउँका ग्रामीण जीवनमा जीवन्त जिन्दगीको सुगन्ध भेटिन्छ। ती सुगन्धले दुःखमा पनि हाँस्न सक्ने शक्ति दिन्छ। आपसमा मिलेर बस्ने मित्रता हुन्छ। गाह्रोसाह्रोमा सघाउने मन हुन्छ। यसका साथै ती प्रत्येक गाउँलेका जीवनले अनेक कथा बोकेका हुन्छन्। त्यहाँका मानिसको आत्मीयताले हार्दिक मनलाई चिनाउँछ। उनीहरूको साधारण जीवनले वास्तविक खुसीको मर्म बुझाउँछ।

यात्राका क्रममा, हरेक घुम्तीले नयाँ आशा र रहस्य ल्याउँछन्। एकपटक जङ्गलको बाटो हिँड्दै गर्दा हरियालीको विशालताले मलाई प्रकृतिप्रति कृतज्ञ बनायो। चराहरूको गीतले मेरो हृदयलाई प्रकृतिको सङ्गीतसँग एकाकार गरायो।

जीवन आफैं एउटा यात्रा हो, जहाँ प्रत्येक मोडले नयाँ कथा र प्रत्येक पाइलाले नयाँ पाठ दिन्छ। हरेक यात्राले हामीलाई आफ्नो भित्री संसारसँग जोड्न सक्षम बनाउँछ। यात्राले आफ्नो गाउँठाउँ, प्रकृति, भूगोल र समग्रमा देश चिनाउन मद्दत गर्छ। ती स्मरणीय र प्रेरणादायी पलहरूको शृङ्खला बन्न पुग्छ।

पदयात्रामा थकाइको हिसाब गर्नु हुँदैन। बरु देखेको दृश्य, भेटेको मान्छे र प्रेमिल मनलाई सम्झिरहनुपर्छ। त्यहाँ प्रेरणा छ नयाँ सुरुवातको, अगाडि बढ्न सक्ने विश्वासको। यो दृश्यले सिकाउँछ जीवनका कठिन क्षणमा पनि उज्यालोको आशा अन्ततः आइपुग्छ।

अनायासै चिसो हिमाली हावाको झोक्का अनुहारमा पर्दा मनलाई यस्तो अनुभूति हुन्छ, जसले शीतल महसुस गराउँदै सिर्जनशीलताको द्वार खोलिदिन्छ। ती झोक्काहरू केवल हावा होइनन्। यात्राका यी पलहरू मात्र नभई प्रकृतिको गीतजस्तै सुनिन्छन्। ती प्रकृतिका सन्देशवाहक हुन्, जसले भन्छन्-तिमीले अगाडि हेर्नुपर्छ, आफूलाई पछाडि रोक्नुपर्ने छैन। अगाडि बढेपछि नै पाउने कुरा धेरै भेटिन्छन्।

पिठ्युँमा भारी भए पनि आँखाको दृष्टिमा खुल्ने नयाँ दृश्यले अगाडि बढ्न प्रेरित गर्छ। प्रत्येक पाइलामा प्रफुल्लित हुने प्रेरणाको स्रोत त्यही हुन्छ। स्वच्छ हावा, सेता हिमाल र हरियाली।

यो प्रकृतिले दिएको उत्साह हो, जसले भन्छ-जीवनको भार जति भए पनि तिमीलाई अघि बढ्न रोक्न सक्दैन। तिमी अघि बढ्न नछोड। यात्राका प्रेरणादायी पलहरू गुमाउने गल्ती नगर।’

यात्रामा भेटिएका मानिससँगको संवाद पनि प्रेरणाको ठुलो स्रोत हो। उनीहरूको संघर्ष, उत्साह र सौहार्द देख्दा आफ्नो जीवनका चुनौतीहरू साना लाग्छन्। एउटा मुस्कान, एउटा सहयोगको हात र एउटा प्रेरणादायी कथा पर्याप्त हुन्छ हामीलाई अझ बलियो बनाउन।

आफू हिँडेको बाटो, देखेको दृश्य र भेटेका मान्छेलाई हत्तपत्त बिर्सन नसकिने कारण गहिरो मनोवैज्ञानिक र भावनात्मक प्रकृतिसँग जोडिएको छ। यसका केही मुख्य कारणहरू छन्।

हिँडेको बाटो र देखेको दृश्यले स्मृतिमा गहिरो छाप छोड्छ। विशेष गरी, जब अनुभवहरू प्रकृतिको सुन्दरता, चुनौतीपूर्ण यात्रा वा आत्मीय क्षणहरूसँग जोडिन्छन्, तिनीहरू स्वतः स्मरणीय बन्छन्। तिनले हामीलाई हाम्रो आगामी यात्रामा हिँड्न सजिलो पार्छन्। साथ दिँदै सकारात्मक ऊर्जा प्रदान गरिरहन्छन्।

देखिएका दृश्यहरूको प्रभावले हाम्रो भावनालाई प्रकृतिसँग नजिक लैजान्छ। त्यही निकट नाताले हामीमा सरल, शान्त स्वभाव विकसित हुन थाल्छ। भेटिएका मान्छेसँगका कुराकानी, तिनका कथा र आपसी अनुभवले ती क्षणलाई व्यक्तिगत बनाउँछ। ती अनुभवले हाम्रो हृदयमा आत्मीयता र सम्बन्धको नयाँ अनुभूति गराउँछ, जसलाई सजिलै बिर्सन सकिँदैन।

यात्रा गर्दा शरीरले थकान महसुस गरे पनि मनले उत्साह र आनन्दको अनुभव गर्छ। यात्राका प्रेरणादायी पलहरूले हामीलाई प्रत्येक क्षण हिँड्न, हिँडिरहन, देख्न, देखिरहन प्रेरित गरिरहन्छन्। यस्ता संवेग र अनुभूतिहरू स्मृतिमा लामो समयसम्म रहिरहन्छन्।

हाम्रो मस्तिष्कले यात्रा वा नयाँ अनुभवसँग सम्बन्धित विशेष क्षणहरूलाई तस्बिरको रूपमा सङ्ग्रह गर्छ। ती स्मृतिहरू कुनै गन्ध, दृश्य वा अनुभवसँग सम्बन्धित भएर सजिलै पुनः सक्रिय हुन्छन्। हाम्रो जिज्ञासा र जीवनलाई बुझ्न खोज्ने स्वभावले यात्रा र अनुभवहरूको महत्त्वलाई गहिरो बनाउँछ। यात्रामा भेटिएका मान्छेसँगको आत्मीयता र तिनको विविधता स्मृतिमा अमिट रहन्छ।

त्यसैले हिँडेको बाटो, देखेको दृश्य र भेटेका मान्छेहरू यात्राका यात्री मात्र हुँदैनन्। तिनीहरू हाम्रो जीवन कथाका महत्त्वपूर्ण अंश बन्छन्। समय बितेपछि पनि ती क्षणले हाम्रो स्मृतिलाई ताजा राख्छन्। ती पल प्रेरणादायी बन्छन्।

गन्तव्यमा पुग्ने साधन मात्र यात्रा होइन। यो आफ्नो आत्माको पुनः खोज पनि हो। हरेक आरोहअवरोहले हामीलाई जीवनमा सन्तुलनको महत्त्व सिकाउँछ। जब यात्राको अन्त्यमा हाम्रा पाइताला थाकेर बस्न खोज्छन्, मन भने ऊर्जावान हुन्छ, यात्राका प्रेरणादायी पलहरूको सङ्ग्रहले भरिपूर्ण।

यी पलहरू हामीसँग सधैंका लागि रहन्छन्। भविष्यमा जब जीवनको बाटो मुस्किल हुन्छ, तिनीहरू एक दीपशिखा बन्न पुग्छन्। यात्राका यिनै पलहरूले हाम्रो जीवनलाई अझ गहिरो अर्थ र उद्देश्य प्रदान गर्छन्। नजानिँदो किसिमले हामीलाई बाँच्ने प्रेरणा पनि दिन्छन्।

कुनै पनि यात्रा बाहिरी संसारको अनुभव मात्र होइन। यो एक प्रकारले आत्माको यात्रा पनि हो। हरेक परिदृश्यले नयाँ दृष्टिकोण दिन्छ, हरेक भेटले नयाँ सोचको ढोका खोलिदिन्छ। यात्रामा गरेका तिनै अनुभव, साना खुसीका क्षण जीवनभरि सम्झनामा बस्छन्।

यात्राका यादहरू तस्बिर र सम्झनामा सीमित हुँदैनन्। ती यादले हामीभित्र एउटा गहिरो परिवर्तनको बीज रोपेर जान्छन्। ती यात्राका क्षणहरूले हामीलाई अझ सजग, अझ सहिष्णु र अझ कृतज्ञ बनाउँछन्। जीवन भनेको यात्रा नै त हो, जसमा गन्तव्यसँगै यात्रा गर्ने प्रक्रिया पनि महत्त्वपूर्ण छ।

प्रकाशित: १५ मंसिर २०८१ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App