गत साता यलमाया केन्द्र पाटनढोकाको खुला आँगनमा राखिएको एउटा ठुलो पर्दामा केही दृश्य चलिरहेका थिए। ती दृश्यमा देखिएकी एकजना पात्रलाई मैले २०५७ फागुन तेस्रो सातातिर भेटेको थिएँ।
एउटी भर्खरकी किशोरीको सक्रियता देखेर म आश्चर्यमा परेको थिएँ। अस्मिता नामकी ती केटी अरू कोही नभएर देवी खड्का थिइन्।
उनी एउटा गम्भीर पीडा मनमा लिएर यथार्थमै शोकलाई शक्तिमा बदल्न उद्यत थिइन्। सुरक्षा निकायको कब्जामा परेर गुमाएको अस्मिताको बदलामा उनी अस्मिता नै भएर सक्रिय थिइन्। त्यो बेला मैले तिनको सक्रियताबाट प्रेरित हुँदै लेखेको थिएँ– ‘बन्दुक बोक्ने सुन्दरी अर्थात् अस्मिता र अस्मिताहरू।’
अरू धेरै अस्मिताहरू गुमनाम थिए। छन त ती कोही द्वन्द्व क्षेत्रमै सक्रिय थिए, कोही माओवादीका प्लाटुनभित्र र कोही थिए राज्यका कालकोठरीभित्र। तर, तिनले आफ्नो अस्मिता गुमाउनुपरेको अवस्थालाई व्यक्त गर्न सकेका थिएनन्।
२०५२ फागुन १ देखि मुलुकमा सुरु भएको ‘दीर्घकालीन जनयुद्ध’ को पटाक्षेप २०६३ मंसिर ५ मा बृहत् शान्ति सम्झौतापछि भयो। द्वन्द्वमा सरिक लडाकुहरूको व्यवस्थापन भयो। अन्य पीडितहरूका निम्ति केही न केही व्यवस्थापन हुँदै आयो। शान्तिकालमा पनि मौन चित्कार गरिरहेकाहरूको पीडा उस्तै थियो।
देवीले आफैंभित्र मर्दै र बाँच्दै आफूलाई अगाडि लगिरहेकी थिइन्। उनका दाजु रितबहादुर खड्का द्वन्द्वकालमै मारिए। परिवारका निम्ति त्यो छोरो नमारिएर छोरी मारिएको भए हुन्थ्यो भनेजस्तो अवस्था थियो।
देवीमाथि अन्याय गर्नेले नै उनलाई चुप लगाइसकेका थिए। तर, परिस्थितिले उनलाई चुप लाग्न दिएन। उनीजस्तै आवाज नभएकाहरूलाई आवाज दिनुपर्ने जिम्मेवारीले उनलाई झन् बढी आह्वान गर्न थाल्यो। सांसददेखि मन्त्रीसम्म भइसकेकी देवी ती पीडित अन्य देवीहरूकी अगुवा बन्न बाध्य भइन्।
यिनै देवीको पत्रकार सुविना श्रेष्ठसँग भेट हुन्छ। मुलुकका सञ्चार माध्यममा पहिल्यै काम गरिसकेकी सुविना अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिरालगायतमा सक्रिय भएपछि अन्तर्राष्ट्रिय रूपमा समेत चम्किन थालिन्। तर, देवीहरूको पीडामा उनको समभावले चुप लाग्न दिएन। उनीहरूको संघर्षलाई पहिल्याउँदै जाँदा बन्न पुगेको छ वृत्तचित्र ‘देवी’।
द्वन्द्वका बेला अंगभंग भएका, मारिएका र अन्य पीडा भोगेकाले कुनै न कुनै किसिमको सम्बोधन पाएका छन्। तर, सबैभन्दा ठुलो क्षति भोगेका र भित्रभित्रै खण्डहर भएका अस्मिताहरूले भने आफूलाई प्रस्तुत गर्न सकेका छैनन्। देवीमार्फत् तिनको त्यही पीडादायी अवस्था र फेरि संगठित हुनुपर्ने बाध्यताको कथा उजागर भएको छ।
देवीको त्यही संघर्षलाई मनन गर्दै गत वैशाख ११ गते हामीले नेपाल रिपब्लिक मिडियाको वार्षिकोत्सवका बेला ‘नागरिक नायक’ का रूपमा सम्मान गरेका थियौं। तिनका त्यतिबेलाका अभिव्यक्तिले पाटन संग्रहालयमा आयोजित समारोहका सहभागीलाई उद्वेलित तुल्याएको थियो।
द्वन्द्वकालमा विभिन्न रूपमा अस्मिता गुमाएका र अहिले गम्भीर मानसिक र शारीरिक समस्या भोगिरहेका ती महिलाको सम्मेलन गर्ने, तिनलाई संगठित गर्ने, तिनको उपचारको व्यवस्था गर्ने र अन्य आवश्यक सबै रणनीतिका निम्ति देवीले काम गरिरहनुपरेको छ। उनीहरूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई साथैमा राखेर यी पीडा सुनाएका पनि थिए। दाहाल स्वयम्ले ‘जनयुद्ध’को नेतृत्व गरेका भए पनि त्यो तहको अन्याय भोगेका महिलाहरूको पीडा सम्बोधन हुन नसकेको विषय बल्ल थाहा पाएको बताएका थिए।
यस्तो पीडामा रहेका महिलाका मुद्दा सत्य निरूपणमा समेत दर्ता भएका छन्। कैयन्का मुद्दा अझै सतहमा आउन सकेका छैनन्। अझै जित्न नसकिएको यो युद्धको तस्बिर बोकेको वृत्तचित्रले ‘फिल्म साउथ एसिया’को मञ्च पाएको थियो। त्यहाँ मञ्च मात्रै पाएन, एउटा अव्यक्त पाटो उजागर हुँदा धेरैले आश्चर्य प्रकट गरेका छन्।
अहिले सरकारले सत्य निरूपण र मेलमिलापको विषयलाई टुंग्याएर शान्ति प्रक्रियालाई बिसाउन चाहेको छ। तर, महिलाहरूले द्वन्द्वकालमा गुमाएको अस्मिताको हिसाब नगरी यथार्थ शान्ति अझै आउने छैन। त्यसका निम्ति यो वृत्तचित्र पाटनढोकाजस्तै देशका विभिन्न ठाउँमा देखाइनु र त्यो बेलाको पीडालाई अनुभूत गर्नु आवश्यक छ।
वृत्तचित्रमा उनका संघर्षका विषय छन् नै। यथार्थमा भने कानुनमा परिवर्तन र ती महिलालाई सम्बोधन गर्ने पक्षलाई राज्यले स्वीकार गरेको छ। यसकारण पनि देवी ती पीडित महिलाका निम्ति यथार्थमै देवी बनेकी छन्।
प्रकाशित: १५ मंसिर २०८१ ०७:२१ शनिबार