कालापत्थरबाट सगरमाथा शिखर परिवेशका बिहानी सुनौलो छटा ! सुन पोखिएको हिमाल थियो। मिर्मिरे बिहानीको प्राकृतिक काया–कलेवर धूमिल देखिन्थ्यो। र, त्यो निर्वस्त्र सौन्दर्यको स्वरूपमा देदीप्यमान थियो। खुलेको परिवेशमा नौलो उमङ्गले मन उडिरहेको थियो।
तुवाँलो, धुलोमैलोको तुस पनि नहुँदा मौसम मनोरम लाग्थ्यो। खुला, एकदमै स्निग्ध। जति हेरे पनि आँखा नतिर्मिराउने। हेरिरहूँ लागिरहने। भर्खरै पानी परेर पखालिएजस्तै कञ्चन। नुहाएर पारिलो घाममा सुतिरहेको जस्तै सफा र ताजा।
क्रमशः हावासँगै बहँदै–बहँदै। हिमनदीसँग बग्दै–बग्दै। हिउँसँग पग्लिँदै–पग्लिँदै। कठिन उकालो उत्सुकताले उक्लिँदै। साहसले अघि बढ्दै। धैर्यले लम्किँदै। उचाइमा पुगेर हेर्नुका असीमित चाहनाहरू।
हिमालका शिरदेखि सुनौला घामका किरणहरू पोतिएर अनौठो दिव्य रूप दृष्टिगोचर हुन्थ्यो। त्यसलाई हेरेर कतिन्जेलसम्म हेरिरहनु !
अन्ततोगत्वा सौन्दर्य–स्वरूपको पराकाष्टा थियो त्यो।
मायाको हार्दिक प्रेमले चुमिरहेको दृश्य। यौटा विछट्टकै स्वप्न–संसार थियो।
तिनलाई आफ्नै आँखा सामुन्ने हेर्नुका अनुच्छेदहरू कति–कति। यस्तो अनुपम मौकालाई कदापि पनि गुमाउनु हुँदैन। थकित आँतले कहाँ हरेश खानु र ! दुखेको पैताला, घुँडाका जोर्नीहरूले कहाँ दुखाएको महसुस गर्नु र ! अन्तिम गन्तव्यको प्रथम साक्षात्कार। दृश्यमान स्वप्निल सौन्दर्यका साम्राज्यहरू ! निःशब्द मनका चुपचाप सन्नाटाहरू। रहर र रहस्यका सम्हाली नसक्नु काउकुतीहरू।
देखिएको दृश्य छिनभरमै फेरिएला कि भन्ने डर। अनि हत्पत फोटो खिच्ने ताउरमाउर। हेरेरै तृप्त हुने कति जनाको मनसाय। बोलेर व्याख्या गर्दै सबैलाई जानकारी दिनेहरू पनि त्यत्तिकै।
कालो पत्थरमाथि ज्यान जोखिम मोलेर उभिएका यात्रीहरू। चिसो सहेर, कठिनाइ बिर्सेर हेर्ने मोहले मोहनी लागेर।
५,६४४ मिटरको उचाइमा एकाबिहानैदेखि भिडमभिड पदयात्रीहरू। आनन्द लिन र प्रकृतिमा विलीन हुनलाई विश्वप्रसिद्ध गन्तव्य यो। त्यही भएर यहाँ पटक–पटक आइरहन्छन् पदयात्रीहरू। मुख्य कुरा यहाँको अलौकिक प्रकृति र त्यसको अवलोकनले आनन्दित हुन लालायित यात्रीहरू।
उकालो छिचोलेर बामे सर्दै भर्खरै आइपुग्नेहरू। उनीहरूले त्यो दुर्लभ दृश्य देख्न नपाउँदाको खिन्न बनेका निन्याउरा अनुहारहरू। ‘हेत्तेरी अब कहिले देख्न पाउनु सूर्योदयको रक्तिम लाली ?’ थक्क–थक्क बनेका मायालु बोली।
तथापि हेरेर परितृप्त हुने र हेर्न नपाएर पछुताउनेहरू हर्षले रुने र हाँस्नेहरू सराबरी हुने देखियो।
हिलाम्मे सेता हिउँका बरफहरू पहाडका शिरदेखि फेदसम्म। त्यहाँ कुनै वनस्पति थिएन। फूलका मुस्कानमय उपस्थिति पनि देखिएन। तर कल्पना मनोलोकमा अनेकौं फूलहरूका धवलकुसुमले आहा, मनै आनन्दित ! उर्वर आँत, प्रफुल्लित तन–मन। अर्बौं हर्षका बिम्बहरू।
वातावरण अलौकिक सौन्दर्यले तरङ्गित। अनि कल्पनाका अनेकौं पुष्प–कुसुमका रङहरू, सुगन्धहरू। मगमग बासनासँगै सुवासित। भिरपाखा, पाटनहरू हुँदै साना–साना पसल र पदयात्रीका नाकसम्म आइरहेको।
प्रकृतिको सुगन्धजस्तो मिठो मादक पल अरू केही हुँदैन। हुन सक्दैन रहेछ। प्रकृतिकै काखमा प्रकृतिबाटै प्रारम्भ। हामी सबै प्रकृतिमै खेल्छौं, रमाउँछौं। प्रकृतिमै अन्त्य। प्रकृतिमै विलीन।
निरन्तर सिलसिला जीवनको। क्रम यथावत अनवरत। कहिलेकाहीं कल्पना पनि मिठो हुन्छ। विपनामा साकार नहुने सपनाजस्तै। तर यो कल्पना यथार्थमा परिणत थियो। कल्पनातीत दृश्यका ताँतीहरूले।
किनभने फूल थिएन हिमालमा। तर फूलहरूकै अनेकौं रङहरू व्याप्त। फूलहरूकै सुगन्धमय वातावरणले मगमग। अर्कै संसारको सयर गरेको जस्तो। अर्कै भू–स्वर्गमा पुगेको जस्तो। हुन पनि हो यो खुम्बुक्षेत्र धर्तीको अनुपम र विश्वप्रसिद्ध पदयात्रा स्थल हो। प्रत्येक हेराइमा हेर्नुको अहोभाग्य प्रस्तुत। देख्नुको सौभाग्यमा सौन्दर्यमय प्रकृति सार्वजनिक। कुन र कस्तो वाक्यको शब्दालङ्कारले सम्बोधन गर्नु ? सर्वोच्च शिर सामुन्नेको विराट भूतलमा पुगेर कुन कृतज्ञताको शब्दले सम्बोधन गर्नु ? सौन्दर्यको महासागरमा हर्ष र गर्वले नतमस्तक भई निःशब्द हुनुबाहेक अरू के गर्नु ?
जहाँ उपस्थित थिए– जिन्दगीका सप्रेम खुसीहरू। कल्पनातीत दृश्यका मिठासले भरिभराउ। अनुभूतिगम्य भावनाका भेलहरूमा अलग्ग अस्तित्व निर्माण गर्दै। यात्राको आनन्दले हर्षविभोर हुँदै। विकट बस्तीमा पर्यटनले धानेको खुसीहरू !
प्रत्येक पाइलापछि फेरि अर्को रहस्यको क्षितिज। हरेक दृश्यमा स्वप्निल सौन्दर्यका मुना–मुजुराहरू निस्फिक्री मौलाइरहेका। हलक्क हुर्किरहेका। उपलब्धिको उचाइ सगरमाथा जत्तिकै अग्लो। खुसीको सीमा आकाश जत्तिकै अनन्त।
आँखाहरू एक्लै दृश्यहरूमा विचरण गरिरहेका। मनमा शान्त, सुन्दर, शीतल विचारहरू उत्पन्न भइरहेका।
मानौं, अब हेर्नुको सीमा यहाँबाट अरू केही हुन सक्दैन। देख्नुको सौन्दर्य योभन्दा अब अर्को हुनै सक्दैन।सोचाइको सागर अब यहाँभन्दा अग्लाइ पुग्न सक्दैन। अनुभूति सँगाल्नुको महासागर पुग्न अब धेरै बगिरहनुपर्दैन।
हेरेर अघाउनुको भोक अब यहाँभन्दा बढी जाग्नुहुँदैन। देखेर तृप्त हुनुको रहर अब यहाँभन्दा धेरै हुनुहुँदैन। संसारकै सर्वोच्च सौन्दर्य सम्मुख पुगिसकेपछि अब मृगतृष्णा मन बाँकी राखिराख्नुहुँदैन। यहाँभन्दा राम्रो दृश्य अब अरू देख्नु बाँकी छैन।
लोभी नयनलाई हेर्नुको भ्याइ–नभ्याई। यता हेर्नु कि, उता देख्नु ! आँखामै नअटाउने जताततै सुन्दरताका बिस्कुनहरू। तिनले आँखै तिर्मिराउने। मन त्यसमै रमाउने। भोको पेटमा पनि अघाउँजी। चिसो ठिहि¥याउने जाडोमा पनि हपहपी गर्मी !
हृदयले सौन्दर्यपानसँगै नवीन सिर्जनाकर्मको साधना गर्न तत्पर भइरहेको। उर्वर ऊर्जाशील मन सिर्जनामा रम्न र रमाउन हतार भइरहेको थियो।
अन्ततः प्रकृतिको स्वप्निल सौन्दर्यको रसास्वादनका निम्ति स्वतः हार्दिक निम्तो। त्यही निम्तो मान्न देश–परदेशबाट ओइरिरहेका एकभन्दा अर्को हजारौं पदयात्रीहरू। आहा, ती उत्सुक र लोभी आँखाहरूले हेर्नुसम्म हेरेर पनि ‘आँखा’ नलागेका गौरवममय हिमाली सानहरू !
पाहुनालाई सधैं लोभ्याइरहने हिमाली प्रकृति, संस्कृति र परिवेशहरू कति–कति। यिनैले निम्त्याइरहेका, बोलाइरहेका र आकर्षित गरिरहेका कैयौं दुरी टाढाका यात्रीहरूलाई। उहिल्यैदेखि अहिले झन् बढी आइरहेका पाहुना यात्रीहरू। निर्दोष पाखापखेरा, झरना, नदीहरू, उकाली र ओराली, देउरालीहरूले स्वागत गरिरहने। हिँड्नुका आलस्य र थकाइका पीडा सबै बिछट्टका हिमाली मुस्कानमय सुन्दर दृश्यहरूले बिसाइदिने रहेछ।
यस्तो प्राकृतिक सौन्दर्यको शीतल शड्ढयामा मस्त–मस्त आँखा र मन। यसरी आह्लादमय पलको आस्वादन गरिरहेका थिए। लाग्यो, योभन्दा अब अर्को सौन्दर्यपान गर्नु छैन। योभन्दा अब अर्को दृश्य–संसारमा पुग्नु छैन। यही नै अन्तिम गन्तव्य। यही नै प्रथम साक्षात्कारको अनुपम सौन्दर्य।
सात समुद्रपारिबाट आएका पाहुनाहरूको कुरा मेरो कानमा अनुगुञ्जित भइरहन्छ पटक–पटक– ‘यस्तो अनुपम सौन्दर्यलाई हेर्नुको आनन्द गुमाउनुहुँदैन। आँखाले हेरेर मात्र पुग्दैन। मनले महसुस गरेर हृदयमा सजाउनुपर्छ। जुन जिन्दगीभरिका लागि बिर्सनै नसकिने यादगार क्षण बनेर सधैं–सधैं सम्झनामा आइरहन्छ।’
प्रकाशित: १ मंसिर २०८१ ०५:१६ शनिबार