महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको पछिल्लो ग्रन्थ कृति ‘इतिहासमा सिन्धुपाल्चोक’ बजारमा आएको छ। चारदशक लामो लेखन अनुभव सँगालेका न्यौपानेको यो चवालिसौं कृति हो। न्यौपानेकै शब्दमा यो ग्रन्थ सिन्धुकोष हो। यस ग्रन्थमा सिन्धुपाल्चोकका विविधतालाई आम रूपमा समेटिएको छ।
ग्रन्थको भूमिकामा न्यौपाने भन्छन्, ‘२०५२ सालमा सिन्धुपाल्चोकका ७९ गाविसमध्ये फुल्पिङकोटको परिचय ‘फुल्पिङकोट एक परिचय’ लेखें। २०६० मा जिल्लाको साहित्य, पत्रकारिता र कलाकारिता विषयहरूमा लेखें। यति लेख्दा पनि जिल्लाको इतिहास अपूर्ण लागेर यो ग्रन्थ लेखेको हुँ। यस ग्रन्थमा भूगोल, राजनीति, शैक्षिक, साहित्यिक, खेलकुद, कीर्तिमानलगायतका विषयहरू समेटेको छु।’
सिन्धुपाल्चोकको बहुआयामिक पक्ष उजागर गर्न खोजेको यो ग्रन्थले जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक दस्तावेजका रूपमा योगदान दिने अपेक्षा गरिएको महाकाव्यकार न्यौपानेले बताएका छन्। पुस्तक इतिहासप्रेमी, खोज अनुसन्धान गर्ने विद्यार्थीका लागि महत्वपूर्ण दस्तावेज हुने ग्रन्थकारको भनाइ छ।
विद्यार्थी कालदेखि नै साहित्य लेखन सुरु गरेका न्यौपानेले २०४७ सालमा पहिलो कृति पालुवा खण्डकाव्य प्रकाशन गरेका छन्। उनका महाकाव्य १२, खण्डकाव्य १०, खोज अनुसन्धानमा ६ सहित ४४ वटा कृति प्रकाशन भइसकेका छन्। कविता, उपन्यास, कथा, समालोचना, निबन्ध यात्रा संस्मरणमा कलम चलाइसकेका न्यौपानेको प्रमुख विधा कविता रहेको छ।
प्रकाशित: २८ कार्तिक २०८१ १८:२५ बुधबार