४ माघ २०८१ शुक्रबार
image/svg+xml
कला

‘कल्पलता’ काे वार्षिकोत्सवमा तिन कृति लाेकार्पण

‘कल्पलता’ द्वैमासिकका दाेस्राे वार्षिक उत्सवकाे अवसरमा तिन कृति एकैसाथ लाेकार्पण भएकाे छ। ‘कल्पलता’ द्वैमासिकका संरक्षक नरबहादुर बिसीको अध्यक्षता र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा नरबहादुर बिसीको खण्डकाव्य ‘सपना’ र रेणु अधिकारी ‘मौनता’ का कवितासङ्ग्रह ‘अस्तित्वको खोजी’  र मुक्तकसंग्रह ‘आकृति’ को एकैसाथ लोकार्पण भएको थियो।

शनिबार भएकाे कार्यक्रममा ‘कल्पलता’ द्वैमासिकका सल्लाहकार साहित्यकार अर्थविद् डा. दामोदर पुडासैनी ‘किशोर’ ले शुभकामना मन्तव्यको साथै लोकार्पित कृति ‘अस्तित्वको खोजी’ कवितासङ्ग्रह र ‘सपना’ खण्डकाव्यको सटिक तरीकाले समीक्षा गरेका थिए।

साथै ‘आकृति’ मुक्तकसङ्ग्रहको साहित्यकार घनबहादुर थापाले समीक्षा गरेका थिए। स्रष्टाद्वय नरबहादुर बिसी र रेणु अधिकारी ‘मौनता’ ले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा सुप्रसिद्ध गायक एवं सङ्गीतकार सन्तोष दुमी राई र गायक गोविन्द केसीले आआफ्नो सांगीतिक काेसेली प्रस्तुत गरेका थिए। लोकार्पित कृति ‘आकृति’ बाट नेपाल मुक्तक मञ्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे, साहित्यकार एचके धिताल र अर्जुनबाबु तिवारीले मुक्तक वाचन गरेका थिए।

यसैगरी कवितासङ्ग्रह ‘अस्तित्वको खोजी’ बाट कवि जेपी नेपालले ‘अस्तित्वको खोजी’ कविता वाचन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले साहित्यले समाजलाई सुधारको बाटोमा लैजान पहल गर्ने भएकाले नगरपालिकाले ऐतिहासिक नगर टोखाको संस्कृति, साहित्य र कलाको विकासलाई अग्रस्थान दिएर उत्तिकै महत्त्वका साथ काम गरिरहेको बताए।

कार्यक्रममा ‘कल्पलता’ द्वैमासिकका कानुनी सल्लाहकार अधिवक्ता प्रेमराज सिलवाल, लेखक संस्कृतिविद् डा.गोविन्दचन्द्र सुवेदी, साहित्यकार एवं साइनो कविताका प्रणेता डा. छायादत्त न्यौपाने ‘बगर’, साहित्यकार डा. मेघराज ढकाल, भाषाविद् डा. गणेशप्रसाद बराल, साहित्यकार डा. मनबहादुर खत्री, साउथ वेष्ट्रन स्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी, टोखा नगरपालिकाका कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू समेतका जनप्रतिनिधिहरू, ‘नवप्रज्ञापन’ मासिकका सम्पादक नवराज रिजाल, ‘कल्पलता’ द्वैमासिकका विशिष्ट आजीवन सदस्य र आजीवन सदस्यहरू, लेखक, गीतकार, साहित्यकारहरू, विभिन्न संघसंस्था एवं पेशामा आबद्ध व्यक्तित्वहरू, जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

रेणु अधिकारी प्रकाशक र सुदर्शन अधिकारी सम्पादक रहने गरी ६ सदस्यको सक्रियतामा २०७९ साल कात्तिक २५ गते ‘कल्पलता‘ द्वैमासिक जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको थियो।

कार्यक्रममा नगर प्रमुख अधिकारीले ‘कल्पलता‘  साहित्य पुरस्कारबाट सम्मानित साहित्यकारद्वय तेजविलास अधिकारी र विनोद अधिकारीलाई पाँचपाँच हजार रूपैयाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका थिए। साथै उनले ‘कल्पलता’ लाई विशेष सहयोग गर्ने समाजसेवी भाइकृष्ण केसीलाई कदरपत्रद्वारा सम्मान गरेका थिए।

उक्त अवसरमा नगरप्रमुख अधिकारीले कल्पलता’ का विशिष्ट आजीवन सदस्यहरूलाई विशिष्ट आजीवन सदस्यताको प्रमाणपत्र र आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरेका थिए।

हालसम्म ‘कल्पलता’ द्वैमासिकका १३ विशिष्ट आजीवन सदस्य र ६१ आजीवन सदस्यह रहेका छन्। उनीहरूमध्ये कार्यक्रममा उपस्थित सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको हो।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी र निबन्धकार, समालोचक डा. विनोद मञ्जनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साथै सम्मानित व्यक्तित्वहरू साहित्यकारद्वय तेजविलास अधिकारी र विनोद अधिकारीले आआफ्नो धारणा राखेका थिए।

‘कल्पलता’ द्वैमासिकका सल्लाहकार घनबहादुर थापाले सञ्चालन गरेकाे साे कार्यक्रममा ‘कल्पलता’ द्वैमासिकका सम्पादक सुदर्शन अधिकारीले स्वागत मन्तव्य र सहसम्पादक दिपक बानियाँले कार्यक्रमको औचित्य र ‘कल्पलता’ द्वैमासिक प्रकाशनबारे प्रकाश पारेका थिए।

प्रकाशित: २६ कार्तिक २०८१ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App