साहित्यिक पत्रकार संघले अरूपण आर्ट ग्यालरी, नेपालमा स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ काे लोकार्पण गरेकाे छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार केके कर्माचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्राडा गोविन्दमान सिंह कार्की र वरिष्ठ आख्यानकार किशोर पहाडीले संयुक्त रूपमा लाेकार्पण गरेका थिए।
साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र कथाकार किशोर पहाडीले शुभकामना मन्तव्य राखेका थिए।
वरिष्ठ आख्यानकार किशोर पहाडीले पुस्तक लाेकार्पणकाे क्रममा लघुकथा लेखनकाे आफ्नाे विगत सम्झे। ‘हामीले तिसकाे दशकदेखि नै लघुकथा लेख्न थालेका हाैं। त्यतिबेला उहाँ रमेश खनालसित भेट भएकाे थियाे। गोविन्द गिरी प्रेरणा, दिव्य गिरी, प्रमोद प्रधान, ध्रुव मधिकर्मी, रमेश खनाल तिसकाे दशकका लघुकथाकार हुन्।
त्यतिबेला हरिभक्त कटुवालले ‘बान्की’ नामक गाेजिका निकाल्थें। हामीलाई लघुकथा मागिरहन्थे। त्यही ‘बान्की’ गाेजिकामा मेराे पहिलाे लघुकथा ‘सल्लाह’ छापिएकाे थियाे।
यसरी लघुकथा लेखनका लागि तिसकाे दशक निकै उर्वर रह्याे। भारतबाट निस्किने ‘सारिका’ पत्रिकाले पनि नेपाली लघुकथालाई अगाडि बढाउन मलजलकाे काम गरेकाे थियाे।’
वरिष्ठ आख्यानकार पहाडीले अहिले मुहारपुस्तिकामा खाेलिएका लघुकथा समूहले पनि लघुकथाकाे उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे बताए। हास्य लाग्ने विषयवस्तुलाई कलात्मक रूपले प्रस्तुत गरेर रमेश खनालले सुन्दर लघुकथा उनले बताए।
लोकार्पित लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ बारे समालोचक प्राडा गोविन्दमान सिंह कार्कीले समीक्षा गरेका थिए। प्राडा कार्कीले उपन्यास म्याराथुन दौड, कथा १५ सय मिटरको दौड र लघुकथा एक सय मिटरको दौड रहेको बताए। उनले सिद्धान्तमा जे लेखिए पनि प्रस्तुति र भाव अटाए लघुकथा साठी शब्दमा पनि लेख्न सकिने बताए।
समालोचक कार्कीले लघुकथामा सामाजिक विकृतिप्रति व्यंग्य, वर्तमान राजनीतिको प्रस्ट तस्वीर, चित्रकला, जासुसी र प्रेमसम्बन्धी पनि सुन्दर लघुकथा रहेको बताए। उनले कथाकार खनालले यही बसेर डायोस्परा साहित्य लेखेको बताए। ‘लेखकले इरान-इराक युद्धमा नेपालीहरूले भोगेका पीडालाई कथात्मक रूप दिएर लघुकथा लेखेका छन्। युद्ध विभीषिका र युद्धले पुर्याएको क्षतिलाई कलात्मक रुप दिनु कथाकारको वैशिष्टय रहेको छ।’
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले लघुकथा उन्नयनमा लघुकथा समाज नेपालको उल्लेख्य भूमिका रहेको बताए। ‘श्रीओम श्रेष्ठ रोदनले लघुकथा समाजको स्थापना गरेर लघुकथालाई विधागत मान्यता दिलाउन सफल हुनुभयो। यसअघि लघुकथालाई विधा नै मानिदैन थियो। उहाँले समाजको गठन नगरेको भए न लघुकथाले विधागत मान्यता पाउँथ्यो न व्यवस्थित तरीकाले लघुकथा नै लेखिन्थ्यो होला। यही समाजको गतिविधिले लघुकथाकार दिनानुदिन बढ्दो छ। यसैको एउटा उदाहरण हो-रमेश खनाल र उनको ‘युद्धमा बिलाएको सपना’।’
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएकाे कार्यक्रममा लोकार्पित कृतिका सर्जक खनाललाई सम्मान पनि गरिएको थियो।
कथाकार इन्दिरा ढकालले लोकार्पित कृतिबाट एक लघुकथा वाचन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि कर्माचार्य, अध्यक्ष लेकाली र कृतिकार खनालले आआफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा दिव्य गिरी, श्रीराम राई, डा. बुनु दाहाल, राधेश्याम मुल्मी, डा. सुमी रिमाल, प्राडा श्रीरामप्रसाद उपाध्याय, नीरा श्रेष्ठ महर्जन, रिता खनाल, विनोद गुप्ता, सन्जु प्रधान मास्के, सगुन भण्डारी, सुस्मिता कार्की, कोमल श्रेष्ठ, कृति राउत, दीक्षा चौधरी लगायत साहित्यकार र कलाकारको उपस्थिति रहेको थियो।
रमेश खनाल साहित्य, कला र खेलकुद क्षेत्रमा परिचित व्यक्तित्व हुन्। अब उनी लघुकथाकारका रूपमा पनि नेपाली साहित्यमा उदाएका छन्। ‘युद्धमा बिलाएको सपना’ लघुकथासङ्ग्रहमा उनका ३१ लघुकथा समेटिएका छन्।
लामो समय खेलकुद परिषदमा रहेका रमेश खनाल नेपाली साहित्य र कला क्षेत्रमा पनि उत्तिकै परिचित व्यक्तित्व हुन्। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा परिषद सदस्यको कार्यकाल बिताइसकेका उनले ‘अरूपण आर्ट ग्यालरी’ समेत स्थापना गरेका छन्।
उक्त ग्यालरीमा हरेक शनिबार कला सिकाइको कक्षा पनि चलाउँदै छन्। त्यस्तै सो ग्यालरी एकल र सामूहिक कलाप्रदर्शनी समेत हुँदै आइरहेको छ।
‘अरूपण नेशनल रिसर्च सेन्टर, नेपाल’ बाट प्रकाशित ‘युद्धमा बिलाएको सपना’ लघुकथासङ्ग्रहमा खासगरी युद्धका विविध सन्दर्भ लघुकथाको रूपमा उनले अभिव्यक्ति दिएका छन्।
उनले उल्लेख गरेअनुसार यस सङ्ग्रहका अधिकांश कथा इरान–इराक युद्धमा नेपालीहरूले भोगेका पीडाहरूलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ। उनले कुनैकुनै लघुकथामा व्यङ्ग्यहरू पनि झल्काउने कोशिश गरेका छन् र यी कथाहरू समकालीन सन्दर्भका यथार्थ चित्रण हुन्। किताबको मूल्य ५० रहेको छ।
साहित्यसम्बन्धी उनका एकमुठी माटो, इन्दिराको भ्यागुता र स्टिना नामक तीन कथासङ्ग्रह प्रकाशित छन्। त्यसैगरी म घाममा पानीपानी हुन्छु, तेस्रो झर्को घाम लाग्यो, पानी पर्यो, उपेक्षित पक्षहरूसँग जीवनको एक सम्झौता नामक तीन कवितासङ्ग्रह प्रकाशित छन्। त्यस्तै उत्तरचेतनामूलक साहित्यिक अध्ययन शीर्षकको उनको समालोचना कृति पनि प्रकाशित छ।
यसबाहेक कलासम्बन्धी उनले लेखेका कृतिहरूमा कला मन्थन, विश्वप्रसिद्ध कला र कलाकार, नेपालका प्रसिद्ध कलाकार, चन्द्रमानसिंह मास्के, विश्वप्रसिद्ध कला र कलाकार, कला स्रष्टा, विश्वप्रसिद्ध कलाकार माइकल एन्जेलसँग साक्षात्कार, विश्वप्रसिद्ध ग्यालरीभित्र फन्को मार्दा, कलाचिन्तन कला संस्मरण, विश्वप्रसिद्ध महान कलाकार भ्यानगग, अमूर्तकला, कलाका योद्धा मास्टर जीवरत्न शाक्य आदि उनका कलासम्बन्धी प्रकाशित कृति हुन्।
प्रकाशित: २५ कार्तिक २०८१ १०:४१ आइतबार