६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

अरू खुशी हुने त तपाईं रुँदासम्म न हो!

मुक्तक

१) मुक्तक

नपाउने धन्यवाद हो, गालीको त वर्षा हुन्छ

राम्रोले ठाउँ पाउँदैन तर नराम्रोको चर्चा हुन्छ

मूल्यांकनको अर्थ शब्दकोषमा सीमित भो,

कामचाहिँ हुँदैन, मात्र आकर्षक पर्चा हुन्छ।

२) मुक्तक

कुर्सीको आयु पद, शक्ति हुँदासम्म न हो

अरू खुशी हुने त तपाईं रूँदासम्म न हो

सिँगारपटार जति गरे नि आखिर के गर्नु

सौन्दर्य रहने त पानीले नधुँदासम्म न हो।

३) मुक्तक

तिमीलाई गर्मी हुँदा झरी बन्न पाए

चिसोचिसो मौसममा दरी बन्न पाए

कस्तो मज्जा हुने थियो रहर पूरा भए,

आउँथें भेटन दिनदिनै चरी बन्न पाए।

४) मुक्तक

खुशीलाई आँसुसँग साटी दिएपछि

साइनो सम्बन्ध सबै फाटी दिएपछि

विश्वासको अर्थ कहाँ भेटिएला हजुर

आफूले आफ‌ैलाई नै ढाँटी दिएपछि।

५) मुक्तक

इमानदारलाई बोक्न मन लागेको छ

बेइमानलाई ठोक्न मन लागेको छ

चट्टान भई जीवन जिउने कसरी हो

हरेक बाधाहरू रोक्न मन लागेको छ।

प्रकाशित: २० कार्तिक २०८१ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App