म कामको सिलसिलामा हिंडिरहन्छु फुर्सद हुँदैन भना या काम हुँदैन तर पनि व्यस्त जस्तो देखिन्छु। म यात्री हुँ, अतृप्तयात्री त्यसैले यात्रा गरिरहन्छु यो मेरो केही मात्रामा रहर र बढी मात्रामा बाध्यता हो। गाउँबाट शहरबजार ओहोरदोहार गर्दागर्दा थकित भएर फर्कन्छु र वास्तवमै गल्छु। आजभोलिको शहरको बिग्रदो वातावरणमा निस्सासिन्छु पटकपटक। शहर जीवनदेखि वाक्क लागेर आउँछ। अझ बेलाबेलामा हुने बन्दहडतालसँगै शहरको शोभा बढाउने फोहोरको डुङ्गुरको दुर्गन्धले टाउकै फुट्ला जस्तो हुन्छ।
म सम्झन्छु त्यो प्राचीन शहर त्यो रमणीय वातावरण सवै विलिन भैसके अनि पदीय दायित्व बाेकेर बसेका छेपाराहरू देखेर क्रोधको ज्वाला दन्किन्छ। शहर दिनानुदिन निर्जन बन्दै गएको छ जति भौतिक उन्नति देखिएको छ त्यति नै सामजिक समस्याको दलदलमा फस्दै गएको छ। मानवइच्छा सोच जस्तो बिल्कुलै छैन। दैनिक क्रियाकलाप चलिरहेको छ। शहरमा आउने जाने दिनचर्या चल्दै छ।
संयोग भनौं या दुर्भाग्य अचानक मेरो बाटोमा शहरको व्यस्त चोकमा मान्छेको भीड देखियो। बेलाबेलामा यस्ता भीडहरू देखिन्छन्। शहरको चोकमा मान्छेको भीड हुनु, जमघट हुनु नौलो घटना होइन चटकेको चटक होस् कि अर्धपागल पागलका नौटङ्की वा अन्य कुनै बेपर्वाहका रमितारमितेहरू जम्मा भइहाल्छन्। किनकिन मलाई पनि आज त्यस भीडले तान्यो। भीडभित्रको दृश्य हेर्ने इच्छाले म पन्छाएरै भीडभित्र पसें। त्यहाँ कुनै चटक थिएन। त्यहाँ कुनै हाँस्यदृश्य थिएन। त्यहाँ एउटै कौतूहल थियो जान्ने उत्सुकता थियो। घटना अलि भिन्नै थियो। सडकको पेटीमा अन्दाजी पच्चीसछब्बीस वर्षको युवक चिर चिन्द्रामा पल्टिएको थियो। निन्द्रामा हो या चिरनिन्द्रामा उसलाई भीडको कुनै पर्वाह थिएन।
काममा ढिलो भैसकेकाले म धेरैबेर रोकिन चाहिनँ। सरासर कार्यशालातिर लागे। मनमा विविध कुरा सल्बलाइरहे। त्यो युवक को हो? यसरी चिरनिन्द्रा पुग्नुको कारण के हो? बाटाभरि युवककाे बारेमा सोचिरहें। त्यस कोमल हँसिलो मुहारको झझल्को आइरह्यो। काममा मन लागेन। उकुसमुकुस भएर आयो। एकक्षण पनि बस्न सकिन। म चिन्तित अनुहार लिएर फर्किएँ।
हतारिएर फेरि त्यहीं पुग्दा मान्छेको भीड झनझन बढ्दै थियो। मान्छेहरू आउने हेर्ने जाने क्रम निरन्तर चलिरहेकै थियो। घटनास्थलमा प्रहरीहरू पनि आइसकेका थिए। साँच्चै नै त्यो युवक उमेरमै किन मृत्युसम्म पुग्यो। पक्कै पनि यो सामयिक मृत्यु थिएन, घटना थियो या दुर्घटना आत्महत्या उसको बारेका बुझ्नमा सबै हेरालु आतुर थिए। प्रहरी आफ्नो काम गदै थिए। म पनि उनका निकटमै रहेर उसका मृत्यु वृतान्त बुझ्न खोजिरहको थिएँ। शवको प्रकृति मुचुल्का बन्यो। घटनास्थलमा भेटिएका वस्तुहरू यसप्रकार थिए,
एउटा पुरानो नोकियाको ११०० सय मोडलको मोबाइल सेट, जुन स्वीच बन्दको अवस्थामा थियो। हाते व्यागमा केही कागजपत्र थिए। शैक्षिक चारीत्रिक प्रमाणपत्र नागरिकता र एउटा महँगाे मूल्यको आकर्षक डायरी भेटियो। उसको वास्तविक परिचयमा नाम शान्ति नेपाली। शिक्षा स्तातक प्रथम श्रेणी, विभिन्न तालीम प्राप्त दक्षताको प्रमाणपत्र भेटिए। मैले नजिकैबाट सबै कागजपत्र नियाले।
अन्तमा उसको डायरी पल्टाएर हेरियो र अक्षरश पढ्न थाले। डायरीमा उसले जीवनका सुखद दुखद पलहरू आशाभरोसाका साथै निराशा उल्लेख गरिएको थियो र अन्तिम दिनको डायरी यसप्रकार लेखिएको थियो-
मिति २०७४ साल मंसीर २८ गते
आज पनि मैले तीन चार कार्यालयमा अन्तर्वार्ता दिएँ। सब अन्तर्वार्तामा धेरैको एउटै प्रश्न ममाथि दोहोरिएको थियो। तपाइँको अनुभव के छ? अनुभव, अनुभव, अनुभव जुन मसँग थिएन। मसँग जे थियो, त्यो कहिले कसैद्वारा सोधिएन। मेरा आफन्त कोही ठूला पदमा थिएनन्। त्यसैले मेरा हरेक प्रयत्न असफल हुन्थ्यो। यो काम मेरो महिनौदेखिका दिनचर्या बनेको थियो।
कार्यालयको ढोका ढोका चाहर्नु, अन्त्यमा थकित भएर खालि हात कोठामा फर्किनु मेरो काम भएको थियो। घरभाडा तिर्न नसकेको तीनचार महिनामा नै भैसकेको थियो। खानेकुराको ठेगाना थिएन। भोक मेटाउने कुनै वस्तु थिएन। सम्पत्तिको नाममा कागजको खोस्टा थिए। स्नातक प्रथम श्रेणीमा पास गरेको एउटा मात्र कागज जसमा आशा भरोसा सबै अडेको थियो, त्यो पनि सब व्यर्थ भए।
मान्छेहरूको भीडमा एक्लो भएर बाँचेको अनुभव थियो अनि जीवनदेखि हार मानेर त्यस दिन म धेरै रोएँ। आफ्नो जीवनप्रतिको वितृष्णा झन्-झन् उम्लेर आयो. म जसको अगाडि जीवन बाँच्नका लागि सहायता माग्न गएको थिएँ। नोकरीका लागि गएको थिएँ। ती सबै अनुहारदेखि घृणा बढेर आयो अनि व्यवस्थाप्रति द्वेष उम्लेर आयो। म डाँको छोडेर रोएँ, धेरै रोएँ, रुनुको अर्थ बुझेर पनि रोएँ, जीवनको अर्थ नबुझेर रोएँ।
बाबुआमाको दुख र आशा सम्झेर पनि रोएँ। एउटा दुख सधैं मनमा बोझ बनेर रहिरह्यो। आफ्नो जीवनको कर्तव्य पूरा गर्न सकिन भन्ने। ती आमाबाबुका सपना सबैसबै सपनामै सकिने भए, तुहिने भएँ भन्ने पीडामा कति रात अनिंदो मै बिते। अझ छोरालाई ठूलो मान्छे बनाउन बाबुले घरबारी साहूकोमा बन्धकी राखेकै थिए। बन्धकका सम्पत्ति कहिले फिर्ता गर्न सकिएन। ग्लानि भएर आयो।
छोराले नोकरी पाउला र सुखका दिन फर्केलान् भन्ने बाबुआमाको धैर्य कहिले सकिएन। मैले आफ्नै जन्मलाई धिक्कारे। अन्त्यमा केही सोच्न सकिन। बाँचेको अर्थ बुझ्न सकिन्। अब बाँच्ने कुनै इच्छा रहेन। जीवन मूल्यहीन बन्यो। वैरागिएरको कोठाबाट निस्किएँ। घरबेटीको शब्द शब्दले मुटुमा छियाछिया पारिरहेको महसुस गरें अनि मृत्यु रोजें। खुला सडकको मेरो मृत्यु स्वेच्छा हो। यो मेरो आत्मत्याग हो। यसमा कसैको हात छैन। मेरो मृत्युको कारण म आफै हुँ मृत्यु मेरो हो। मेरो जीवनको अन्त्य स्वेच्छिक मृत्यु हो।
अभिनव
मेरा आँखा पढ्दा पढ्दै अडिए। आँखामा असहज भयो। मुटुभित्र दुखेको महसुस भयो। एउटा होनहार युवकले अभावै अभावमा जीवन गुमायो। वलिन्द्र आँसुका धारा छुटे। म किंकर्तव्यविमूढ भएँ। मेरा स्मृतिमा मेरा अनगिन्ती मित्रका तस्वीरहरू निरन्तर आए,गए। ती समकक्षी यारहरू आए। मेलै चिनेजानेका कैयाैं युवक सबैको अनुहार मृतक युवकसँगै मिल्दाजुल्दो देखियो। युवकको अनुहार विस्तारै परिवर्तित हुँदै गयो। अनुहार क्रमशः फेरिदै गयो। सबै मित्रको बेवारिसे मृत्युवरण गर्दै गइरहेका छन्। म चोकको भीडबाट सबैलाई नियाल्दै छु। चारैतिर आकाश बादलले ढाकिएको छ। पृथ्वी शून्य छ। जताततै शोक छ। भोक छ। रोग अनि सबैका आआफ्नै अर्थहीन जीवन पनि ...।
(कथाकार ढकालकाे नगरवधूसँगकाे सहयात्रा कथासङ्ग्रहमा सङ्गृहीत।)
प्रकाशित: १९ कार्तिक २०८१ १२:१६ सोमबार