६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

वय पुगेपछि

निबन्ध

घामको एक धर्सो छैन। तीन दिन भो कोदेझरी लागेको। अझै कति दिन लाग्ने हो टुङ्गो छैन। असोजको पहिलो हप्ता बितिसकेको छ। खेतको धान पोटाउने तरखरमा देखिन्छ। निस्कन थालेका छन् गोदावरीका कोपिला। एकहुल केटाकेटी दसैं आउन लाग्यो भन्दै रमाएर खेलिरहेका छन्। कोही हाम्रो बाबा काठमाडौँबाट आउँदै हुनुहुन्छ भन्दै साथीहरूलाई सुनाएर मज्जा लिँदैछन्।

थपिनी काकीलाई चिन्ता लाग्न थालेको छ। वर्षाको समयले धेरैको ज्यान लियो। बाढीपहिरोमा मर्नु दुःखद् कुरा हो भन्दै फतफताइरहेकी छिन्। अब रहे त हुने हो, यो सिमसिमे झरी। चिन्ता सबैको यस्तै छ। तर, यो हामीले भनेर कहाँ रहन्छ र अझै कति बिगार गर्नुपरेको छ? त्यो नगरी यस्को चित्त बुझ्दैन जस्तो छ। थपिनी काकीको रोष पनि छ। यसको मुख्य कारण तीन वर्ष विदेश बसेको छोरो घर फर्कंदै गर्नु पनि हो।

गाउँमा खसीबोकाको मोलतोल हुन थाल्यो। धान, चामलको जोहो भइरहेको छ। परदेश गएकाहरूको घर आउने खबर सुनिन थालेको छ। केटाकेटीहरू मेरा बाबा, मेरा काका फलानो दिन आउने भनेर उत्साहमा छन्। विद्यालय बन्द हुनै लागेको छ। नयाँ लुगा र नयाँ नोटको चर्चा हुँदैछ घरघरमा। जमरे औँसी आउन केही बाँकी छ तर पनि लाग्छ दसैं आइनै सक्यो जस्तो।

झरीले गर्दा जङ्गलका जुका घरमै आइसकेका छन्। ओभानो कुनै ठाउँ छैन। मुसाहरूले घर खनेर चाल्नो पारेका छन्। मकैका घोगा र खोया लगेर मुसाले प्वाल भरिसकेका छन्। यस्तो झरीमा पनि खत्रिनी आमाको मनमा आगो बलेको छ। शान्त छैन मन। खत्रिनी आमाले बा केही लागो पो छ कि भनेर धामी बलवीरलाई जोखाना हेर्न लगाइन्। धामीले कुनै दोष नरहेको बतायो। उनले फेरि अहेवलाई आफ्नो विवरण सुनाइन्। अहेवले सबै राम्रो छ, तपाईंले चिन्ता लिए जस्तो छ, कम गर्नु भने। बाबू दूध उम्लिएझैँ उम्लिएर आउँछ, मेरो भित्र के छ? कसैले पत्ता लगाउन सकेन, म के गरौँ भनेर सुँक्कसुँक्क रोइन्। विचरा अहेवसँग यस्तो कुनै उपाय थिएन, जुन कुराले उनको मन शान्त होस्।

बाहिर जाडो भएको अनुभव भएर न्याना कपडा लाइरहेकी छु। तर, भित्र यति जलन छ, सबै भिजेका ठाउँ सुकाइसक्यो। मलाई किन यस्तो भएरहेको छ? चिन्ताग्निले जलेको धेरै भो, अझै निभ्ने छाँट छैन। खत्रिनी आमा बर्बराइरहेकी छिन्। पानीले पूरा धर्ती जलमग्न भएको बेला खत्रिनी आमाभित्र यो ज्वालामुखी कसरी विस्फोटनको तयारी गर्दैछ, त्यो कसैले बुझ्न सकेनन्।

गलेको भुइँ भत्कनु नौलो कुरो भएन। वर्षौं पहिला लगाएको पर्खाल, खत्रिनी आमा विवाह गरेर आएको साठी वर्ष पुग्यो र पनि उस्तै थियो। त्यो आज बीच भागबाट भत्कियो। पानीले गरेर भत्केको ठानियो। त्यसबारे कसैले कुनै चासो र शङ्का लिएनन्। तर, खत्रिनी आमा भने यसरी कहिल्यै नभत्केको पर्खाल कसरी भत्क्यो भन्ने चिन्तामा परिन्।

उनको मनले भन्छ–यो अनिष्टको सङ्केत हो। परिवारका सदस्य भने यस कुरालाई मान्न तयार छैनन्। यो पानीले गलेर हो भन्ने सम्झाउनमा तल्लीन छन्।

परदेश गएकाहरू आए। चौतारामा पिङ हल्लिन थाल्यो। नयाँ लुगामा पुतली जस्ता देखिए नानीहरू। कस्को खसी कत्रो र कस्तो छ भनी नानीहरू तर्क गर्न थाले। अब टीकाको दिन आउन यति बाँकी छ, सबैजना हातका औँला गन्न थाले। खत्रिनी आमामा भने कुनै उत्साह र परिवर्तन छैन। सबै उस्तै छ, चैतको उराठी दसैंको रौनकले छोएको छैन।

बादलको एक हूल कोसीबाट उठेर माथि जुरेको टाउकोमा पुग्न लागेको छ। विश्वास छ- जुरेले फेटा बाँध्यो भने अझै पानी पार्छ। परापूर्वकालमा किराँतीहरूले यसलाई लिब्जु उपो मानेर माले गोरुको भोग दिन्थे रे। अहिले भने सेतो हाँस चढाउने चलन छ। यहाँ सेतो फूल, अक्षता र सेता पक्षी मात्र चढाइन्छ। यसको आफ्नै धार्मिक अस्तित्व छ।

सप्तमीको तयारी हुँदैछ। फूलपाती भित्र्याउन सबै तयारी पूरा भएको छ। त्यसै त केटाकेटी, त्यहाँमाथि दसैं, रमाउने नै भए। आज पानी अलि रोकिएको जस्तो भएको छ। तर, हावाहुरी र चट्याङ भने पर्दैछ। वर्षा केही कम भयो तर खत्रिनी आमाको मुहार उस्तै छ। बुहारीले नयाँ लुगाका लागि कर गरिन्। अहँ उनले मानिनन्। यो सफा छ, मैलो भएको छैन। लुगा मैलो नभई अर्को फेर्नु हुन्न। यस्तै भनेर पञ्छन खोजिन्। बुहारी पनि कर गर्नुको फाइदा नहुने देखेर चुप लागिन्।

बिस्तारै दसैंको नयाँ श्रृङ्खला सुरु भयो। भोलि त घरघरमा खसी काट्ने दिन। नानीहरू खुब रमाएका छन्। कस्कोमा पहिला काट्ने? कोको हेर्न जाने? कस्ले कसरी काट्छ? त्यसको रमितामा रमाउने दिन। (बलीप्रथा राम्रो होइन तर परम्परादेखि मानिआएको भएर मान्ने चलन छ।) यही चर्चा छ उनीहरूबीच। भोलि कतिबेला उठ्ने र केके गर्ने? तालिका पनि बन्दैछ। जुठो परेको भैरव काकाको घरमा काटमार हुँदैन। बिसन र शान्तालाई ककस्कोमा निम्ता गर्ने? पूरा तयारी केटाकेटीको हुँदैछ। आनन्द मानेर धर्म बा चोटाबाट केटाकेटीका संवाद सुनिरहेका छन्।

पुराना मान्छेमा एउटा विशेषता हुन्छ। उनीहरू सपनामा देखेको कुरा सार्थक हुन्छ भन्छन्। माइला बा आफैँ सधैँ गोठमा बस्ने मान्छे। उनको परिवार भनेको नै घरका जहान र वस्तुभाउ थिए। उनको देश परदेश भनेको यही खेती थियो। उनी यसैमा रमाएका थिए। केही वर्ष पहिला उनले एउटा कुराको उजागर गरे। गोठबाट हतारहतारमा बिहानका राति घर आए। उनी घर आउँदा जहान केटाकेटी सुतिरहेका थिए। हैन तिमीहरूले थाहा पाएनाैं कि क्या हो? कान्छाको छोरो जन्मेको? बाउले त मलाई गोठमा भन्नुभएको हुनाले म त गोठधन्दा सकेर आएको। माइला बाको कुराले घरका सबै छक्क परे। गोठ घरभन्दा धेरै टाढा छ। त्यहाँ कसैले बोलाएको पनि सुनिदैन। यो राति यो सन्देश कसरी पाए? घरका सबै छक्क परे।

माइला बाले अझ सुनाए-छोरोको शरीरमा प्रष्ट दाग छ भन्ने। त्यो कुराको अड्कल कसैले अन्धकारमा गरेका थिएनन्। भोलिपल्ट हेर्दा छोराको छातीमा दाग देखियो। बितेका बाले यसरी सपनामा भनेको कुरा कसरी मेलखान आयो? अहिले पनि यो कुराको चर्चा हुने गरेको छ।

धुम्मिएको मौसमजस्तै धुम्मिएर बस्दा बस्दै आज पूर्णिमाको दिन आइपुग्यो। बिहान सबैजना नुहाइधुवाइ गरेर टीका विसर्जनको तयारीमा लागे। टीका विसर्जनको शङ्खध्वनिसँगै आकाशमा मेघ गर्जियो। यो वर्ष अचम्म भो! यस्तो हिले दसैं कहिल्यै चाल नपाएको अनुभव बुढाहरूले तमाखुको सर्कोसँगै बाँडे।

धनपति बाले भने- दसैंमा यसरी वर्षा हुनुलाई राम्रो मानिन्न। यो अनिष्टको सङ्केत पनि हो। यसलाई देवी रोएको भन्थें हाम्रा बाजेहरू। उनले आफूले सुनेका कुरा सुनाए।

चट्याङको झिल्को देखेर सानो नाति डरायो। आमा आगो आयो भन्दै हजुरआमाको काखमा गएर लेपासियो। क्षणभरमा ढोडको थाङ्ग्रोसहित बडहरको रूख जलेको दृश्य आँगनको डिलबाट देखियो। चराहरूले चित्कार भरे। भुकिरहेका कुकुरहरू शान्त भए। कुनै हलचल भएन। सबै स्थिर भयो। यहीबेला खत्रिनी आमाको चित्कार निस्कियो-मरेँ मेरो बाबा!

उनले च्यापिरहेको नातिलाई भूँइमा फालेर आफूले लिएका सबै पीर–चिन्ता बिसाइन्। बूढापाकाहरूले भने-मान्छे धुम्मियो भने यसको वय पुगेको हुन्छ।

प्रकाशित: १७ कार्तिक २०८१ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App