१) गजल
घाउ निको भयो तर खाटो उस्तै छ,
जति ठेस लागे पनि बाटो उस्तै छ।
रहर जिन्दगीको कहाँ टुङ्गिन्छ के’था,
एक मुट्ठी श्वासकै यो साटो उस्तै छ।
त्यो बदलिएकै हो दालभात भेटाउँदा,
तागतिलो त्यो मकैकै आटो उस्तै छ।
जति सम्झाए पनि सम्झिंदैनन् उनी,
सरकारमै पुर्याउने सधैँ लाटो उस्तै छ।
आमाले त सबै छाडी जानुभयो यहाँ,
सम्झनाकै लागि त्यही पाटो उस्तै छ।
बदलियो मानिसकै नाता सम्बन्ध यो,
संसारमा ढुङ्गा उस्तै छ माटो उस्तै छ।
२) गजल
कोही भए पनि नभए पनि संसार चलेकै हुन्छ,
मानिसहरूको त जिउने आधार चलेकै हुन्छ।
रहर बाँच्ने सबैलाई हुन्छ जन्मदाता मरे पनि,
जस्तो भए पनि प्रकृति व्यवहार चलेकै हुन्छ।
खुसी हुन चाहिन्छन् सानासाना मेलापर्व पनि,
मरे पनि सम्झनाले मनभित्र दरार चलेकै हुन्छ।
भन्छन् तिमी बिना यो जिन्दगी चल्दैन प्रिय,
यहाँ तालमेल गरेर पनि सरकार चलेकै हुन्छ।
मन सम्भाल्ने बाटो नै रहेछ यो सम्झना पनि,
फर्केर नआउनेको पनि इन्तजार चलेकै हुन्छ।
महाशय,उनीसँग सम्बन्ध छुटेको पनि वर्षौ भयो,
तर मनको मनसँग कुरा लगातार चलेकै हुन्छ।
प्रकाशित: १ कार्तिक २०८१ १४:०४ बिहीबार