जसलाई सम्झीसम्झी निदाउँछु हरेक रात
उसको सपनीमा कहिलेकाहीं
आउँछु कि आउँदिन होला
जसको कल्पनामा हराउँछु गर्दै मेलापात
उसको सोचाइमा सानो ठाउँ
पाउँछु कि पाउँदिन होला
ए भन्देऊ तुवाचुङ!
उसलाई आफ्नो बनाउन
कुन फूल टिपी दिऊँ!
धर्ती सारा उजाड हुँदा आँखाभरि फूलै फुल्यो
खै कसरी मुस्कुराइन् जिन्दगीको अर्थ खुल्यो
उस्लाई चिनेपछि मेरो, आकाश किन बदलियो
रावा खोलामाथि बादल, आज किन बरालियो
ए भन्देऊ तुवाचुङ,
उसलाई आफ्नो बनाउन
कुन फूल टिपी दिऊँ!
उबिना सक्दिनँ म त सक्ने हुनु पनि छैन
मेरो आफ्नै आधा जीवन अबदेखि मेरै हैन
यो जुनीको हरेक उडान उनीसँगै भरूँ अब
शिर पारी रुपाकोटलाई उनीसँगै मरूँ अब
ए भन्देऊ तुवाचुङ,
उसलाई आफ्नो बनाउन
कुन फूल टिपी दिऊँ!
जसलाई सम्झीसम्झी निदाउँछु हरेक रात
उसको सपनीमा कहिलेकाहीं
आउँछु कि आउँदिन होला१
(तुवाचुङ -किरातहरूको ऐतिहासिक सांस्कृतिक महत्त्व बोकेको खोटाङस्थित एउटा डाँडा!)
प्रकाशित: २८ आश्विन २०८१ ११:५९ सोमबार