“पढने विद्यार्थीहरूलाई हामीले तर्साउने र पिट्ने गर्नु हुन्न। पिट्ने र तर्साउने गर्यौं भने हामीले पढाएको उनीहरूले राम्ररी बुझ्दैनन्। गृहकार्य गरेनन् भने किन नगरेको रहेछ भनेर कारण बुझ्ने प्रयत्न गर्नुपर्छ। विद्यार्थीहरू नियमित रुपमा विद्यालयमा आएनन् भने त्यसमा केही न केही कारण हुन सक्छ। त्यो कारण पत्ता लगाएर त्यसलाई निवारण गर्ने कोसिस गर्नुपर्छ। कारण नभईकन कोही पनि विद्यार्थी विद्यालयमा अनुपस्थित हुँदैनन्। यसरी सबै कुराको विचार गरेर विद्यार्थीहरूको समस्या समाधान गर्न सकियो भने उनीहरूलाई पढ्न मन लाग्न थाल्छ। यसो भयो भने उनीहरूले पढ्ने प्रयास गर्न थाल्दछन्। यस्तो विचारलाई समालोचनात्मक सोच भनिन्छ।”
शिक्षकहरूको तालिमको पहिलो दिन एकजना प्रशिक्षकले भनेको यो भनाइ मलाई साह्रै नै नयाँ लाग्यो। मलाई उनको विचार एकदमै मनपर्यो। चौंतीस वर्ष जति भैसकेको मलाई आजसम्म यो विचार कहिल्यै आएन। केटाकेटीलाई करकापमा नपारेमा राम्ररी पढ्दैनन् भन्ने मेरो विचार। त्यसैले केटाकेटीलाई तर्साउने र पिट्ने गर्दै आएको थिएँ।
तालिमका दिनहरू बित्दै गए। त्यो सरसँगको मेरो संगत गाढा हुँदै गयो। उनको भनाइ मात्र होइन व्यवहार पनि भनाइ जस्तै थियो। उनलाई राम्रैसित चिन्ने अवसर मिल्यो। उनको नाम नारायणप्रसाद वाग्ले थियो। काठमाडौंको नक्सालमा घर बनाएर बस्नुभएका उनका दुई छोरा अमेरिकामा उच्च शिक्षा अध्ययन गरेर उतै जागिर खाइरहेका रहेछन्। श्रीमान र श्रीमती दुई जना काठमाडौंमा सुखपूर्वक जीवन बिताइरहेका रहेछन्।
उनको भनाइ सुनेर प्रभावित भएको मैले उनको आनीबानी देखेर उनलाई झनै मन पराउन थालें। मेरो जीवनमा उनी जस्तो सरल मान्छे कहिल्यै भेटिएको थिएन। उनको भनाइ जस्तै बानी पनि साँचिक्कै भगवानकै जस्तो लाग्यो। उनले तालिमका क्रममा हामी प्रशिक्षार्थीहरूको कसैको मन दुख्ने व्यवहार गर्नुभएन। उनको कक्षामा हामी जति नै ढिला भए पनि कहिल्यै रिसाउनुभाएन। रिस भनेको नामनिशाना पनि नभएका उनी जस्ता मान्छे देखेर म आश्चर्यचकित भएको थिएँ।
कति महान् मान्छे उनी। उनी जस्ता महान् र उद्धार मान्छे देखेर मेरो मनमा हर्षको बाढी उर्लेर आइरहेको थियो। जति हेरे पनि हेर्नै नपुग्ने मान्छे। जहिले पनि सँगै बसिरहन मन लाग्ने मान्छे। मान्छे होइन देवता। मान्छेको इज्जत दुई प्रकारका हुन्छन्। एक प्रकारको इज्जत पदका कारणले प्राप्त हुन्छ। त्यो इज्जत पदलाई दिइन्छ। जो मान्छेले आफ्नो पदको आडमा आफ्नो मातहतका मानिसहरूलाई अन्याय अत्याचार गर्छन्, त्यस्तो मान्छेलाई पदबाट हटेपछि सबैले आदर गर्न छाडिदिन्छन्।
अर्को प्रकारको इज्जत पदलाई होइन, मान्छेलाई दिइएको हुन्छ। त्यस्तो इज्जत मरणोपरान्तसम्म स्थायी रहन्छ। नारायण सरले कमाएको इज्जत पदका कारणले होइन, उनको आफ्नै व्यक्तित्वका कारणबाट थियो। उनी साँच्चिकै रमाइलो मान्छे थिए। एक दुई जना साथीहरूले उनको यो समालोचनात्मक सोचको फाइदा नलिएको भने होइन। तर उनी ती प्रशिक्षार्थीहरूसँग कहिले पनि रिसाएनन्।
नेपालको पहाडी जिल्लाको एउटा गाउँमा बस्ने मानिस काम गरेर पैसा कमाउन भनेर भारतमा गएका थिए। अलिअलि पैसा कमाएपछि त्यहीं उनले एकजना टुहुरी केटीसँग बिहे गरे। सुखदुःख गरेर ती दम्पती जीवन बिताइरहेका बेला उनीहरूको एउटा छोरा जन्मिए। दिन बितिरहेको थियो। छोरा पाँचछ वर्ष पुगेको बेला अचानक त्यो मान्छेलाई रोग लाग्यो। परदेशको ठाउँमा आफन्तहरूको नाउँमा त्यही पत्नीबाहेक कोही पनि थिएनन्। उनले कमाइराखेको पैसाले भ्याएसम्म उपचार गरियो। पैसा पनि सकियो, परदेशको ठाउँमा पत्नी र छोरालाई अलपत्र पारेर ती मानिसले संसार परित्याग गरे।
त्यो मानिस त मरिहाल्यो उनका पत्नी र छोराको संघर्षको दिन शुरू भयो। परदेशको ठाउँमा एक्ली महिला र उनका छोरालाई कमाएर खुवाउने मानिस नै नभएपछि के हुन्छ? त्यसमाथि पनि भारत जस्तो देश जहाँ दिनदिनै मानिसहरू ठगिने ठाउँमा कसरी गुजारा चल्थ्यो र? उनीहरू आमा र छोरा आफ्नो घर खोज्दै आफ्नो लोग्नेको गाउँमा आइपुगे।
सञ्चारको विकास नभएको समयको कुरा, त्यस मानिसले बिहे गरेको कुरा घर परिवारलाई भन्न पनि भ्याएका थिएनन्। त्यसले गर्दा यी आमाछोरालाई परिवारले स्वीकारेनन्। विचरा घरबासको ठेगान नभएका ती आमाछोरालाई कहाँ बस्ने र के खाने भन्ने ठूलो समस्या पर्यो।
परिवारले अस्वीकारेपछि उनीहरू काठमाडौं छिरे। काठमाडौंमा मात्र यिनका को थिए र? त्यहाँ पनि उनीहरूलाई बास र खाने कुराको समस्या पर्यो। दुईतीन दिनसम्म उनीहरूले भोकै एउटा पाटीमा रात बिताए। दिनदिनै काम खोज्न हिंड्दा एकजना होटेल साहुलाई दया लागेर भाँडाकुँडा माझ्ने काम दिए। उनीहरूलाई बास बस्नका लागि एउटा सानो कोठा पनि दिए। त्यही होटेलमा काम गर्दागर्दै उनको छोरालाई पढाएर हुर्काइन्।
दुःखमा हुर्केकाले होला उनको छोरा साँच्चिकै सोझो र इमान्दार भएर निक्लियो। उनले एसएलसी पास भएदेखि नै ट्यूशन पढाएर अलिअलि कमाउन थाले। ट्यूशन पढाउनुको साथसाथै आफ्नो पढाइलाई पनि निरन्तरता दिंदै गए। यसरी दिन बितिरहेको बेला उनलाई शिक्षकको जागिर मिल्यो।
जागिर र ट्यूशनको पैसा जम्मा पारेर उनले काठमाडौंमा एक टुक्रा जग्गा किनेर एउटा सानो घर पनि बनाए। परदेशको ठाउँमा टुहुरा भएर स्वदेश आउँदा पनि घरबासको ठेगान नभएर हिजो गाउँगाउँ र काठमाडौंको गल्लीहरू चाहारेर दुःख पाएका यी आमाछोराले प्रगति त गरे। तर छोराले कमाएर प्रशस्त खान पाउने दिन आएको बेला आमालाई मधुमेह रोग लाग्यो। त्यही रोगका कारण छिट्टै नै छोरालाई एक्लो पारेर आमाचाहिंले यस भवसागरबाट पार लिइन्।
केही समयपछि छोराचाहिंको बिहे भयो। उनीहरूका दुई छोरा जन्मे। लोग्नेस्वास्नीकै शिक्षकको जागिर भएकाले दुई जनाको कमाइको सहयोगबाट दुवै छोराहरूलाई अमेरिका पढ्न पठाए। दुवै जनाले राम्रो मिहिनेतपूर्वक पढे। उनीहरूले अमेरिकामै जागिर पनि पाए। सुखका दिन शुरू भयो। आमाबाबु दुवैको यहाँ शिक्षणको काम थियो। यो संघर्षको कथा अरू कसैको नभएर नारायण सरकै हो। भारतबाट आमासँगै नेपाल आएका बालक तिनै नारायण सर थिए।
मलाई देवताजस्तै लागेका र धेरै मनपर्ने नारायण सरको कथा सुनेर भाव विह्वल भएँ। आँखाबाट हर्ष र विस्मातको आँसु बग्न थाल्यो। यति धेरै दुःख पाएर पनि जीवनमा नारायण सरले जति प्रगति गर्न सक्ला भन्ने मैले कल्पनासम्म पनि गरेको थिइनँ। उनको प्रगति देखेर मेरो मनमा आनन्दको अनुभव भइरहेको थियो। मैले जीवनमा सयौं गुरु भेटें होला। तर नारायण सर जस्तो कहिल्यै भेटिनँ होला। सायद उनी जस्तो गुरु जीवनमा फेरि कहिल्यै भेट्टाउन सक्दिनँ होला।
तालिम सकियो। म आफ्नो विद्यालयमा फर्किएँ। एक महिनापछि मेरो कक्षा निरीक्षणका लागि उनी मेरो विद्यालयमा आए। उनका लागि भक्तपुरको जुजुधौ किन्न पठाएँ। तर उनले केही पनि खाएनन्। मलाई नुन नभएको तरकारी खाए जस्तै खल्लो लाग्यो।
एक दिन म पढाइरहेको थिएँ। मेरो खल्तीबाट मोबाइल बज्यो। म कक्षाबाट बाहिर आएर मोबाइल उठाएँ।
“तिमीले थाहा पायौ, हाम्रो नारायण सरलाई क्यान्सर भएछ नि?” उताबाट साथीको आवाज आयो।
कुरा सुन्नेबितिक्कै मेरो खुट्टा लगलग काम्यो। आँखामा आँसु भरियो। तैपनि मन बाँधेरै सोधें, “मैले यो कुरा त सुनेको छैन। केको क्यान्सर भएको रे?”
साथी र म दुई जना मिलेर नारायण सरलाई भेट्न नक्सालस्थित उनको घरमा पुग्यौं। सरलाई देखेको बेलामा उनलाई तत्काल केही भइहाल्ला जस्तो लागेन। उनलाई पेटभित्रको प्यांक्रियाजको क्यान्सर भएको रहेछ। हामी दुई घण्टा जति कुरा गरेर फर्कियौं।
तिहार आयो। लक्ष्मी पूजाको दिन साँझपख धान काट्न गएर फर्केर आएँ। मलाई नारायण सरको याद आयो। मलाई एकदमै मनपर्ने सर। त्यसमाथि पनि क्यान्सरको विरामी। मलाई सरसँग कुरा गर्न मन लाग्यो। तिहारको शुभकामना पनि दिने र एकपल्ट कुरा पनि गर्ने विचारले मोबाइल लिएर सरको नम्बर डायल गरें।
“हेलो, को बोल्नुभएको होला?” उताबाट आइमाईको आवाज आयो। ती बोलिरहने आइमाई नारायण सरकी जहान रहिछिन्।
“नारायण सरलाई फोन दिनुस् न।” मैले भनें।
“उहाँ त हुनु हुन्न।” सरकी श्रीमतीले भनिन्।
“कहाँ जानुभयो त? कतिबेला फर्किनुहुन्छ?” मैले सोधें।
मेरो प्रश्न सुनेर नारायण सरकी श्रीमती अकमकाइन्। एकछिनसम्म केही जवाफ दिइनन्। मैले फेरि सोधें।
“तपाईंले सुन्नुभएन र खवर? उहाँको समवेदना गोरखापत्रमा पनि निस्किएको थियो। उहाँ बित्नुभएको त पाँच छ महिना भइसक्यो।” उताबाट जवाफ आयो।
म झसङ्ग भएँ। म छाँगाबाट खसेझैं भएँ। मलाई आकाशै खसेर थिचेको हो कि जस्तो अनुभव भयो। मलाई उभिरहन पनि गाह्राे भयो। रिंगटा लाग्न थाल्यो। मेरो आँखाबाट आँसु झर्यो। कति चाँडै यस्तो खवर सुन्नुपर्यो? मलाई सबैभन्दा बढी मनपर्ने नारायण सरले संसार छोड्नुभएको खबर समेत त्यतिबेला थाहा पाइनँ। उहाँलाई तिहारको शुभकामना दिने मेरो इच्छा अधुरै रह्यो। सायद भगवानलाई पनि असल मान्छे नै प्यारो हुन्छ होला। त्यसैले त असल मान्छेले नै यो संसार छिट्टै छाडेर जाँदोरहेछ।
आज नारायण सर त यस संसारमा छैनन्। उनीसँग कुरा गर्ने मेरो इच्छा पनि पूरा हुन सकेन। तर उनको महान् विचारले गर्दा उनको सम्झना मेरो दिलमा रहिरहेको छ। उनको भौतिक शरीर बाँकी नभए पनि उनको सम्झना मेरो दिलमा बोकेर म बाँचिरहेको छु। उनीसँग मैले धेरै कुराहरू सिक्न बाँकी राखेरै उनी बितेर गए। उनी आदरणीय र पूजनीय व्यक्तित्व भएका देवतासमान मान्छे हुन्। उनीको मेरो दिलमा अजर र अमर भएर बाँचिरहेका छन्। उनी बिर्सिन नसकिएको मान्छे।
(कथाकार सुवालकाे अरूणाेदय कथासंग्रहमा सङ्गृहीत।)
प्रकाशित: १० आश्विन २०८१ १०:३८ बिहीबार





