हामी दाहसंस्कार सकेर घर फर्क्यौ। झमक्क साँझ परिसकेको थियो। घर अँध्यारो थियो। गोठमा गाईले घाँस खाएको थिएन। बाछाे निस्ताएर दूध चुसेको थिएन। घरमा आमाका चुरा बजेका थिएनन्। कतै पनि आमाको सुगन्ध पटक्कै थिएन।
भाइ डराउँदै आएर मलाई सोध्यो, ‘दाजु, बुबा कतै देख्दिनँ त!’
मैले आत्तिंदै यताउति बुबा खोजें। उहाँ त सुकसुकाउँदै आमाका छरपस्टिएका सामानहरू सर्याउँदै हुनुहुँदो रहेछ। थाहा नपाए जस्तै गरें मैले।
हामी कोरामा बस्यौं। कोठा चकमन्न थियो। एउटा कुनामा आमाको हाँसिरहेको तस्विर थियो। तस्विर अगाडि एउटा दियो दुःखी भएर बलिरहेको थियो।
सबै सुत्ने तरखर गरे। उनीहरू साँच्चिकै निदाए कि निदाएको अभिनय गर्दै थिए। म भने आमाको सम्झनामा छटपटिंदै थिएँ।
म झकाउन थालेछु। उही साडी र उही चोलो लगाएकी मेरी आमा छपक्कछपक्क पाइला सार्दै आउनुभयाे अनि भन्नुभो, ‘बत्ती निभो, बत्ती निभो, बत्ती निभो !’
म झसङ्ग बिउँझिएँ। साँच्चिकै बत्ती निभ्ने तरखरमा धिपधिपाइरहेको थियो। म आमा र निभ्न लागेको बत्ती देखेर चिच्याएँ। मैले तेल थपें। बत्ती उज्यालो भो। आमा एकाएक अलप हुनुभो। नआउने बाटो गएकी मेरी आमा कसरी आएर बत्ती निभ्न लागेको संकेत दिनुभो? के यो मेरो सपना थियो कि भ्रम?
म अन्योलमै आमाको वियोगमा रुमल्लिरहेको थिएँ।
प्रकाशित: २४ भाद्र २०८१ १०:२१ सोमबार




-1200x560-600x400.jpg)
