१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

नयाँ स्रष्टाकाे उम्दा कृति ‘खुला आकाशमुनि’

पुस्तक

मुक्तक पूर्वापर प्रसङ्गबाट निरपेक्ष छोटो तर आफैँमा पूर्ण लघु आयामको कविता हो। साहित्यका विधाहरूमध्ये कविता विधा सर्वप्राचीन विधा मानिन्छ। मुक्तक पनि कविता विधाकै उपविधा भएकोले यो पनि सर्वप्राचीन विधा हो भनेर यकिन गर्न सकिन्छ।

 प्राचीन ग्रन्थ अग्निपुराणमा पनि मुक्तकको सन्दर्भमा चर्चा भएको पाइनु र छैटौँ शताब्दीदेखि नै काव्यचिन्तकहरूले मुक्तकको चिन्तन परम्पराको थालनी गरेको भेटिनुबाट पनि यो पुरानो उपविधा भएको पुष्टि गर्न सकिन्छ।

फारसी भाषामा लेखिने रुवाई तथा अङ्ग्रेजी भाषामा लेखिने क्वाट्रेनसँग संरचना समान खालको देखिए पनि अभिलक्षणाको हिसाबले मुक्तक यी काव्यिक प्रभेदहरूभन्दा पृथक् देखिन्छ। ‘ए, ए, बी, ए’ को अनुप्रासिक शैलीमा चार हरफमा लेखिने गरेको यो उपविधाको पहिलो हरफमा विषयको उठान, दोस्रो हरफमा उठान गरिएको विषयवस्तुको समर्थन, तेस्रो हरफमा उपयुक्त वातावरण वा आधार निर्माण गरी चौथो हरफमा चोटिलो प्रहार गर्दै यसको बैठान गरिन्छ।

पछिल्लो समयमा नेपाली साहित्यको क्षेत्रमा पनि मुक्तक लेख्नेहरू निकै बढेको छ तर जुन हिसाबले मुक्तकको सङ्ख्यात्मक विकास भएको छ, त्यही हिसाबले गुणात्मक विकास भने भएको पाइन्न। त्यसैले मुक्तककारहरूको सामु खडा भएको मुख्य चुनौती भनेकै मुक्तकको गुणात्मक विकास गर्दै यसलाई मानकीकरण गर्नु हो। यस विषयमा मुक्तककार नानुमैया दाहाल सचेत देखिन्छिन् । उनले भर्खरै प्रकाशनमा ल्याएको ‘खुला आकाशमुनि’ मुक्तकसङ्ग्रहले यसको पुष्टि गर्दछ।

‘खुला आकाशमुनि’ मुक्तकसङ्ग्रहमा १५२ मुक्तक सङ्गृहीत छन्। यस सङ्ग्रमा प्रगतिवादी धाराका मुक्तकहरूको आधिक्य छ । केही मुक्तक यथार्थवादी धाराका छन् भने केही मुक्तक शृङ्गारिक धाराका छन्। उनका हरेक मुक्तकले केही न केही सन्देश छोड्छन्। सङ्ग्रहका मुक्तकहरूमा कल्पनाभन्दा पनि वैचारिक दृष्टिकोणलाई जोड दिइएको छ। बिम्ब, प्रतीक, अलङ्कार र उखानटुक्काहरूको प्रयोग गर्दै कलात्मक ढंगले मुक्तकहरूको रचना गरिएको छ। त्यसैले यो मुक्तकसङ्ग्रह लेखकको पहिलो कृति भए पनि निकै परिपक्व र स्तरीय छ।

समीक्षक दिनेश थापा `बेगारी´ 

‘खुला आकाशमुनि’ का मुक्तकहरूले नेपाली जनजीवनमा रहेका विभेदहरू, सामाजिक विकृति र विसङ्गतिहरू एवं गलत राजनैतिक परिदृश्यको पटाक्षेप र कटाक्षपात गरेको पाइन्छ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट देशमा व्यवस्था परिवर्तन हुँदा पनि शासकीय शैली र राज्य सञ्चालन प्रणालीमा तात्विक परिवर्तन नभएको अभिव्यक्ति उनका मुक्तकहरूमा भेटिन्छ। नेपाल आफैँमा सुन्दर, शान्त र विशाल देश भए पनि शासन सञ्चालनको बागडोर हातमा लिएका अगुवाहरू परनिर्भर हुन पुग्दा देशको अस्मितासमेत लुटिन पुगेको तथा जनताबाट चुनिए पनि नेताहरूले निर्वाचित भएपछि आफूले टेकेको जमीन र धरातल बिर्सिएर जनताको सार्वभौमसत्तालाई अँध्यारो कोठाभित्र थुनिदिएको अभिव्यक्ति मुक्तककार मुक्तकमा ओकल्छिन्:

आफ्नैबाट लुटिँदालुटिँदा साह्रै निरीह भएछ देश

छिमेकीहरूको कठपुतली बन्ने खतरामा परेछ देश

भए तापनि हिमाल, पहाड र तराईको विशाल क्षेत्र

बालुवाटारको पिँजडाभित्र पो थुनिएको रहेछ देश।

नानुमैया दाहालका अधिकांश मुक्तकमा राष्ट्र, राष्ट्रियता र समाजवादप्रति अगाध प्रेम देखिन्छ। प्रगतिवादी धाराभित्र रहेर सामाजिक रूपान्तरणका पक्षमा विचारशील मुक्तक लेख्ने दाहालका मुक्तकहरू दार्शनिक दृष्टिकोण प्रदान गर्ने खालका पनि छन्।

 निश्चित लक्ष्य लिएर अगाडि बढेका यात्रीहरूको जीवनमा आँधी आउन सक्छ, समस्याहरूको खातले सगरमाथा टेक्न सक्छ तर आफ्नो बाटो र लिइएका उद्देश्यप्रति दृढ र दर्बिलो भएर अडिन सक्नुपर्छ भन्ने मान्यता उनी मुक्तकबाट यसरी पोख्छिन्:

आँधीहुरी चल्न सक्छ सतिसाल भने झुक्नु हुन्न

अवसरको खात लागे पनि राता मान्छे चुक्नु हुन्न

ठेस लाग्ला यात्रामा या प्राप्ति होला थोरै उपलब्धि

गन्तव्यमा नपुगेसम्म विश्रामको बिगुल फुक्नु हुन्न।

देशको मुल कानुन भनेकै संविधान हो। संविधानमा नै नेपाल समाजवादउन्मुख मुलुक भएको कुरा स्वीकारिएको छ। त्यसैले समाजवादको आधार तयार गर्ने ढङ्गले वर्तमान नेपालको शासन सञ्चालन गरिनुपर्नेमा ठीक उल्टो मध्यम वर्ग र पूँजीपति वर्गको हित अनुकूल हुने गरी कुटिल चाल चाल्दै सोझा गरिब जनतामाथि अन्तर्घात गर्ने गरिएको परिदृश्यबाट मुक्तककार वाक्क भएकी छन्। त्यसैले उनी समतामूलक अर्थव्यवस्था र राजनैतिक व्यवस्था भएको सुन्दर देश निर्माणमा यसरी जोड दिन्छिन्:

अभावले कोही रुन्न हाम्रो रक्तिम देशमा

महँगीले आकाश छुन्न हाम्रो रक्तिम देशमा

स्रोत साधन साझा जस्तै अवसर बराबरी

मालिक नोकर दुवै हुन्न हाम्रो रक्तिम देशमा।

नेपाली समाजमा अहिले पनि महिलाहरूले विभिन्न खाले प्रताडना खेप्नु परिरहेको छ। महिला हिंसाको स्वरूप र प्रकृति बदलिएको छ तर महिला हिंसा भने यथावत छ। चुपचाप सहेर बस्यो भने मुक्ति सम्भव हुन्न भन्ने विषय उजागर गर्दै मुक्तककार मुक्तिको लागि लामबद्ध हुन यसरी नेपाली महिला दिदीबहिनीहरूलाई आह्वान गर्छिन्:

सृष्टिकर्ता हौ नारी तिमी तर किन हेपिएर बाँच्छ्यौ?

बन्धक राखी खुसी जति ईशारामा किन नाच्छ्यौ?

थाकेका छन् गोमनहरू यही हो तिम्रो शुभ बेला

मुक्ति युद्ध नथालेर कहिलेलाई सामर्थ्य साँच्छ्यौ?

नारीमाथि हुने गरेका अन्याय र शोषणविरुद्ध आगो ओकल्दै अधिकारका राग अलाप्ने क्रममा उनी मूलतः महिलाहरू घरभित्रबाट अत्याचारको तापले पिल्सनु परिरहेको बाध्यताको पर्दाफास गर्न पनि सफल भएकी छन्। जेट्किन, रोजा, जेनी मार्क्स जस्ता महान नारीहरूको संघर्षका कथाहरूसँग जानकार सचेत पुरुषहरू पनि यस प्रकृतिको विकृत कार्यमा संलग्न हुने गरेको कुरा उनी मुक्तकको माध्यमबाट यसरी खुलासा गर्छिन्:

नेताज्यूले अस्ति जेट्किनको जीवनकथा घोक्नुभएछ

हिजो नारी मुक्तिको लागि विद्रोहको झण्डा बोक्नुभएछ

आज आफ्नै श्रीमतीलाई खाना ढिलो पकाएको निहुँमा

प्राणपखेरू नै उड्ने गरी मुङ्ग्रोले टाउकोमा ठोक्नुभएछ।

नेपाली जनताले कहिले आन्दोलन, कहिले बलिदानीपूर्ण संघर्ष त कहिले मताधिकारको प्रयोगबाट शासन व्यवस्था बदलेका छौँ, शासक पनि फेरेका छौँ। तर दुर्भाग्य हाम्रो अवस्था र देशको मुहारमा कुनै परिवर्तन आएन। यसको मूल कारण भनेको भान्सामा पुगेर खानाको स्वाद चाखिसकेपछि आशा र भरोसा लागेका पात्रहरू पनि बिस्तारै स्खलित बन्दै अन्ततः आमाको काखमा बसेर तिनकै मुटु झिक्न छातीमा छुरी रोप्न उद्धत हुनु हो। यस कुराले मुक्तककार दाहाललाई पनि निकै पिरोलेको देखिन्छ। उनले आफ्नो पीडाको पोको यसरी फुकाएकी छन्:

पात्र त थुप्रै फेर्याैं हामीले तर सबैले ठगेको देखेँ

चिची होस् या पापाको लोभमा सबै डगेको देखेँ

सबै अलाप्थे राष्ट्रियता लाग्थ्यो जोगाउने रहेछन्

तर गण्डकी, महाकाली र कोसीमा बगेको देखेँ।

नेपालको अहिलेको मुख्य समस्या गरिबी र बेरोजगारी हो। काम र मामको खोजीमा दिनहुँ थुप्रै युवा विदेसिन विवश छन्। अचम्मको कुरा त के छ भने हाम्रो समाज र राज्य वैदेशिक रोजगारमा गएका युवालाई पनि ग्रेडिङ गर्छ। धनी कहलिएका मुलुकमा गएका युवा र अरबी मुलुकमा गएका युवाहरूलाई फरकफरक आँखाले हेर्छ। यस्तो विषमतालाई छिचोलेर रहर नहुँदा नहुँदै पनि अरू विकल्प नभेटेपछि देश छोड्न विवश युवाहरूका पीरमर्काको उठान गर्दै मुक्तककारले राज्यको विभेदपूर्ण व्यवहारप्रति तीखो व्यङ्ग्य प्रहार गरेकी छन्: 

बिरामी आमा, दोजिया पत्नी छोडेर जाने मन त थिएन

चौगुणा बढ्यो ऋणको भारी चिन्ताले घरमा बस्न दिएन

चाहेन त्याग्न माटो उसले गएन यूरोप लाग्यो खाडीतिर

तर देशले गैह्र आवासीय च्याप्यो उसको भने चासो लिएन।

प्राचीन भारतवर्ष (वर्तमान दक्षिण एसियामा रहेका समस्त आधुनिक राजनीतिक भूगोलमा परिभाषित राष्ट्र-राज्यहरू जस्तो नेपाल, भुटान, बङ्गलादेश, भारत, पाकिस्तान, श्रीलङ्का, र धेरै मात्रामा अफगानिस्तान र थोरै मात्रामा वर्मा समेत) मा विकास भएको संस्कृतिलाई पूर्वीय संस्कृति मानिन्छ।

यो संस्कृति शास्वत नैतिक मान्यता, कर्मको सिद्धान्त र सम्पूर्ण जीवनको खोजसँग सम्बन्धित छ। पूर्वीय संस्कारहरू प्रकृतिसँग जोडिएका छन्।

यसरी हेर्दा पूर्वीय संस्कार र संस्कृतिले प्रकृति भौतिक जीवनको महत्त्वपूर्ण अंश हो भन्ने तथ्य स्वीकारेको देखिन्छ। पूर्वीय संस्कृति उच्च कोटिको संस्कृति हो। किनकि अहिलेका कतिपय वैज्ञानिक ज्ञान र चिन्तनका समस्यालाई प्राचीन पूर्वीय संस्कार र संस्कृतिले उही बेला नै सम्बोधन गरिसकेको देखिन्छ।

यस्तो जीवन्त संस्कृतिमाथि पनि अहिले पाश्चात्य संस्कृतिले धावा बोल्न थालेको छ। मुक्तककार दाहाल विभिन्न बिम्बको प्रयोग गर्दै यस्तो अतिवादी आक्रमणले पूर्वीय संस्कृति नडगमगाउने ठोकुवा गर्छिन्:

मेटिन्न मेरो पहिचान चोमोलुङ्माले साँचिरहेको छ

संस्कृति गाउँदै तुवाचुङ सिली नाच नाचिरहेको छ

बगाउदैंन मेरो सभ्यता तिम्रो नामन्जुरी भेलबाढीले

कोसीको भेलसँग जुझ्दै खुवालुङ बाँचिरहेको छ।

यस संग्रहभित्रका थुप्रै मुक्तकमा शासकहरूलाई अर्ती दिइएको छ। त्यस्तै जीवन सुधार्न चाहनेहरूका लागि गहकिला उपदेशहरू र समाज सुधारको अभियानमा होमिएका अभियन्ताहरूलाई सल्लाह पनि छ। यसको साक्ष्यको रूपमा निम्न मुक्तकलाई लिन सकिन्छ:

नपाल ईर्ष्या तिमी यसले तिम्रै मान सक्छ

सुस्तसुस्त गतिमा तिमीलाई खान सक्छ

अझ हुर्किन, बढ्न र फैलिन पायो भने त

तिम्रो रङ्गीन पहिचान पनि पैह्रो जान सक्छ।

नेपाली साहित्यमा प्रगतिशीलताको पेरिफेरिमा हुर्कदै प्रगतिवादतर्फ लम्कने साहित्य र साहित्यकारहरूको ह्रास हुन थालेको वर्तमान परिस्थितिमा यो मुक्तकसङ्ग्रह प्रगतिवादी साहित्याकाशमा चम्किलो तारा बनेर उदाउन आइपुगेको छ। प्रगतिवादको नाममा हुर्कन थालेको चाकडीवाद, चाप्लुसीवाद र अवसरवाद एवं सस्तो लोकप्रियतावादको भण्डाफोर गर्दै साँचो अर्थमा प्रगतिवादी दृष्टिकोण दिन यस सङ्ग्रहका अधिकांश मुक्तक सफल भएका छन्।

वास्तवमै यो संग्रह मार्क्सवादी सौन्दर्य चिन्तनसँग सम्बन्धित विचारहरूको संग्रहालयको रूपमा आएको छ। क्रान्ति र परिवर्तनको पक्षमा निर्भिक भएर उभिनु पर्ने छनक उनका मुक्तकहरूमा यत्रतत्र पाइन्छ:

हरेस नखाऊ प्रिय गगन सफा हुने छाँट छ

दूईचार दिनदेखि धर्तीको पनि बेग्लै ठाँट छ

तारा झरिसके र बास्यो भाले पनि बस्तीमा

अझै पनि हामीसँग बिहानी ल्याउने आँट छ।

मुक्तककार नानुमैया दाहालले यस सङ्ग्रहमा शृङ्गारिक धाराका मुक्तकहरू पनि समावेश गरेकी छन्। तर उनका मुक्तकहरूमा प्रेमिल भावलाई अश्लील र छाडा रूपमा होइन कोमल ढङ्गले पोखिएको छ:

कस्तो सुन्दर तिम्रो मुहार हेरिरहुँ लाग्छ

छमछम नाच्दै तिमीलाई घेरिरहुँ लाग्छ

प्यार बोकेर तिमी आऊ न सुस्त सुस्त

चुम्बन गर्दै अङ्गालोमा बेरिरहुँ लाग्छ।

अतः मुक्तककार नानुमैया दाहाल आशावादी स्वर उराल्ने, दार्शनिक चेत व्यक्त गर्ने, सामाजिक विकृति र विसङ्गतिको विरोधमा निर्धक्कसाथ पौठेजोरी खेल्न तम्सने कुशल र ऊर्जाशील प्रगतिवादी मुक्तककार हुन्।

उनको ‘खुला आकाशमुनि’ मुक्तकसङ्ग्रहमा पनि केही मुक्तक अरू धारा र भावका भए पनि धेरैजसो मुक्तक प्रगतिवादी धाराका छन्। उनका केही मुक्तकमा लयविधानगत दोषहरूचाहिँ भेटिन्छन् । आगामी लेखनहरूमा यस त्रुटिमा समेत सुधार गर्दै सिर्जना यात्रालाई निरन्तर अगाडि बढाउन सके अझ युगीन र कालजयी रचना दिन सक्ने सामर्थ्य उनीमा देखिन्छ।

प्रकाशित: ८ भाद्र २०८१ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App