१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पोखरामा गाईजात्रा रमझम

पोखरामा पनि मंगलबार गाईजात्रा निकालिएको छ। नेवारी समुदायमा पछिल्लो एकवर्ष भित्र आफन्तको मृत्यु भएमा मृतकको परिवारले निकाल्ने गाईजात्रा यसवर्ष झरीका बाबजुद पनि निकालिएको छ। 

पोखराका गाउँगाउँबाट गाईजात्रा निकालिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए। तर यति नै संख्यामा गाईजात्रा निकालिएको भनेर भन्न नसकिने उनको भनाई छ। हरेक गाउँ टोलमा गाईजात्रा निकाल्ने चलन रहेको उनले बताए।   

गाईजात्राको अवसरमा ३३ स्थानबाट मंगलबार तायमचाः निकालिएको छ। नेवा खलः कास्कीको आह्वानमा शाखा (कचाः)खलःहरुले तायमचा निकालेका हुन्। मंगलबार पुरानो पोखरामा २४ र लेखनाथमा ९ वटा गरेर कुल ३३ स्थानबाट तायाःमचा निस्किएको नेवाः खल कास्कीका अध्यक्ष पालिखेले जानकारी दिए।

उनका अनुसार पोखरामा मंगलबार हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्रवैंकचोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचाः निकालिए। त्यस्तै, महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर र रामबजारबाट पनि तायमचाः निस्केको उनले बताए। त्यस्तै लेखनाथबाट सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर, देउरालीलगायतका स्थानबाट तायमचाः निकालिएको जनाइएको छ।

तायाःमचा ३३ ठाउँबाट भएपनि गाईजात्रा भने धेरै ठाउँबाट निस्किएका छन्। एउटा टोलबाट धेरै गाईजात्रा निस्किए पनि तायाःमचा एउटै हुने भएकाले गाईजात्राको संख्या धेरै भएको अध्यक्ष पालिखेको भनाई छ। उनले भने, ‘एउटा टोलबाट एउटा तायाःमचा निकालिन्छ। तर एउटा टोलमा एक वा सो भन्दा बढी मान्छेको मृत्यु भएको भए गाईजात्रा पनि धेरै नै निस्किन्छ। त्यस हिसाबले यति नै संख्यामा गाईजात्रा निस्कियो भनेर भन्न नसकेपनि धेरै संख्यामा जात्रा निकालिएको अनुमान गर्न सकिन्छ।’ उनका अनुसार पोखरामा मंगलबार सबैभन्दा धेरै भीमसेन टोलमा ६ वटा गाईजात्रा निस्किएको छ। त्यस्तै महेन्द्रपुललगायतका ठाउँहरुमापनि दुई भन्दा बढी गाई निस्किएका छन्। 

यसैबीच, गाईजात्राको अवसरमा नेवा खलः कास्कीको आह्वानमा तायमचाःनृत्य प्रतियोगिता यहि भदौ ८ गते शनिबार आयोजना हुँदैछ। नेवा कचाः खल नयाबजारको आयोजना तथा नेवा मिसा पुचः नयाबजार, नेवा ल्याम्ह पुचः नयाबजार र नेवाः कल्याणकारी गुठीको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो। हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको श्रृंखलामा २९ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको बिजेतालाई ३ लाख १ रुपैयाँ, द्वितीय हुनेलाई २ लाख १ रुपैयाँ, तृतीय हुनेलाई १ लाख १ रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार १ रुपैयाँ प्रदान गरिने मूल संयोजक श्रेष्ठले बताए। त्यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए। पुरस्कारको सबै राशी पोखरा तेर्सापट्टी निवासी स्व.हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा उनका परिवारले उपलब्ध गराउने जनाइएको छ।

प्रकाशित: ४ भाद्र २०८१ १८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App