२ माघ २०८१ बुधबार
image/svg+xml
कला

कान्ति तालको सुन्दरता नबिगार्न विद्यार्थीको आग्रह

कान्ति तालको प्राकृतिक सुन्दरता नबिगार्न दबाब दिँदै ‘ब्रिटिस इको क्लब’ का विद्यार्थी। तस्बिर: नागरिक

नेपालगन्जस्थित कान्ति तालको प्राकृतिक सुन्दरता नबिगार्न विद्यार्थीले आग्रह गरेका छन्। ‘प्राकृतिक सिमसार’ क्षेत्रका रूपमा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा रहेको उक्त तालको अस्तित्व नै मेटिने गरी मोटर बोट सञ्चालन गर्न खोजिएपछि विद्यार्थीले यस्तो आग्रह गरेका हुन्।

नेपालगन्जस्थित ब्रिटिस इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत ‘इको क्लब’ का विद्यार्थीले आइतबार कान्ति ताल क्षेत्रमै पुगेर प्राकृतिक सुन्दरताले भरिएको तालको अस्तित्व नमेटाउन आग्रह गरे।

‘कान्ति ताल प्राकृतिक सिमसार हो, प्राकृतिक सिमसारलाई बचाउने हामी सबैको दायित्व हो’, ब्रिटिस इको क्लबका अध्यक्ष जयन्द्र शाहीले भने, ‘प्राकृतिक सिमसारलाई हाम्रो पुस्ताले देख्न पाउनुपर्छ।’

कान्ति ताल प्राकृतिक रूपमा ‘वरदान’ नै भएको उनले बताए। इको क्लबका विद्यार्थीले प्राकृतिक सिमसार बचाउनुपर्नेलगायत विभिन्न कुरा लेखिएका प्लेकार्डसमेत बोकेका थिए।

विद्यार्थीलाई प्राकृतिक सम्पदाको महत्व, आवश्यकता जस्ता विषयमा अतिरिक्त जानकारी दिने उद्देश्यले उक्त स्कुलमा विगत केही वर्षदेखि इको क्लब क्रियाशील छ। विद्यार्थीलाई समयसमयमा प्राकृतिक सम्पदाको अध्ययन तथा अवलोकन गराएर अतिरिक्त ज्ञान दिने गरिएको विद्यालयका प्राधानाध्यापक एवम् हरित अभियन्ता हेमन्तराज काफ्लेले बताए।

‘हाम्रो स्कुलको इको क्लब सक्रिय छ, हामीले बेलाबेलामा विद्यार्थीलाई प्राकृतिक सम्पदाको अवलोकन गराउँछौं’, उनले भने, ‘यसबाट उनीहरूले धेरै ज्ञान सिक्छन्।’ क्लबमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरू सदस्य रहेको प्रधानाध्यापक काफ्लेले बताए।

कान्ति तालको अस्तित्व मेटिने गरी मोटरबोट सञ्चालनको तयारीको चौतर्फी रूपमा विरोध भइरहेको छ। २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालमा ठेकेदारले मोटरबोट चलाउने तयारी गरेपछि दुर्लभ चराको वासस्थान संकटमा परेको छ भने प्राकृतिक सिमसार नै नासिने खतरा बढेको छ।

उक्त तालमा माछापालनलगायत गतिविधि गर्न उपमहानगरपालिका कार्यालयले २०७८ सालमा स्थानीय ठेकेदार फनबहादुर गुरुङलाई १० वर्षका लागि जिम्मा दिएको थियो। ठेकेदारले यसअघि तालमा माछापालन गर्दै आएकोमा यस वर्षदेखि मोटरबोट चलाउन खोजेपछि विरोध भएको हो।

प्राकृतिक सिमसार क्षेत्रको अस्तित्व नै मेटाउने गरी कान्ति तालमा मोटरबोट सञ्चालन भएमा दुर्लभ चरासहित त्यहाँ आश्रय लिइरहेका जीव, जन्तुको वासस्थान तथा वनस्पति लोप हुने निश्चित रहेको यहाँका संरक्षणकर्मी बताउँछन्।

प्रकाशित: ४ भाद्र २०८१ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App