सवाल देशको हुन सक्छ। सवाल राष्ट्रियताको हुन सक्छ। अनि समाज, जीवन, जगत् र यो युगकै हुन सक्छ। आजकल जताततै सवाल नै सवाल उठिरहेका छन्, जवाफको खोजमा।
मानव सभ्यता व्यवस्थित हुनुमा पनि मानव चेतनाका सवालहरूले बढी काम गरेको इतिहास हामीसँग छ। जसरी मानव सभ्यताका आम सवालहरूलाई प्रगतिशील अमेरिकी वैज्ञानिक ‘लुइस हेनरी मोर्गन’ ले ‘प्राचीन समाज’ का बारे सवाल र तिनका उत्तर खोज्दै टिप्पणी लेखे।
जुन मार्क्सका पाण्डुलिपिहरू अध्ययनका क्रममा फ्रेडरिक एन्गेल्सले मोर्गनका सवालको जवाफ खोजे। आलोचनात्मक टिप्पणी र इतिहासको भौतिकवादी धारणा तथा आदिम समाजसम्बन्धी मोर्गन र मार्क्सको दृष्टिकोणको मेल खाएपछि दुवै जनाले उठाएका सवाल र दृष्टिकोणलाई लिएर मानव सभ्यताका जङ्गली युग, बर्बर युग तथा सभ्य युगमाथिको सवाल चिर्ने काम एन्गेल्सले गरे। फलतः उनले जरासम्म पुगेर मानव सभ्यता, परिवार, निजी स्वामित्व र राज्य उत्पत्तिका सवाल चिरेर आम मानिससामु छर्लङ्ग पार्ने पुस्तक सन् १८८४ मै लेखे।
जब सवालहरू बिच जवाफ खोज्ने काम हुन्छ वा सवालहरूले सवाल जन्माउँछन्, तब सिर्जनाको मूल फुट्दछ। गजलकार विष्टले पनि आफूले देखेका, भोगेका, अनुभूत गरेका जीवन जगत्, राष्ट्र, राष्ट्रियता, मानव, समाज, परिवार, प्रेम, घृणा, ईर्ष्या, सम्बन्ध, संस्कृति, विकृति, प्रकृति लगायत मानव भएर अनुभूत गरेका र त्यसभित्रबाट उठेका सवालहरूलाई गजलका माध्यमबाट प्रकट गरेकी छन्।
अरबी भाषाको मूल शब्दबाट ‘गजल’ शब्द प्रारम्भ भएर फारसीमा हुर्केर, फुलेर हिन्दी हुँदै नेपालमा पनि भित्रियो। गजल लेख्ने सबैलाई ज्ञात छ मोतीराम भट्टले फारसी छन्दको प्रयोग गरी पहिलोपटक नेपालमा गजल लेखन सुरूवात गरे।
अरबी र फारसीमा शृङ्गारमा लेखिने गजल नेपालको माटोमा आएर फुल्दा विविध रसमा, विविध विषयमा फुल्न थाल्यो। वर्तमान अवस्थामा जति कविता सशक्त बन्दै गयो त्यति नै गजल पनि सशक्त बन्दै गएको छ।
मोतीराम भट्टकै पदचापमा टेकेर कञ्चनपुरकी गङ्गा विष्ट ‘सवाल’ गजलसङ्ग्रहमा जवाफ खोज्न अघि सरेकी छन्। फुटकर गजलमा पढ्दै आएका पाठकले अब गजलसङ्ग्रहमै गङ्गालाई पढ्न पाउने भएका छन्।
गजलसङ्ग्रहको नाम अनुसारका गजलहरू यस सङ्ग्रहमा सङ्ग्रहित छन्। हेरौं ‘सवाल’ मा सङ् गृहीत पाँचौं गजलको पहिलो सेर:
नेतालाई जनताका प्रश्नहरू तमाम छन्
छैनन् उचित जवाफमा पूर्णविराम छन्॥
प्रस्तुत सेरले गजल कृतिको नाम ‘सवाल’को भार बोकेको छ। मुलुक बनाउँछु र जनतालाई सुख दिन्छु भन्दै मत बटुलेर गएका नेताहरूले जनतालाई कबुल गरेका वाचाहरू भुलेपछि गजलबाटै नेताहरूलाई गजलकार विष्टले सवाल गर्दै जवाफ मागेकी छन्।
त्यस्तै सङ्ग्रहको छैटौं गजलको तेस्रो सेरमा विष्टले समाजमा व्याप्त रहेका छुवाछुत र भेदभावबारे पनि सवाल गरेकी छन्। उनले सबाल्टर्नहरूको आवाज गजलमार्फत उठाएकी छन्:
भोजभतेर मठमन्दिरमा छुवाछुतका कुरा गरिंदैन भेदभाव अस्पतालभित्र खुनसँग गजलमा फरकफरक सवालहरू छन्। गजलबाटै मानिसभित्रको चेतना, चिन्ता र चिन्तनका सवाल उनले उठाएकी छिन्।
चेतना आएदेखि जीवनभर चिन्ताले पिछा गर्ने
सुखी देखिनँ उसलाई पनि जोसँग अथाह धन छ (पृष्ठ १९, चौथो सेर)
त्यसो त गजलकार विष्टले नेपालीहरू परदेशिनुको पीडा र परदेशिएपछि मुलुक, समाज, परिवारले भोग्नुपरेका अनेक समस्या र पीडा समेत गजलबाटै सवाल गरेकी छन्। उनी गजलबाटै राज्यसत्ताका बेथितिप्रति सवाल गर्छिन्, प्रहार गर्छिन्:
अपाङ्ग बन्दै छ गाउँघर, बैसाखीहरू परदेश छन्
यस्तै हुँदो रहेछ सायद गधाहरूले सत्ता चलाए।
(पृष्ठ २०, अन्तिम सेर)
सोच्यौ कि परदेशमा डलर गन्छ होला
पसिना पिउँदै खाडी-कतारमा छु प्रिया
(पृष्ठ २४, दोस्रो सेर)
विश्वास गर्दैनन् वृद्ध आँखाहरू बाटो कुरिरहेछन्
छोराले देशका लागि हाँसी हाँसी मृत्यु छानेर गयो
(पृष्ठ २८, चौथो सेर)
गजलभित्रै गजलकार विष्टले देश खोजेकी छन्, समाज खोजेकी छन्। वृद्ध बाआमाका सहारा खोजेकी छन्। राष्ट्रियता र स्वाभिमान खोजेकी छन्। हराएका थुप्रैथुप्रै मानवता र सभ्यता खोजेकी छन्।
दौरासुरूवाल टोपी र गुन्युचोली पटुकी पछ्यौरी
पहाडमा संस्कार-संस्कृति पर्वहरूको खानी राम्रा
(पृष्ठ, ३९ चौथो सेर)
रातदिन पसिना चुहाउँछु, हेर्छु यी हात रित्तो
नेतागिरी फापेछ तिमीलाई रोजगारजस्तो
(पृष्ठ, ५१ तेस्रो सेर)
छोरालाई जवान बनाउन बुवाको जवानी सकियो
सहरिया भएछ छोरो, कुर्दै आँखाको पानी सकियो
(पृष्ठ, ५७ मतला)
यसरी गङ्गाका गजलले समाज, परिवार र आधुनिकताका नाममा कृत्रिम बन्दै गएका सम्बन्ध मात्र हैन मुलुकको शासन सत्तामा देखिएका विकृतिदेखि विदेशमा बेचिएका श्रमिकका आवाजहरू बोलेका छन्।
त्यसो त गजलकार विष्टको जीवनप्रतिको दृष्टिकोण पनि गजलमा पढ्न पाइन्छ। जीवन एक भ्रम हो र यो कतिबेला सकिन्छ पत्तै हुन्न। त्यसैले भोलिभोलि भनी अहिल्यै गर्नुपर्ने काम थाती राख्नु हुन्न। जीवन सङ्घर्ष हो, थाक्नु हुन्न। जीवनप्रति आशावादी भएर रमाउन सक्नुपर्ने दृष्टिकोण गजलबाटै राखेकी छन्।
हाँसौं, खेलौँ, रमाऊँ आजै भोलिको के भर
बग्ने पानी हो जिन्दगी, यो चोलीको के भर?
(पृष्ठ ८७, मतला)
उनी गजलमा मायाप्रीतका सन्दर्भलाई पनि सुन्दर सेरमा उन्छिन्। कसैलाई प्रेम गर्दा त्यो प्राप्त नभए पनि दिलभित्रै राखिरहुँ जस्तो लाग्ने आत्मानुभूति गजलबाटै प्रकट गर्छिन्। फरकफरक मनको फरक मनोदशा गजलबाटै व्यक्त गरेकी छन्।
थाहा छ, छैनौ तिमी मेरो निधारमा
राखौं कि थुनेर दिलको कारागारमा!
ठोक्किए बाटो काट्दा कति कतिसँग
छानेको हुँ तिमीलाई मैले हजारमा
(पृष्ठ १०७)
गङ्गा विष्टको यो पहिलो कृति हो। फुटकर रूपमा लामो समयदेखि कलम चलाउँदै आएकी उनी आफ्नो खारिँदै गएका कलम लिएर गजल विधाको क्षेत्रमा हस्ताक्षर गर्न आइपुगेकी छन्। पाठक र अग्रज तथा अनुज सर्जक सबैलाई आफ्नो लेखनलाई माया गरिदिन गजलबाटै अनुरोध गर्छिन्:
माया र सद्भावका लागि कोटी कोटी आभार छ
आउनुस् गरौं मनका कुरा भन्दिनँ नि हतार छ
यस्तै आदर र स्नेहिल छत्र पाऊँ बिन्ती छ मेरो
सम्पूर्णमा प्रणाम, सुआशीर्वाद र नमस्कार छ!
(पृष्ठ, ११२)
गजल सजिलो विधा हुँदै होइन। शास्त्रीय (बहर) बाट उम्किएर के युवा, के बालक, के वृद्ध सबैमा नेपाली गजल लोकप्रिय बन्न पुग्यो। सुरूमा शृङ्गारिक रसमा फुलेको गजल आज प्रेम र रतिरागबाट उम्केर अनेक विषयवस्तुको फाँटमा फुल्न पुगेको छ, आफ्नो फराकिलो यात्रा तय गरेको छ। त्यही गजलको छालले गङ्गालाई पनि भेटाएको छ। उनी ‘सवाल’ लिएर छालसँगै बग्दैबग्दै गजलको महासागरमा मिल्न आएकी छन्। हजार माइलको यात्रा एक पाइलाबाटै सुरू हुन्छ। गङ्गाको पाइला ‘सवाल’ गजलसङ्ग्रहबाट अगाडि बढिसकेको छ। आगामी दिनमा गजलको क्षेत्रमा आफूलाई करेक्सन गर्दै नेपाली गजलको भार थाम्न पाइला चालिरहुन्।
प्रकाशित: ३१ श्रावण २०८१ १०:३९ बिहीबार