३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

सनफ्रान्सिस्कोमा नेपथ्यको ऐतिहासिक कन्सर्ट

नेपाली रक तथा म्युजिकल ब्यान्ड नेपथ्यले अमेरिकाको सनफ्रान्सिस्कोमा एतिहासिक कन्सर्ट सम्पन्न गरेको छ।

नेपथ्यले थालेको शृंखलाबद्ध अमेरिका यात्राको दोस्रो प्रदर्शन अमेरिकाको पश्चिमी तटीय सहर सनफ्रान्सिस्कोको प्रसिद्ध वारफिल्ड हलमा भव्य रूपमा सम्पन्न भएको हो।

कन्सर्टमा गायक अमृत गुरुङ र उनको टीमले रातो र चन्द्र सूर्य, कोशीको पानी यो जिन्दगानी, भेँडाको ऊन, छेक्यो छेक्यो, आँगनैभरि, मै नाचेँ छमछमी, रेशम, तालको पानी जस्ता हिट गीत गाउँदै दर्शक लोभ्याउन र झुमाउन सफल भयो। ब्यान्डको स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरेर जम्मा १७ वटा गीत प्रस्तुत गरिएका थिए।

कन्सर्ट सकिएपछि फर्कंदै गरेका दर्शकमध्ये कतिपयले साथीहरू सँगसँगै नेपथ्यको गीत गाउँदै हिँडेको देखिन्थ्यो।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

अमेरिका यात्राको अघिल्ला दुई कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अबको तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसमा हुनेछ। त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले अगस्ट १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ।

त्यसपछि क्रमशः डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत हुनेछ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकहरूले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ। त्यसका लागि ब्यान्डको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ।

प्रकाशित: २९ श्रावण २०८१ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App