४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पहिलो नजरमा लघुकथाकार घनश्याम र उनको ‘महाकम्प’

पुस्तक

कृष्णजी शर्मा उपनाम भएका घनश्याम डल्लाकोटी राप्ती नगरपालिका वडा नं. ८ चितवनमा जन्मिएका स्रष्टा हुन्। पिता विष्णु र माता बेलीमायाका पाँच सन्तानमध्ये दोस्रो सन्तान र जेठो छोराका रूपमा जन्मिएका डल्लाकोटीले व्यवस्थापनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्।

२०५० देखि ५६ सालसम्म उनी शिक्षण पेसा पनि रमाए तर त्यहाँ उनी धेरै समय रमाएनन्। खासमा उनको २ व्यक्तित्व छ-पहिलो व्यवसायी व्यक्तित्व र दोस्रो साहित्यिक व्यक्तित्व। साहित्यिक व्यक्तित्वका पनि दुई पाटा छन्-एउटा सर्जक व्यक्तित्वको पाटो र अर्को साहित्यिक अभियन्ता व्यक्तित्वको पाटो।

सर्जक व्यक्तित्वमा उनी विशेषत: आख्यानकेन्द्री छन्। आख्यानभित्र पनि उनी लघुकथा प्रविधामा बढी एकाग्र छन्। हुन त उनले साहित्यमा नाट्य विधाबाट पहिलो पाइलो सारेका हुन्। २०५३ मा संयुक्त लेखनमा लेखिएको मृत्युशय्या नामक नाटक नै उनको साहित्यिक जीवनकै पहिलो सिर्जना हो। लघुकथामा भने उनी २०७४ बाट संलग्न भएका हुन्। ‘समय खराब छ’ उनको पहिलो लिखित लघुकथा हो।

घनश्याम लघुकथा अभियानमा लाग्दा लाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए। धेरैपछि आएर मात्र उनको पहिलोसङ्ग्रह प्रत्यक्षीकृत भएको छ। पहिलो साहित्यिक सँगालो बन्ने अवसर उनकै रुचिको प्रविधा लघुकथाले पाएको छ ‘महाकम्प’का नाममा।

हुन त मलाई लाग्छ-पहिलो कृति प्रकाशनमा धेरै मानिस हतार गर्छन्। हतार र हत्पतले कृतिको स्तरीयतामा आघात पुर्‍याउँछ। मैले यस्ता धेरै लेखक भेटेको छु जो ‘हतार गरिएछ’ भन्ने निष्कर्षमा पुगेका छन्। यसैले घनश्यामको ‘स्वकृति प्रकाशन विलम्व’ अर्थपूर्ण नै लागेको छ।

प्रस्तुत लघुकथा कृतिका केही लघुकथाको पठनमा मैले घनश्याममा लघुकथा सचेतना भेट्टाएँ। यो उनले लघुकथाको अभियानमा लाग्दा पाएको अनुभवको परिणति हो भन्ने लाग्छ। लघुकथाहरूमा घनश्याम विकृति, विसङ्गति र गलतहरूप्रति प्रहारक बनेका छन्।

 अभिव्यक्तिको सरलता उनको खास वैशिष्ट्य हो। हुन त लघुकथा लेख्दा मस्तिष्क र हृदय पक्ष दुवै सञ्चालित हुन सक्छ। मस्तिष्क पक्ष चलायमान भई लेखेका बेला लघुकथाकार निकै बाैद्धिक बन्छ। बाैद्धिकता प्रबल भएका बेला जटिल संरचनाका लघुकथा लेखिन्छन्। बाैद्धिक लघुकथाले फरक खाले पाठकको अपेक्षा गर्छ। हृृदय पक्षको प्रबलताले लघुकथा आम पाठकमा सजिलै लोकप्रिय बन्छ।

म ढुक्क छु-घनश्यामका लघुकथा सर्वप्रिय बन्नेछन्। मैले प्रथम चरणमा जेजति लघुकथा पढें त्यसमा राखिएका शीर्षकमध्ये अधिकांश शीर्षक अभिधात्मकभन्दा प्रतीकात्मक नै पाएँ। यो उनको कृतिभित्रका एक तिहाई लघुकथा पढेपछिको मेरो निष्कर्ष हो। लघुकथाहरूले ययार्थिक पाटोलाई नै बढी समाएको छ।

प्रकाशित: २९ श्रावण २०८१ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App