६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

नारा लेखाइ साहित्य हुँदैन!

मुक्तक

१) मुक्तक

सर्पले डस्याे भने म सर्पैलाई डस्न सक्दिन

जुत्ताले कस्यो भने म जुत्तैलाई कस्न सक्दिन

एउटा न एउटा उपाय त हुन्छ नि रोगको

पराया हित नगरी म कदापि बस्न सक्दिन।

२) मुक्तक

मेरै खुट्टाले हिंडीहिंडी मलाई कुर्कुच्चो बनाइदिए

मेरो जिउमाथि चढीचढी मलाई बुर्कुञ्चो बनाइदिए

एउटाले मलाई जिउँदो भन्यो अर्काले मुर्दार भन्यो

ती दुईले सहमतिमा मलाई मुर्कुटो बनाइदिए।

३) मुक्तक

भन्न त भन्छन् यो युग प्रेमले अपार हुन्छ

जता जाउँ उतैतिर प्रेमको व्यापार हुन्छ

चेतना हो गौण कुरो, यसैमा भर हुन्छ सबै  

ब्रह्म चेतमा पुग्यौ भने प्रेम बेकार हुन्छ।

४) मुक्तक

सियो बनेर पसेको जो फाली बनी निक्लेको छ

थोरै चाहना गर्नेलाई धेरैधेरै मिलेको छ

असुरहरूको के कुरा भगवान्कै लीला हेर

तीन पाउ भूमि माग्नेले नै ब्रह्माण्ड निलेको छ।

५) मुक्तक

बोटै बूढो भएपछि ठाँक्रोको के काम

चपाएपछि उखुको लाँक्रोको के काम

जतिखेर तिमी प्यारप्यार भन्छौ, हेर

मर्ने बेलामा हरियो काँक्रोको के काम।

६) मुक्तक

सबै पूजा शुद्ध नित्य हुँदैन

सबै कुराको औचित्य हुँदैन

ट्रक सायरी राम्रो भएर के?

नारा लेखाइ साहित्य हुँदैन।

७) मुक्तक

प्रेमले मनको कुनाकुना छुनुपर्छ

हाँस्दा हाँस्ने सँगसँगै रुँदा रुनुपर्छ

अरू कुरा जेसुकै होस् तर जिन्दगीमा

प्रेम भनेको चोखो निःशर्त हुनुपर्छ।

८) मुक्तक

जान्नेसुन्ने देखिनलाई प्वाक्क बोल्दिन मन लाग्छ

अरूका कमजोरी खोजीखोजी पोल्दिन मन लाग्छ

यो देशका नेता–अभिनेताभन्दा म पनि के कम छु र?

चर्चामा आइराख्न आफ्नै गोप्यता खोल्दिन मन लाग्छ।

९) मुक्तक

गधामा मन लगाई परीको सुन्दर मात्रा नजान्ने काजीको के कुरा गर्नु

भाइछोरालाई रुवाई अरूलाई कात्रा किनिदिने दाजीको के कुरा गर्नु

गर्नु गर्न परेपछि कुरा त अनुकरणीय व्यक्तिको गरे राम्रो हुने हो!

घरको रत्तेउली छोडी अरूको जात्रा हेर्न जाने पाजीको के कुरा गर्नु।

१०) मुक्तक

विश्वै घुम्ने सलहले बोटविरुवा भुसुक्कै खानी हो

तीर्थ हिंड्ने खहरेले साउनमा बस्ती सारा लानी हो

हिंड्दैमा संसार घुम्दैमा अङ्गार हीरा नै किन हुन्थ्यो

जताजता गए पनि आफूसँग जे छ त्यही जानी हो।

प्रकाशित: २१ श्रावण २०८१ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App