८ चैत्र २०८२ आइतबार
image/svg+xml
कला

महजस्तै गुलियो मान्छे निम भएर बसेको छ!

मुक्तक

१) मुक्तक

दु: खहरूले काम सुरु गरेका छन्, बढुवा भएर

पीडा मेरै काँधमा नारिन आउँछन्, जुवा भएर

दिलको भन्सारबाट प्रेम निर्यात गर्न छाडेपछि

खुसीहरू अन्तै गएका छन्, सरुवा भएर।

२) मुक्तक

घमण्डको मयल निखारेर आउँछौ भने

मुटुमा कदरका थुँगा राखेर आउँछौ भने

उपहारमा प्रेमले भरिएको हृदय टक्रयाउँला

मनबाट स्वार्थको पगरी फालेर आउँछौ भने।

३) मुक्तक

नयनमा प्रेमको गङ्गा देखेर आजित भएँ

सग्लो थिएँ टुक्राटुक्रामा विभाजित भएँ

मन जित्ने खेल चलिरहेथ्यो प्रेमको मैदानमा

पुरस्कारमा आफैंलाई सुम्पिएर पराजित भएँ।

४) मुक्तक

सम्झना तलतल लाग्ने अफिम भएर बसेको छ

महजस्तै गुलियो मान्छे निम भएर बसेको छ

जिन्दगीको पानामा हस्ताक्षर गरिसक्यो अर्कैले

अझै पनि उही दिलमा हाकिम भएर बसेको छ।

५) मुक्तक

हरेक क्षण, हरेक प्रहर आइरहन्छन् 

लगाई मेरै खुसीमा नजर आइरहन्छन्

खुब माया गर्छन्, मलाई तिम्रा यादहरूले

बेलाबेला बुझ्न खबर आइरहन्छन्।

६) मुक्तक

मसानघाट सरह दुनियाँमा मुर्दाहरूको खात छ

मान्छेसँगै डराउनुपर्छ, यसै बदनाम त रात छ

मानवताविहीन मानव डुल्छन् आज सडकमा

घाइते लडिरहेछ, तस्बिर खिच्नेहरुको जमात छ।

७) मुक्तक

राम्रो गर्नेलाई गर्दै गाली, क्रान्ति गर्छौ भन्छौ

स्रोत र साधन खेर फाली, क्रान्ति गर्छौं भन्छौ

खेतबारी बाँझै राख्छौ कृषिप्रधान देशमा

लगाएरै झुटको बाली, क्रान्ति गर्छौं भन्छौ।

८) मुक्तक

मुटुको एउटा कुनामा छौ, उम्कन पाउँदैनौ

प्रेमका प्रत्येक मुनामा छौ, उम्कन पाउँदैनौ

दिलको कारागारमा कैद भइसक्यौ  तिमी

आजीवन मेरै थुनामा छौ, उम्कन पाउँदैनौ।

९) मुक्तक

थप्दै जानेछु मायाको तला, के दिन सक्छौ?

आजै बसेर गरौँ फैसला, के दिन सक्छौ?

म माया दिन्छु दिलको घैला भरिने गरी

तिमीले यसको बदला, के दिन सक्छौ?

१०) मुक्तक

सिउँदो रङ्गिएको हुन्छ तर मन रङ्गहीन भित्रिन्छ

त्यही दिनबाट उसको अँध्यारो दिन भित्रिन्छ

अनजान पराई घरमा रुँदैरुँदै अन्मिन्छे एक चेली

उसँगै माइतीको घर भित्रिन्छ, जमिन भित्रिन्छ।

प्रकाशित: २० श्रावण २०८१ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App